वास्तविकता नबुझी भ्युजकै लागि राखिएको भिडिओले सहयोग गर्नेमाथि उल्टै अपमान
कात्तिक १५, २०८२ १९:५७
काठमाडौँ । भिडिओको क्याप्सनमा लेखिएको छ, “बाको पुरानो लुगाले छोराको नयाँ गाडीमा सिट पाएन ।” दृश्यमा देखिएको छ बा २० च ४१५१ नम्बरको रातो नम्बर प्लेटको जिप । पछाडिपट्टिको खाली भागमा देखिन्छन्, दुई हातले बेस्सरी समातेर बसेका एक वृद्ध जस्तै देखिने व्यक्ति ।
ब्याकग्राउन्डमा चलेको छ, भावुक बनाउने राहत फतेह अलि खानको ‘मे जहाँ रहुँ’ बोलको गीत । भिडिओ खिच्ने अनि अपलोड गर्ने राजन नामक प्रयोगकर्ताले पोस्टमा लेखेका छन्, “अ ह्युमिलेटिङ भिडिओ अफ एन इल्डर्ली फादर ।” अर्थात बुढा बाको हृदय विदारक भिडिओ !
यसरी एक वृद्ध व्यक्तिलाई अपमान गरेको आशय सहित राखिएको भिडिओले चौतर्फी आलोचना पनि पायो । अधिकांशले भिडिओ अपलोड गर्ने व्यक्तिलाई वास्तविकता बुझेर मात्र राख्न आग्रह गरेका देखिन्थे ।
“बरु गाडीमै नचढाउनु, चढाएपछि एक वृद्ध बुबालाई खाली सिट हुँदाहुँदै बाहिर राख्नु कतिसम्मको राम्रो कुरा हो ?,” भिडिओ अपलोड गर्ने व्यक्तिले थप सनसनीपूर्ण बनाउन कमेन्टमा लेखे ।
केहीले त्यसरी जीप पछाडि बसेर आफैले यात्रा गरेको स्मरण गरे । केहीले भने आँखाले देखेका सबै सत्य नहुने धारणा व्यक्त गरे । “पक्कै पनि सहयोग नै गरिएको होला, त्यसरी अपमान गर्ने नियत त होइन जस्तो लाग्छ,” अधिकांशले आफ्नो विचार राखेका थिए ।
केहीले यस्ता धनका धनी र मनका गरिबको गाडी जेन-जीले जलाउनुपर्छ भन्दै आक्रोश पोखे । “यात्रा गर्ने यात्रीलाई गन्तव्यको महत्व हुन्छ । र, साथ दिनेलाई उसले देउता ठान्छ । त्यहाँ मान वा अपमान भन्ने जोडिंदैन,” सुवन लामाले लेखेका छन् ।
यसरी मिश्रित प्रतिक्रिया पाएको यो भिडिओ भाइरल नै भयो । २० लाख भ्युज, एक लाख २४ हजार बढी रियाक्सन, २२०० बढी कमेन्ट ओइरिए । यात्राका क्रममा भिडिओ खिचिरहने उनले फेरि त्यही भिडिओको बाँकी क्लिप अर्को पटक अपलोड गरे ।
त्यसको भिडिओ क्याप्सनमा लेखिएको छ, “बरु सहयोग बिना हिड्छु तर अपमानजनक सहयोग म लिन चाहन्न ।” यस भिडिओमा पनि त्यसरी नै मिश्रित किसिमका कमेन्ट ओइरिए । १२ लाख बढी भ्युज, ४७ हजार बढि लाइक, ८०० बढी कमेन्ट उक्त भिडिओमा आए ।
त्यही जीपका चालक माधव बर्तौलाले भिडिओ देखे र वास्तविकता कमेन्ट गरे । उनले भने, “बैँकमा खाता खोल्न आउनु भएको रहेछ । सहयोग गरेको हो । भित्र बस्ता वान्ता आउँछ भन्नु भयो । त्यसैले भित्र बस्नै मान्नु भएन । यो पनि एक किसिमको सहयोग नै हो ।”
उक्त सवारी चालककी श्रीमती मालती बर्तौलाले पनि सत्यता लेखिन् । “हाम्रो गाडी हो । मेरो बुढाले चलाउनु भएको हो । उहाँ (वृद्ध)लाई लिफ्ट दिएर ल्याउनु भएको भित्र राख्दा बमिट भयो । बाहिर राखेर गन्तव्यमा पुर्याउनु भयो भने के गलत गर्नुभयो ?”
चालक र उनकी श्रीमतीले कमेन्ट गरेको देखेपछि राजनले अर्को भिडिओ राख्दै स्पष्टिकरण दिए । उनले पछि त्यही गाडी र त्यसका चालकलाई सँगै राखेर भिडिओ बनाए । उनले वास्तविकता जे भएको थियो त्यही भने । र, आफ्नो गल्ती स्वीकारे । तर, भारइल भएका पुराना भिडिओ यथावत राखे ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ २०:१२
