close

पर्वतारोहणमा पर्यटक र शेर्पाको झगडा देखाउने एआई भिडिओ छ्यापछ्याप्ती, पर्यटन क्षेत्र चिन्तित

टेकपाना टेकपाना

कात्तिक १६, २०८२ ११:२५

पर्वतारोहणमा पर्यटक र शेर्पाको झगडा देखाउने एआई भिडिओ छ्यापछ्याप्ती, पर्यटन क्षेत्र चिन्तित

काठमाडौँ । पछिल्ला केही दिनयता एआई सिर्जित भिडिओको विकृत प्रयोग व्यापक रूपमा देखिन थालेको छ । नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक रहनसहनलाई नै खलबलाउने किसिमका सामग्री छ्यापछ्याप्ती देखिन थालेका हुन् । त्यसैको प्रत्यक्ष असर नेपालको पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छविमा पनि परेको छ । 

टिकटकमा ‘फ्रेडी नित्शे’ नाम भएको एउटा अकाउन्टले यस्ता कैयौँ एआई भिडिओ राखेको छ, जसले पर्वतारोहणमा संलग्न पर्यटक र उनीहरूलाई गाइड गर्ने शेर्पाबिच पैसा र जोखिमलाई लिएर झगडा भइरहेको देखाएका छन् । यी भिडिओमा कहिले शेर्पा पर्यटकसँग पैसाको कुरामा रिसाएको देखाइएको छ, त कहिले पर्यटकले बढी पैसा तिरेकै कारण जोखिमयुक्त ठाउँमा जान दबाब दिएको देखाइएको छ । 

बढीमा १५ सेकेन्डका हुने यी भिडिओमा द्वन्द्व देखाइएको छ भने अश्लील शब्द प्रयोग गरी भनाभन भएको देखाइएको छ । लाखौँ भ्युज पाइसकेका यस्ता भिडिओ अन्य सामाजिक सञ्जालमा पनि शेयर भइरहेका छन् । भिडिओको कमेन्ट सेक्सन हेर्दा धेरै प्रयोगकर्ताले यसलाई वास्तविक ठान्दै पर्यटक-गाइडलाई दोष दिइरहेको पाइएको छ ।

एआई सिर्जित यी भिडिओमा पर्यटक र शेर्पा गाइडबिचको संवादलाई द्वन्द्वयुक्त तरिकाले प्रस्तुत गरिएको छ । एक संवादमा पर्यटकले शिखर नजिकै पुगेर किन फर्कनुपरेको भन्दै प्रश्न गर्छन् । जसमा शेर्पाले मौसम द्रुत गतिमा बिग्रिएको र सुरक्षित रूपमा फर्कनु नै जीवन जोगाउने बाटो भएको बताउँछन् ।

 

यसमा पर्यटकले आफूले बीच बाटोबाटै फर्कनका लागि एक लाख अमेरिकी डलर नतिरेको भन्दै आक्रोश व्यक्त गर्छन् । प्रत्युत्तरमा शेर्पाले कसले शिखरमा उभिने भन्ने निर्णय सगरमाथाले गर्छ, न कि पैसाले भन्ने जवाफ फर्काउँछन् । तर पर्यटक पछि नहट्ने अडान लिन्छन् ।

त्यसैगरी अर्को भाइरल भिडिओमा शेर्पा गाइडले पर्यटकलाई ‘अहङ्कारी मूर्ख’ भन्दै प्रत्येक पाइलामा आफूलाई नसुनेको गुनासो गर्छन् । पर्यटकले आफूले माथि पुग्नकै लागि शेर्पालाई पैसा तिरेको जिकिर गर्दा शेर्पाले ‘तिम्रो अहङ्कारका लागि म मर्दिनँ’ भन्दै गाइडको काम छोडिदिने र पर्यटकलाई आफैँ बाटो खोजेर तल झर्न चेतावनी दिन्छन् । अन्य भिडिओमा पनि मौसमको पूर्वानुमानलाई बेवास्ता गर्दै ‘एक लाख डलर तिरेको छु’ भन्दै पर्यटकले जोखिमपूर्ण अवस्थामा पनि अगाडि बढ्न शेर्पालाई दबाब दिएको देखाइएको छ ।

नेपाल माउन्टेनिङ एसोसियसनका अध्यक्ष ग्याल्जे शेर्पाले यस्ता एआई सिर्जित सामग्रीले देशको छविमा गम्भीर असर पारेको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार यस्ता सामग्रीलाई विश्वास गर्न नहुने भए पनि ‘हो कि जस्तै’ गरेर देखाउने हुँदा देशकै अर्थतन्त्रमा असर पर्ने सम्भावना रहन्छ । 

अध्यक्ष शेर्पाले टेकपानासँग भने, “एआईबाट भए पनि यस्तो सामग्री बनाउनु हुँदैन । कुनै पनि देश, जनता, समुदाय वा कुनै व्यवसायलाई असर पर्ने खालका गतिविधिलाई रोक्नैपर्छ ।” उनले नेपालीको इमान्दारीपन, बहादुरीपन र ‘अतिथि देवो भव’ को संस्कार संसारभर स्थापित रहेकोले यस्ता भिडिओहरू नेपालीको संस्कार र इमान्दारीमाथिको हमला भएको धारणा राखे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले नेपाल साहसिक पर्यटकीय गन्तव्यको रूपमा पश्चिमा बजारमा प्रख्यात रहेको सन्दर्भमा यस्ता भिडिओको प्रचारले सरकारी लक्ष्यमाथि समेत नकारात्मक प्रभाव पार्ने सुनाए । उनका अनुसार सरकारले माउन्टेनियरिङका लागि बढी पर्यटक आकर्षित गर्न रोयल्टी शुल्कमा छुट दिइरहेको अवस्थामा यस्ता भिडिओले राम्रो सन्देश जाँदैन । निर्देशक लामिछानेले यी भिडिओले पर्वतीय पर्यटनको छवि धुमिल्याउने सन्देश प्रवाह गरेको बताए । 

“यसले देशको छविलाई धुमिल्याउने काम गर्छ, जसले नेपालको पर्वतीय पर्यटनको छविमा नकारात्मक असर ल्याउँछ,” उनले टेकपानासँग भने । उनका अनुसार पर्यटकको आँखाबाट हेर्दा गाइडले बार्गेनिङ गरेको र गाइडको आँखाबाट हेर्दा पर्यटकले रिस्की जोनमा अनावश्यक प्रेसर दिएको दुवै नकारात्मक पक्ष यसबाट बाहिर गएको बताए ।

नेपालको अर्थतन्त्र पर्यटनमा पूर्णतः निर्भर रहेको र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत यही भएकाले यस्ता नकारात्मक प्रचारले विदेशी मुद्रा आर्जनमा समेत असर पार्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १२:०