close

भोलिदेखि ललितपुरमा ‘नास-आईटी एक्स्पो’, यी साइबर सुरक्षा कम्पनीले देखाउने छन् आफ्ना सोलुसन

टेकपाना टेकपाना

कात्तिक २०, २०८२ २२:२१

भोलिदेखि ललितपुरमा ‘नास-आईटी एक्स्पो’, यी साइबर सुरक्षा कम्पनीले देखाउने छन् आफ्ना सोलुसन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज् (नास-आईटी) ले भोलिदेखि पहिलोपटक ‘नास-आईटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने दुई दिने एक्स्पोमा ३५ भन्दा बढी नेपाली आईटी कम्पनीले तयार पारेका सफ्टवेयर र सोलुसन्स प्रदर्शन हुँदैछन् ।

सो अवसरमा सहभागी कम्पनीहरूले आफ्ना उत्पादनको प्रत्यक्ष डेमोसमेत प्रस्तुत गर्नेछन् । ती कम्पनीमध्ये धेरैले नेपालभित्रका संस्थालाई मात्र नभई विदेशी बजारमा समेत आफ्ना सफ्टवेयर उत्पादन र सेवा निर्यात गर्दै आएको नास-आईटीले जनाएको छ ।

एक्स्पोमा विभिन्न सफ्टवेयर, सोलुसन, साइबर सुरक्षा सेवा र नयाँ प्रविधिको प्रयोग सम्बन्धी जानकारी प्रदान गरिने छ ।

साइबर सुरक्षा र आईटी सुरक्षामा काम गरिरहेका पाँच सफ्टवेयर कम्पनीले आफ्ना सफ्टवेयरसहितका सोलुसन प्रदर्शन गर्दैछन् । यसअन्तर्गत ​लगप्वाइन्ट, एमिनेन्स वेज, हिमालयन इन्टेल आई, बिजसर्भ आईटी र त्रिलोक्य टेक्नोलोजीले साइबर सुरक्षा र आईटी सुरक्षाका लागि विकास गरेका सफ्टवेयर र समाधान देखाउने भएका छन् ।

इन्टरप्राइज एप्लिकेसन र ईआरपी सोलुसन

चार्टर्ड अकाउन्टेन्टहरूको समूहद्वारा स्थापना भएको बिजसर्भले एसएपी जर्मनीसँगको सहकार्यमा ईआरपी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले वेयरहाउस म्यानेजमेन्ट सिस्टम, प्रोडक्सन प्लानिङ, फिल्ड सेल्स एप्लिकेसन र सीआरएम सफ्टवेयर विकास गरेको छ ।

“हाम्रो कम्पनी इन्टरप्राइज एप्लिकेसन डोमेनमा केन्द्रित छ । म्यानुफ्याक्चरिङ, ट्रेडिङ र सर्भिस बेस्ड इन्डस्ट्रीलाई सञ्चालनका लागि ईआरपी सोलुसन उपलब्ध गराउँदै आएका छौँ,’ बिजसर्भ आईटी प्रालिका सीइओ तथा सह-संस्थापक साजन पन्चारियाले बताए ।

“हामीले हालसम्म करिब ५० भन्दा बढी संस्थालाई सेवा प्रदान गरेका छौँ । सर्वोत्तम स्टिल, हुलास, एमएडब्लु, कजरिया र रमेश टाइल्स हाम्रो ग्राहक हुन्,” पन्चारियाले अगाडि भने, “नेपालमै लोकल ट्यालेन्ट विकास गरेर ठुला उद्योगमा ग्लोबल सफ्टवेयर प्रयोगको अवसर विस्तार गर्नु हाम्रो मुख्य लक्ष्य हो । हाल हामी अष्ट्रेलियामा पनि सेवा विस्तार गरिरहेका छौँ ।”

डेटा सुरक्षामा केन्द्रित बहुराष्ट्रिय कम्पनी

लगप्वाइन्ट नेपाल प्रालि डेनमार्कस्थित मुख्यालय रहेको विश्वव्यापी साइबर सुरक्षा कम्पनी हो । लग प्वाइन्टले सन् २००८ देखि सफ्टवेयर विकास तथा ग्राहक सेवा सम्बन्धी मुख्य कार्य नेपालबाट नै गर्दै आएको छ । कम्पनीको प्रमुख प्रविधि विकास, नवीन समाधान र नवप्रवर्तन गतिविधिहरूको मूल केन्द्र नेपाल नै हो, जसले नेपाललाई लगप्वाइन्टको विश्वव्यापी सफलताको केन्द्रीय आधार बनाएको छ ।

“हामी बैंकिङ र वित्तीय क्षेत्रका लागि डेटा सुरक्षामा केन्द्रित सेवा दिँदै आएका छौँ । हाम्रो करिब ८० प्रतिशत सेवा बैंकिङ क्षेत्रमा केन्द्रित छ,” कम्पनीका इन्जिनियरिङ म्यानेजर प्रवेश भट्टले भने ।

उनका अनुसार कम्पनीले ‘एसआइएम (SIM), एनडीआर (NDR) र सोर (SOR)’ नामका तीन प्रमुख सोलुसन प्रदान गर्छ । “हाम्रो उद्देश्य नेपालका टेक्निकल ट्यालेन्टलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नु हो,” भट्टले थपे ।

लगप्वाइन्टले नेपालका निजी तथा सरकारी संस्थाहरूसँग साझेदारी गरेर डेटा सुरक्षा प्रवर्द्धनको अभियान पनि अघि बढाइरहेको छ ।

एआई-आधारित स्मार्ट सुरक्षा प्रणाली

“नेपालमा भौतिक सुरक्षा गार्डको विकल्पको रूपमा हामीले एआई प्रविधिमा आधारित स्मार्ट सेक्युरिटी सिस्टम विकास गरेका छौँ,” हिमालयन इनटेल आइ प्रालिका निर्देशक जय केसीले भने । उनका अनुसार यो प्रणालीमार्फत रियल-टाइम मोसन र भाइब्रेसन डिटेक्सन हुँदै कमान्ड सेन्टरमा तत्काल नोटिफिकेसन पठाउने सुविधा उपलब्ध हुन्छ ।

“हामीले पछिल्ला तीन वर्षदेखि विभिन्न बैंक, अस्पताल र संस्थामा यसको परीक्षण गरिरहेका छौँ । यसले ऊर्जा व्यवस्थापनमा पनि योगदान पुर्‍याउँछ, अनावश्यक बिजुली खपत घटाउन सकिन्छ,” केसीले भने ।

कम्पनीले यो प्रविधि नेपालमै पहिलोपटक विकास गरेको हो भने चाँडै नै व्यावसायिक रूपमा बजारमा ल्याउने तयारीमा जुटेको छ ।

साइबर सेक्युरिटीमा अन्तर्राष्ट्रिय अनुभव

एमिनेन्स वेज प्रालि सन् २०१३ मा स्थापना भएको साइबर सुरक्षा कम्पनी हो । कम्पनीका सञ्चालक समिति सदस्य नारायण कोइरालाले भने, “हामी साइबर सुरक्षा मूल्याङ्कन, अडिट र जोखिम मूल्यांकनमा केन्द्रित छौं । हाम्रो काम सल्लाह र सुझाव दिने हो ।”

यस कम्पनीले नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया र भुटानसहित ९ मुलुकमा सेवा विस्तार गरेको छ । 

“पहिले साइबर अडिटमा ७० लाखदेखि डेढ करोड रुपैयाँ विदेश जान्थ्यो, अहिले हामीले त्यसको ८० प्रतिशत लागत देशभित्रै रोक्न सफल भएका छौं,” उनले भने ।

उनले अगाडि भने, “हामी नेपाली कम्पनी भए पनि लो-प्रोफाइलमा विश्वस्तरीय काम गर्दै आएका छौँ । हाम्रो लक्ष्य साइबर सुरक्षासँगै प्रोसेस इन्जिनियरिङ र मानव साक्षरता प्रवर्द्धन पनि हो,” कोइरालाले भने ।

नास-आईटी एक्स्पोमा आईटी क्षेत्रका व्यवसायी, विद्यार्थी र प्रविधिमा रुचि राख्ने युवा तथा कम्पनीहरूको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ २२:४४