काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पूर्वसन्ध्यामा प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले आफ्नो लोगो (डूडल) परिवर्तन गरेको छ । उपाधिका लागि भिड्न लागेका अर्जेन्टिना र स्पेनको सम्मानमा गुगलले आफ्नो होमपेजमा अस्थायी रूपमा विशेष जीआईएफ लोगो राखेको हो ।
हाल गुगल डटकम खोल्दा मुख्य लोगोको स्थानमा एनिमेटेड जीआईएफ फाइल देखिन्छ, जसमा दुवै देशका फुटबल टोलीका लोगो पालैपालो झुल्किन्छन् । स्पेनको लोगो देखिँदा सेतो, रातो र पहेंलो रङको संयोजन देखिन्छ भने अर्जेन्टिनाको लोगोमा नीलो, सेतो र पहेंलो रङ समेटिएको छ ।
विश्वकपको यो बहुप्रतीक्षित फाइनल खेल आइतबार मध्यरात १२:४५ बजे अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदैछ ।
खेलमा दुवै टोली ऐतिहासिक उपलब्धि हासिल गर्ने योजनासहित मैदान उत्रनेछन् । लगातार दोस्रो पटक विश्वकप जितेर अर्जेन्टिना चौथो पटक उपाधि आफ्नो नाममा सार्न चाहन्छ भने स्पेन दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने दाउमा छ ।
यस खेलमा खेलाडीका व्यक्तिगत कीर्तिमान पनि जोडिएका छन् । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी थप दुई गोल गर्दै गोल्डेन बुट प्राप्त गर्ने लक्ष्यमा छन् भने स्पेनका युवा खेलाडी लामिन यमल १९ वर्षभन्दा कम उमेरमै विश्वकप जित्ने दुर्लभ खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराउने प्रयासमा रहनेछन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १२:३९
