close

‘ग्लोवल आईसीटी लिडरशीप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ २१:१८

‘ग्लोवल आईसीटी लिडरशीप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरिया प्रस्थान गरेका छन् । राजधानी सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आईसीटी लिडरशीप फोरम’मा सहभागी मन्त्री खरेल मङ्गलबार साढे सात बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कोरियाको विज्ञान र आईसीटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इन्फर्मेन सोसाइटी एजेन्सी (एनआईए) को संयुक्त आयोजनामा यही २६ कात्तिकमा उक्त फोरम सञ्चालन हुँदैछ । उक्त फोरममा मुख्यगरी दुई सत्रहरूमा छलफल हुनेछ । ती सत्र ‘डिजिटल र एआई ट्रान्सफर्मेसनः रणनीति र चुनौती’ तथा ‘दिगो डिजिटल भविष्यका लागि विश्वव्यापी सहकार्य’ विषयमा केन्द्रित रहने जनाइएको छ । 

फोरमले डिजिटल र एआई ट्रान्सफर्मेसन मार्फत दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा केन्द्रित रहेर छलफल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

नेपालसहित भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पीडीआर, भियतनाम, काजकिस्तान, मङ्गोलियाउब्जेकिस्तानका सञ्चारमन्त्री तथा वरिष्ठ नीति निर्माताको फोरममा सहभागिता रहनेछ । एसिया प्रशान्तका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक आयोग लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि फोरममा भाग लिने कार्यक्रम छ ।

मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले मन्त्री खरेललाई बिदाइ गरेको थियो । मन्त्री खरेल यही २९ कात्तिकमा स्वदेश फर्कने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ २१:२०