नेपाली साइबर सुरक्षा कम्पनी ‘एमिनेन्स वेज’लाई स्वीट्जरल्यान्डमा ७० लाखको प्रतिष्ठित अवार्ड
कात्तिक २६, २०८२ २१:३९
काठमाडौँ । नेपाली साइबर सुरक्षा कम्पनी एमिनेन्स वेजले स्वीट्जरल्यान्डमा प्रतिष्ठित ‘एसईई इम्प्याक्ट अवार्ड २०२५’ जितेको छ । ‘साइबर रेडी नेपाल’ नामक परियोजनाका लागि कम्पनीले ५० हजार अमेरिकी डलर (करिब ७० लाख ७१ हजार रुपैयाँ) राशिको पुरस्कार जितेको हो ।
स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्स (SIFEM) द्वारा आयोजित उक्त प्रतियोगितामा विश्वभरका ३४ टिम सहभागी थिए । प्रतियोगितामा नेपालको एमिनेन्स वेज तेस्रो स्थानमा रहन सफल भयो भने भारतको इस्टेरलाइट इलेक्ट्रिक पहिलो र सिड्स फार्म दोस्रो भए । अवार्डको घोषणा ६ नोभेम्बरमा गरिएको थियो ।
एमिनेन्स वेजले आफ्नो ‘साइबर रेडी नेपाल: राष्ट्रिय र विश्वव्यापी साइबर सुरक्षा आवश्यकताका लागि दक्ष जनशक्ति विकास’ नामक परियोजनाका लागि यो पुरस्कार पाएको हो । यो परियोजनाले नेपालमा दक्ष साइबर सुरक्षा पेशेवरको चरम अभावलाई सम्बोधन गर्दै गहन तथा प्रयोगात्मक तालिम, अन्तर्राष्ट्रिय प्रमाणीकरण र रियल वर्ल्ड प्रोजेक्टमा काम गर्ने अनुभव प्रदान गर्ने बताइएको छ ।
कम्पनीले अपनाएको ‘ट्रेन-द-ट्रेनर’ मोडेलले दक्ष प्रशिक्षक तयार गरी जनशक्ति उत्पादनमा दिगोपन सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजना अन्तर्गत तालिम लिएकामध्ये ७० प्रतिशतलाई ६ महिनाभित्र रोजगारी वा पदोन्नति दिलाउने र उनीहरूको सीप मूल्याङ्कनमा ३५ प्रतिशत सुधार ल्याउने उद्देश्य राखिएको छ । यस पहलले नेपाललाई अन्तर्राष्ट्रिय साइबर सुरक्षा परियोजनामा अग्र स्थानमा लैजाने आयोजकको विश्वास छ ।
आयोजकका अनुसार एसईई इम्प्याक्ट अवार्डले वर्कफोर्सको सीप, रोजगार योग्यता र रोजगारीको गुणस्तर बढाउने प्रभावकारी, नवीनतम परियोजनालाई पहिचान गरी सह-लगानी गर्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ २१:४२
