म्याथ सिक्ने कि गाली ? अश्लील जस्तै सुनिने शब्द घुसाउँदा दुर्गेशको नयाँ गीत विवादमा, हटाउन माग
साउन १, २०८३ ११:४८
काठमाडौं । नेपाली साङ्गीतिक र चलचित्र क्षेत्रमा सस्तो लोकप्रियता र विवाद सिर्जना गरेर भाइरल हुने पुरानै रोग हो । यसैबिच, नेपाली चलचित्र 'मास्टर्नी' को प्रवर्धनात्मक (प्रमोनल) गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र विवाद सिर्जना भएको छ ।
गायक दुर्गेश थापा र गायिका बबिना किरातीको स्वर रहेको यस गीतमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आर्यन सिग्देल, आयुष्मान देशराज जोशी र स्वयम् दुर्गेश थापा फिचर्ड छन् । युट्युबमा राम्रो भ्युज बटुलिरहेको भए पनि गीतले पाएको भ्युजभन्दा बढी दर्शकहरूको गाली र आक्रोश चौतर्फी पोखिएको छ ।
यसैबिच, यो विवादले अब कानुनी र संस्थागत रूप समेत धारण गरेको छ । शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले यस गीतप्रति गम्भीर आपत्ति जनाउँदै गीतलाई तुरुन्त बन्द गर्न चेतावनी दिएको छ ।
महासङ्घले बिहीबार एक विज्ञप्ति जारी गर्दै चलचित्र 'मास्टर्नी' को निर्माण पक्ष र कलाकारहरूलाई सचेत गराएको छ । महासङ्घका महासचिव तुला बहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, "आगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र 'मास्टर्नी' को प्रवर्धनात्मक सामग्रीका रूपमा भर्खरै सार्वजनिक भएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ ।"
महासङ्घले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग जोडदार आग्रह गरेको छ । साथै, गीतलाई निरन्तरता दिएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै स्वयम् जिम्मेवार हुने चेतावनी समेत महासङ्घले दिएको छ ।
'म्याथ सिक्ने' कि गाली ?
यो गीत विवादमा आउनुको मुख्य कारण यसको शब्द र ध्वनि संयोजन हो । गीतको सुरुवाती अंशमा 'म्याथ सिक्ने भए' भनिएको दाबी गरिए पनि सुन्दा स्पष्ट रूपमा नेपाली समाजमा प्रयोग गरिने अत्यन्तै अश्लील गाली जस्तो सुनिन्छ ।
आम दर्शक र स्रोताहरूले यसलाई भूलवश भएको कमजोरी नभई चर्चा कमाउन र भाइरल हुनका लागि जानाजान प्रयोग गरिएको आरोप लगाएका छन् । गीतमा शब्द र सङ्गीत सिर्जना गरेका दुर्गेश थापामाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्शकलाई झुक्याएर सस्तो भाइरल हुन खोजेको भन्दै तीव्र आक्रोश पोखेका छन् । धेरै प्रयोगकर्ताले गीतको त्यो अंश १० देखि २० पटकसम्म दोहोर्याएर सुन्दा पनि स्पष्ट रूपमा अश्लील गाली नै सुनिने टिप्पणी गरेका छन् ।
‘शिक्षिका पेसामाथिको घोर अपमान र अश्लीलताको हद’
सामाजिक सञ्जालमा दर्शकहरूले यस गीतलाई ‘नेपाली सङ्गीत जगतकै कलङ्क र बलात्कार’ को संज्ञा दिएका छन् । सार्वजनिक टिप्पणीहरूमा जनआक्रोश पोखिएको छ । नेपाली समाजमा 'मास्टर्नी' वा शिक्षिका शब्दले मर्यादा, ज्ञान र सम्मानको छवि बोकेको हुन्छ । तर गीतमा ‘क ख हैन हामीलाई अ आ पढाइदेउ, तिम्रो सेक्सी नजरले घायल बनाइदेउ’ भन्दै शिक्षिका र विद्यार्थीको पवित्र सम्बन्धलाई दोहोरो अर्थ लाग्ने सस्तो अश्लीलतामा मुछिएको भन्दै शिक्षक समुदाय र बुद्धिजीवीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।
एक अभिभावकले चिन्ता व्यक्त गर्दै लेखेका छन्, "मेरो ४ वर्षको छोराले यो गीत सुनेर नयाँ खराब शब्द सिक्यो, यस्ता गीतलाई तुरुन्त प्रतिबन्ध लगाउनुपर्छ ।" विद्यालय जाने उमेरका बालबालिकाहरूले भोलि स्कुलमा शिक्षिकाको अगाडि यही गीत गाए भने त्यसले कस्तो प्रभाव पार्ला भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ ।
दर्शकहरूले विशेषगरी प्रियङ्का कार्की र आर्यन सिग्देल जस्ता 'ए-क्लास' भनिने स्थापित कलाकारहरूको हर्कतप्रति ठुलो निराशा व्यक्त गरेका छन् । "भ्युज र पैसाका लागि बौद्धिक भनिने प्रियंका कार्की आफ्नो स्तरबाट यति तल झर्लिन् भन्ने सोचेका थिएनौं," अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । भिडिओमा प्रियंकाका वास्तविक श्रीमान् आयुष्मान जोशीकै अगाडि प्रियंकाको खुट्टा दुर्गेशको काँधमा राख्ने जस्ता उत्ताउला दृश्यहरू राखिएका छन्, जसलाई दर्शकहरूले ‘अति नै भद्दा र लाजमर्दो’ भनी टिप्पणी गरेका छन् ।
धेरै दर्शकहरूले यो गीत, भिडिओ मेकिङ, नृत्य र पहिरन नेपाली माटो सुहाउँदो नभई 'भोजपुरी सी-ग्रेड' चलचित्र र दक्षिण भारतीय मसला गीतहरूको भद्दा कपी मात्र भएको टिप्पणी गरेका छन् ।
बहिष्कारको चेतावनी
यस गीतले समाजमा विकृति र अराजकता फैलाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले युट्युबमा 'मास रिपोर्ट' गर्ने र 'डिशलाइक' अभियान नै चलाएका छन् । दर्शकहरूले नेपाल सरकार, गृह मन्त्रालय र सेन्सर बोर्डको ध्यानाकर्षण गराउँदै यस गीतलाई युट्युबबाट तुरुन्त हटाउन र सम्बन्धित कलाकारहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सामाजिक सञ्जालमा भनिएको छ, "यस्ता समाज भँडुवा गीत ल्याउनेहरूलाई कारबाही नभएसम्म नेपाली सङ्गीत सुध्रिने छैन ।"
दुर्गेशको प्रतिवाद: ‘डर्टी माइन्डले डर्टी नै सुन्छ’
चौतर्फी विवाद र आलोचना भएपछि गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले भने मिडियामा आएर यसको प्रतिवाद गरेका छन् । उनीहरूले गीतमा कुनै पनि 'डबल मिनिङ' वा अश्लील शब्द नभएको दाबी गरेका छन् ।
दुर्गेशको भनाइ छ, "हामीले सिधा कुरा गरेका छौं । डर्टी माइन्ड (फोहोर दिमाग) भएकाले यसलाई डर्टी नै सुन्छन्, सफा मनले सोच्नेलाई यो राम्रै लाग्छ ।" दुर्गेशले आफू सानो छँदा गणित (Maths) मा अत्यन्तै कमजोर भएकाले आफ्नै जीवनको भोगाइलाई लिरिक्समा ढालेर 'म्याथ सिक्ने भए ट्युसन पढाइदिन्छु' भनी लेखेको दाबी गरेका छन् । यो चलचित्र एउटा गम्भीर मर्डर मिस्ट्री (क्राइम थ्रिलर) भएको र यसमा गीतको कुनै स्पेस नभएकाले केवल रमाइलो र प्रमोसनका लागि मात्र यो 'आउट अफ द बक्स' गीत बनाइएको उनीहरूको तर्क छ ।
सिर्जनात्मक स्वतन्त्रता कि सामाजिक अपराध ?
कलाकारहरूले जतिसुकै सफाइ दिए पनि आम दर्शक र आधिकारिक निकायहरूले भने यसलाई 'सस्तो प्रचारबाजी र भाइरल स्टन्ट' कै रूपमा बुझेका छन् । प्रविधिको विकाससँगै सजिलै मोबाइलको पहुँचमा पुग्ने नयाँ पुस्तालाई लक्षित गरी सिर्जना गरिने यस्ता द्विअर्थी र अश्लील प्रकृतिका डिजिटल सामग्रीहरूले क्षणिक भ्युज त देलान्, तर यसले नेपाली समाजको सांस्कृतिक चेत र कलाको स्तरलाई भने कुन दिशातिर लैजाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।
नेपाल शिक्षक महासङ्घले नै चेतावनी दिएपछि अब यस चलचित्रका निर्माता र कलाकारहरूले आफ्नो कदम सच्याउँछन् वा असहज परिणामको सामना गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ १२:६
