close

नेपालमा दर्ता नभएका आईफोनमा मात्रै देखिएको एनपीएल सब्सक्रिप्सन समस्या फिक्स हुँदैछः डिशहोम*

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ १७:२९

नेपालमा दर्ता नभएका आईफोनमा मात्रै देखिएको एनपीएल सब्सक्रिप्सन समस्या फिक्स हुँदैछः डिशहोम*

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका सबै खेल भारत बाहेक अरू सबै देशमा ओटीटीमार्फत प्रसारण गर्ने अधिकार पाएको डिशहोम गो एपमा देखिएको समस्या देखिएको छ । कम्पनीले समाधानको काम भइरहेको बताएको छ । 

सोमबारदेखि एनपीएलको दोस्रो सिजन सुरु हुँदैछ । तर, विश्वभरका मोबाइल प्रयोगकर्ताले एपमा विभिन्न समस्या आइरहेको गुनासो गरिरहेका छन् । केही प्रयोगकर्ताले ३०० रुपैयाँ पर्ने सिजनल सब्स्क्रिप्सन चार रुपैयाँमा खरिद गरेको जानकारी गराइरहेका छन् । तर, डिशहोमले भने विभिन्न बग पहिचान गर्दै समाधानको प्रयास भइरहेको जनाएको छ । 

मुख्यगरी आईफोनमा बढी समस्या देखिएको छ । एप स्टोरबाट डाउनलोड गरिएको डिशहोम गोबाट एनपीएल सिजन पास किन्न खोज्दा भुक्तानीका माध्यम नै नदेखिएको गुनासो प्रयोगकर्ताले गरिरहेका छन् । 

डिशहोमका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले आइतबारसम्ममा एपमा देखिएका सबै समस्या समाधान हुने बताए । प्राविधिक टिम एन्ड्रोइड र आईओएस एपमा देखिएका समस्या समाधानको प्रयासमा रहेको उनको भनाई छ । 

“अबको एक घण्टामा धेरै समस्या समाधान हुन्छन् । विदेशबाट डलरमा भुक्तानी गर्न नमिलेको गुनासो आइरहेको छ । एन्ड्रोइभ भर्सनमा धेरै समस्या समाधान भइसकेका छन् । आईओएसमा पनि केही घण्टामा समस्या सल्टिन्छ । नेपालसँगै विदेशमा रहेका खेलप्रेमीहरूले भोलि बिना कुनै झन्झट खेल हेर्न सक्नुहुनेछ । हाम्रो प्राविधिक टिम समस्या समाधान गर्न लागिपरेको छ,” सापकोटाले भने ।

नेपालबाट एनपीएलको सिजनल पासको तीन सय रुपैयाँ पर्नेमा बग देखिंँदा केही प्रयोगकर्ताहरूले चार रुपैयाँमा उक्त पास खरिद गरेका थिए । सापकोटाकाअनुसार त्यसरी खरिद गरिएको पास मान्य नहुने स्पष्ट पारे । 

“ग्राहकहरूलाई नोटिफिकेसन जान्छ । तीन सय रुपैयाँ पुरा भएपछि मात्रै एनपीएल डिशहोम गो एपबाट हेर्न मिल्छ,” सापकोटाले भने । खाडी राष्ट्रमा बस्नेहरूले डिशहोम गो एपबाट एनपीएल हेर्न पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । त्यसबाहेकका अन्य सबै देशहरूमा (भारतबाहेक) प्रति डिभाइस १० अमेरिकी डलर शुल्क तिर्नु पर्नेछ । भारतमा स्टार स्पोर्ट्सबाटै एनपीएल प्रसारण हुँदैछ । 

क्यानले ४ नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो । जसमा डिशहोम गो एप छनोट भएको हो । युट्युबबाट भने एनपीएलका खेल प्रसारण हुने छैनन् । 

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब गरी तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड मार्फत सजिलै भुक्तानी गरी विश्वभरबाट एनपीएलको सब्स्क्रिप्सन लिन सक्ने डिशहोमले जनाएको छ । 

उच्च गुणस्तरको र अवरोध रहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स (Mobiotics) र अकामाई (Akamai) सँग प्राविधिक सहकार्य गरेको छ । मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्ने अनलाइन प्रसारण प्रणाली (ओटीटी) निर्माण गर्ने कम्पनी हो । यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बङ्गलादेश र भारतबिचको खेल एकै पटक २३ लाखभन्दा बढी दर्शकले हेरेका थिए ।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो । जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ । अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउनु हो । यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोध रहित सञ्चालनलाई सुनिश्चित गर्छ ।

*समाचार शीर्षक परिवर्तन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १८:२८