close

अनलाइनबाट ६ दिनमै निर्वाचन कार्यालयले करिब २ महिनामा सङ्कलन गरेभन्दा बढी मतदाता नामावली

टेकपाना टेकपाना

मंसिर २, २०८२ १२:५७

अनलाइनबाट ६ दिनमै निर्वाचन कार्यालयले करिब २ महिनामा सङ्कलन गरेभन्दा बढी मतदाता नामावली

काठमाडौँ । निर्वाचन कार्यालयले करिब दुई महिना (५५ दिन) लगाए बराबर मतदाता नामावली संकलन अनलाइनबाट लगभग ५ दिनमै पुरा भएको छ ।  राष्ट्रिय परिचयपत्रको आधारमा कार्यालयसम्म नधाएरै मतदाता नामावली दर्ता गर्न सकिने भएपछि उल्लेख्य सहभागिता जुटेको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ९ असोज यता ६ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जसमा निर्वाचन कार्यालय पुगेर दर्ता गराउने र राष्ट्रिय परिचय पत्रको आधारमा अफैँले अनलाइन दर्ता गराउने दुवै समावेश छन् । 

त्यसमध्ये निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीन लाख ११ हजार ४१५  छ भने राष्ट्रिय परिचय पत्रको आधारमा अनलाइनबाटै नाम दर्ता गराउने तीन लाख आठ हजार ५८५ पुगेका छन् । 

कार्यालय पुगेर नाम दर्ता गराउने सेवाग्राहीभन्दा अनलाइनबाट दर्ता गराउनेको सङ्ख्या करिब तीन हजारले मात्रै कम छ । मङ्गलबार  अनलाइनबाट दर्ता गराउनेको नागरिकको सङ्ख्याले ५५ दिन लगाएर निर्वाचन कार्यालयहरूबाट सङ्कलित मतदाता नामावलीलाई उछिन्ने निश्चित छ ।  

"राष्ट्रिय परिचप पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या पनि तीन लाख नाघेको छ । नागरिकहरूले राष्ट्रिय परिचय पत्रमार्फत दिएका आवेदन आयोगले रुजु गरेर अन्तिम रूप दिइरहेको छ । मतदाता नामावलीमा पहिल्यै नाम दर्ता गराएकाहरूले जानअन्जानमा फेरि दर्ताको आवेदन दिएका पनि हुन सक्छन्," भट्टराईले भने ।

सोमबार राति पौने ९ बजे राष्ट्रिय परिचय पत्रमार्फत तीन लाखभन्दा बढी नागरिकले मतदाता नामावलीमा नाम दर्ताको आँकडा पार गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय परिचय पत्रमार्फत २७ कात्तिकदेखि १ मङ्सिरको राति साढे ९ बजेसम्म एक लाख ८१ हजार ५०७ पुरुष, एक लाख २७ हजार ६९ महिला र नौ अन्य गरी तीन लाखभन्दा बढीले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् ।

२७ कात्तिकदेखि मात्रै राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने सुविधा थपिएको थियो । राष्ट्रिय परिचय पत्रमार्फत पाँच दिनको अवधिमा तीन लाख बढी नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय ५ मङ्सिरसम्म छ । नागरिकको बढ्दो उत्साह र चापलाई मध्यनजर गर्दै आयोगले ३० कात्तिकसम्म रहेको मतदाता नामावली दर्ता गराउने म्याद पाँच दिन थपेको छ ।

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै कसरी मतदाता नामावली दर्ता गराउने भन्ने जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् अथवा तलको भिडिओ हेर्नुहोस् ।

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १२:५७