close

काठमाडौँ महानगरबासीलाई डिजिटल साक्षरता तालिम, साइबर सुरक्षादेखि भ्रामक सूचनाबाट बच्न सिकाइने

टेकपाना टेकपाना

मंसिर १०, २०८२ १२:११

काठमाडौँ महानगरबासीलाई डिजिटल साक्षरता तालिम, साइबर सुरक्षादेखि भ्रामक सूचनाबाट बच्न सिकाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । महानगरको सूचना प्रविधि समितिले महानगरबासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्नसक्ने बनाउने र यस्ता सेवा लिँदा हुनसक्ने जोखिमबाट जोगाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको हो ।

प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ठ विषय राखेर प्रशिक्षण गराउने महानगरको तयारी छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही ढङ्गले प्रयोग गरिएन भने व्यक्तिगत विवरण चोरी हुन सक्छ । 

गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ । यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डेटाको प्रयोग, वाई-फाईको प्रयोग र सुरक्षा, हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्नेमा समितिको जोड छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट, अनलाइन भुक्तानी, यसमा हुनसक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनुपर्ने समितिको बुझाइ छ । 

व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, एन्टीभाइरस, शंकास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिकामा साक्षरता दिने समितिको तयारी छ । 

सामाजिक सञ्जालको प्रयोग, सामग्री शेयर गर्दा ख्याल गर्नुपर्ने कुरा, डिजिटल फुटप्रिन्ट, अनलाइन व्यवहारको ज्ञान हुनुपर्ने भन्दै समितिले सूचना साक्षरतामा भ्रामक समाचार र सही समाचार बिचको भिन्नता, सूचनाको स्रोत पुष्टि गर्ने तरिका पनि नागरिकले थाहा पाउनु पाउन प्रशिक्षण उपयोगी हुने देखिन्छ । 

कम्प्युटरका अङ्ग र सञ्चालन गर्ने विधि, फाइल व्यवस्थापन, फाइल सेभ गर्ने, कपी पेस्ट गर्ने, फाइलहरू खोज्ने तरिका, इन्टरनेट र ब्राउजिङ तथा वेब ब्राउजरको प्रयोग जस्ता विषयमा जानकारी दिने तयारी महानगरको छ । 

सर्च इन्जिनको प्रयोग र सही सूचना खोज्ने तरिका, वेबसाइटको विश्वसनीयता, ईमेलबाट गरिने सञ्चार, भिडिओ कन्फ्रेन्सिङ, कार्यालय प्रयोजनका सफ्टवेयर, डकुमेन्ट टाइप गर्ने, फर्म्याट मिलाउने, प्रिन्ट गर्ने, स्प्रेडसिट, प्रेजेन्टेसन जस्ता विषयको जानकारी महानगरबासीलाई दिइने समितिले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १२:१२