काठमाडौं । काठमाडौंमा अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले साउन ३ गते साँझ करिब ६ बजे काठमाडौं महानगरपालिका–१ नारायणचौरबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले AW8, Khalti88, 1xBet लगायतका बेटिङ वेबसाइटमार्फत अनलाइन जुवा खेल्ने तथा खेलाउने गरेका थिए । उनीहरूले बेटिङ वेबसाइट र मोबाइल बैंकिङमार्फत १ करोड ९६ लाख ५४९ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, उनीहरूबाट ४ वटा इन्टरनेट सर्भर, ११४ वटा सिमकार्ड, ७ वटा ल्यापटप र १० वटा मोबाइल फोन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका कालिकोटका २० वर्षीय टेकेन्द्र शाही, बर्दियाका २६ वर्षीय विश्व रेग्मी, बर्दियाकै २३ वर्षीय अजय महतरा र बाँकेका २१ वर्षीय आदित्य बाल्मिकी रहेका छन् ।
उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी सट्टेबाजी गर्न गराउन नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८३ ८:२१
