अब एनआईसी एसिया बैँकले विदेशी भिसा-मास्टरकार्ड जस्तै नेपालको आफ्नै नेपालपे कार्ड जारी गर्ने
मंसिर १५, २०८२ १६:२७
काठमाडौँ । एनआईसी एसिया बैँकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड (NEPALPAY Card) जारी गर्ने भएको छ । भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ बैँकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग रणनीतिक सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैँकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को रूपमा इजाजत प्राप्त एनसीएचएलले स्वदेशी कार्ड योजना (Domestic Card Scheme) को रूपमा नेपाल पे कार्ड अघि बढाएको छ ।
सोही नेपालपे कार्ड आफ्ना ग्राहकलाई जारी गर्न बैँक प्रमुख साझेदार बनेको हो । यससँगै बैँक एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा अघि बढेको छ ।
सम्झौताले बैँकलाई नेपालको राष्ट्रिय भुक्तानी स्विचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रूपमा परिचित नेपालपे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस (POS) र एटीएम (ATM) नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताले बैँकका ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैङ्किङ प्रति बैँकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ ।
नेपालपे कार्ड मार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बैँकले विश्वास लिएको छ । साथै, स्वदेशी कार्ड योजनामा एनएमबी बैँकका ग्राहकको सक्रिय सहभागिताले सरल र सहज बैँकिङ सेवा पहुँच पुर्याउनुको साथै देशमा नगद रहित अर्थतन्त्रको विकास गर्न समेत टेवा पुग्ने विश्वास बैँकले लिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १६:३६
