हलिउड स्टुडियो र एचबीओ खरिद गर्न शत्रुतापूर्ण बोलकबोल, नेटफ्लिक्ससँगको सम्झौता खतरामा !
मंसिर २३, २०८२ १३:१४
काठमाडौँ । पारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरी (WBD) लाई अधिग्रहण गर्न शत्रुतापूर्ण बोलपत्र अफर (tender offer) गरेपछि अमेरिकी मिडिया जगतमा ठुलो कर्पोरेट युद्ध सुरु भएको छ । नेटफ्लिक्सले गत हप्ता डब्लूबीडीको स्टुडियो र स्ट्रिमिङ सम्पत्तिहरू खरिद गर्ने टेन्डर हात पारेको केही दिनपछि यस्तो कदम चालिएको हो ।
सोमबार घोषणा गरिएको बोलपत्रमा प्यारामाउन्टले डब्लूबीडीका शेयरधनीहरूलाई सम्पूर्ण कम्पनीको लागि प्रति शेयर ३० अमेरिकी डलर नगद प्रस्ताव गरेको छ । यस बोलपत्रले सम्पूर्ण डब्लूबीडी कम्पनीको मूल्य १०८ अर्ब ४० करोड अमेरिकी डलर भन्दा बढी कायम गरेको छ ।
नेटफ्लिक्सको सम्झौतालाई पछि पार्ने प्रयासमा प्यारामाउन्टको यो प्रस्ताव अघि सारेको हो । नेटफ्लिक्सले डब्लूबीडीको स्टुडियो र स्ट्रिमिङ सम्पत्तिहरूको लागि प्रति शेयर २७.७५ अमेरिकी डलर प्रस्ताव गरेको थियो । जसमा एचबीओ म्याक्स, वार्नर ब्रदर्स फिल्म स्टुडियो लगायत रहेका छन् ।
नेटफ्लिक्सको बोलकबोलमा ८५ प्रतिशत नगद र बाँकी नेटफ्लिक्सको स्टक समावेश थियो । प्यारामाउन्टका सीईओ डेभिड एलिसनले सम्पूर्ण रूपमा नगदमा आधारित प्रस्ताव नेटफ्लिक्सको सम्झौताभन्दा १७ अर्ब ६० करोड अमेरिकी डलर बढी मूल्यको रहेको बताएका छन् ।
प्यारामाउन्टले आफ्नो बोलपत्र सिधै डब्लूबीडीका शेयरधनीहरू सामु लगेको छ । प्यारामाउन्टले जारी गरेको प्रेस विज्ञप्तिमा उनीहरूलाई प्रक्रियाको क्रममा नेटफ्लिक्स सरह समान ध्यान नदिइएको र समान व्यवहार नगरिएको गुनासो गरिएको छ ।
सीईओ एलिसनले आफ्नो प्रस्तावले 'उत्कृष्ट मूल्य' दिने र नियामक स्वीकृति प्राप्त गर्न नेटफ्लिक्सको भन्दा निश्चित र छिटो बाटो भएको बताएका छन् । आफ्नो सम्झौता १० महिना जतिमा पूरा गर्न सकिने विश्वास प्यारामाउन्टले गरेको छ । जबकि नेटफ्लिक्सको सम्झौतामा ठुलो एन्टिट्रस्ट लडाई (antitrust battle) को सामना गर्नुपर्ने हुन सक्छ, जुन लामो समयसम्म चल्न सक्छ ।
एलिसनले नेटफ्लिक्स-डब्लूबीडीको मर्जरलाई प्रतिस्पर्धा विरोधी भनेका छन् । किनकि यसले नम्बर १ स्ट्रिमरलाई तेस्रो नम्बरको स्ट्रिमरसँग मिलाउनेछ । जसले गर्दा हलिउड र उपभोक्ता दुवैका लागि खराब हुने उनको तर्क छ । प्यारामाउन्टले यो मर्जरबाट ६ अर्ब अमेरिकी डलरको लागत तालमेल (cost synergies) निकाल्न सकिने विश्वास पनि व्यक्त गरेको छ ।
प्यारामाउन्टको शत्रुतापूर्ण बोलपत्रको बाबजुद डब्लूबीडीको बोर्डले हाल नेटफ्लिक्ससँगको सम्झौताको आफ्नो सिफारिस परिवर्तन नगरिएको जनाएको छ । बोर्डले शेयरधनीहरूलाई हाल कुनै पनि कारबाही नगर्न सल्लाह दिएको छ । यद्यपि, डब्लूबीडीले प्यारामाउन्टको प्रस्तावको सावधानीपूर्वक समीक्षा गर्ने र १० कार्य दिनभित्र शेयरधनीहरूलाई आफ्नो निर्णयबारे जानकारी दिने बताएको छ ।
नेटफ्लिक्सका सह-सीईओ टेड सारान्दोसले प्यारामाउन्टको यो कदम पूर्ण रूपमा अपेक्षित रहेको भन्दै आफ्नो सम्झौता सफल हुनेमा विश्वस्त रहेको बताएका छन् । सारान्दोसले नेटफ्लिक्सको अधिग्रहणले रोजगारी कटौती नगरी रोजगारी सिर्जना गर्ने बताउँदै प्यारामाउन्टले खोजेको ६ अर्ब डलरको तालमेलको आलोचना गरे ।
प्यारामाउन्टको अधिग्रहण बोलपत्रमा डेभिड एलिसनका बुबा तथा प्रविधि टाइकुन ल्यारी एलिसनको सहयोग, साथै बैँक अफ अमेरिका, सिटी र अपोलो ग्लोबल म्यानेजमेन्टबाट ५४ अर्ब डलरको ऋण प्रतिबद्धताले साथ दिएको छ । थप लगानीकर्ताहरूमा जारेड कुश्नरको फर्म एफिनिटी पार्टनर्स र साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सका फण्डहरू रहेका छन् । एफिनिटी पार्टनर्सका संस्थापक जारेड कुश्नर ट्रम्पका ज्वाइँ हुन् ।
यो अधिग्रहण लडाईमा राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक टिप्पणीले थप जटिलता ल्याएको छ । ट्रम्पले नेटफ्लिक्सको खरिदले प्रतिस्पर्धाको कारण समस्या हुन सक्ने भन्दै टिप्पणी गरेका छन् । ट्रम्पले आफू यसको अनुमोदन प्रक्रियामा संलग्न हुने बताएका छन् । डेभिड एलिसनले पनि ट्रम्पसँग आफ्नो कुराकानी भएको बताएका छन् ।
यदि डब्लूबीडीले प्यारामाउन्टको प्रस्तावलाई स्वीकार गरेमा कम्पनीले नेटफ्लिक्सलाई २ अर्ब ८० करोड अमेरिकी डलरको रिभर्स टर्मिनेसन शुल्क (breakup fee) तिर्नुपर्ने हुन्छ ।
बोलकबोलको युद्ध तीव्र भएपछि त्यसको प्रतिक्रिया सोमबार शेयर बजारमामा पनि देखिएको छ । डब्लूबीडीको शेयर मूल्य ४ प्रतिशत माथि र प्यारामाउन्टको शेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ । जबकि नेटफ्लिक्सको शेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
डब्लूबीडी अर्थात् वार्नर ब्रदर्स डिस्कभरी
डब्लूबीडी (WBD) भनेको वार्नर ब्रदर्स डिस्कभरी (Warner Bros. Discovery) हो । यो एउटा मिडिया ग्रुप हो, जसको स्वामित्वमा वार्नर ब्रदर्स फिल्म स्टुडियो (Warner Bros. film studio), केबुल च्यानल एचबीओ, स्ट्रिमिङ सेवा एचबीओ म्याक्स, केबुल ब्रान्डहरूको पोर्टफोलियो आदि रहेका छन् ।
एचबीओ सेेक्स एन्ड द सिटी जस्ता शोहरूका लागि पनि चिनिन्छ । वार्नर ब्रदर्स डिस्कभरी (WBD) यस वर्ष हलिउडको सबैभन्दा बढी खोजिने कम्पनी मध्ये एक बनेको छ । यदि नेटफ्लिक्ससँगको सम्झौता सफल भएमा सीएनएन, टीबीएस र टीएनटी जस्ता वार्नरको स्वामित्वमा रहेका केबुल ब्रान्डहरू छुट्टै सार्वजनिक कम्पनीअन्तर्गत रहनेछन् ।
प्यारामाउन्ट स्काइडान्सले डब्लूबीडीलाई सम्पूर्ण कम्पनीको रूपमा अधिग्रहण गर्नको लागि शत्रुतापूर्ण बोलपत्र (hostile bid) सुरु गरेको छ । जबकि नेटफ्लिक्सले डब्लूबीडीको स्टुडियो र स्ट्रिमिङ सम्पत्तिहरू मात्र खरिद गर्ने प्रस्ताव जितेको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ १४:२८
