close

अमेरिकामा नेपालीले खोलेको कम्पनी ‘भिल’ को कार्यालय काठमाडौँमा पनि, भिडिओबाटै कमाउन सघाउने !

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १४:५०

अमेरिकामा नेपालीले खोलेको कम्पनी ‘भिल’ को कार्यालय काठमाडौँमा पनि, भिडिओबाटै कमाउन सघाउने !

काठमाडौँ । कन्टेन्ट क्रिएटर र ब्रान्डबिचको सहकार्यलाई सहज बनाउने भिडिओ मार्केटिङ प्लेटफर्म ‘भिल’ (Veel) ले काठमाडौँको महाराजगञ्जमा आफ्नो कार्यालय विस्तार गरेको छ । नेपाली आईटी उद्यमी दिलीप ढकालले सन् २०२२ देखि अमेरिकाबाट सञ्चालन गर्दै आएको यो कम्पनीको नेपाल कार्यालय मंगलबार उद्घाटन गरिएको हो ।

कार्यालयको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गरे । कार्यक्रममा बोल्दै राजदूत थम्पसनले भिललाई अमेरिका-नेपाल प्राविधिक साझेदारीको एक सशक्त उदाहरणका रूपमा व्याख्या गरे । उनले भने, “यसले अमेरिकी कम्पनीहरूले नेपालमा कसरी अर्थपूर्ण अवसर पाइरहेका छन् र निजी क्षेत्रको विकास तथा विश्वव्यापी क्रिएटरको उत्पादकत्व बढाउन कस्तो योगदान पुर्‍याइरहेका छन् भन्ने कुरालाई प्रष्ट पार्छ ।”

राजदूत थम्पसनले यो अन्तरदेशीय नवप्रवर्तनलाई थप सुदृढ बनाउँदै दुवै राष्ट्रका लागि नयाँ अवसर सिर्जना गर्न आफू उत्साहित रहेको बताए । कार्यक्रममा अमेरिकाको सान फ्रान्सिस्कोस्थित कम्पनीको टोली पनि भर्चुअल माध्यमबाट प्रत्यक्ष जोडिएको थियो ।

कम्पनीका संस्थापक तथा सीईओ ढकालले क्रिएटर र ब्रान्डले कामको गति बढाउने खालका आधुनिक उपकरण पाउनुपर्नेमा जोड दिए । “यो विस्तारसँगै हामी छरिएका कामलाई एउटा बौद्धिक र मापनयोग्य प्रणालीमा एकीकृत गर्दैछौँ,” ढकालले भने, “यसले टिमलाई सञ्चालनका झन्झटबाट मुक्त गर्दै ‘स्टोरी टेलिङ’ र सिर्जनशीलतामा केन्द्रित हुन सघाउँछ ।”

कार्यालय विस्तारसँगै कम्पनीले नयाँ वेब एप र एआई सञ्चालित मोबाइल एप पनि घोषणा गरेको छ । यसमा ‘क्रिएटर क्याम्पेन’, ‘भिडिओ रिभ्युज’, ‘भिडिओ एसईओ’ र ‘भिडिओ एडिटिङ’ गरी चार मुख्य फिचर समेटिएको जानकारी दिइएको छ ।

नयाँ फिचरमध्ये ‘क्रिएटर क्याम्पेन’ ले इन्फ्लुएन्सर भिडिओ व्यवस्थापन, भुक्तानी प्रक्रिया र रियल-टाइम एनालिटिक्स एकै ठाउँबाट सञ्चालन गर्न सघाउनेछ । यस्तै, ‘भिडिओ रिभ्युज’ ले विभिन्न डिजिटल प्लेटफर्ममा आएका प्रयोगकर्ताका प्रतिक्रिया देखाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘भिडिओ एसईओ’ ले भिडिओभित्रका निश्चित दृश्य वा संवाद खोज्न सकिने ‘डिस्कभरी इन्जिन’ का रूपमा काम गर्नेछ । यसले गर्दा अन्य प्लेटफर्ममा त्यस्ता भिडिओको रिच बढ्न सक्नेछ । साथै, एआईयुक्त मोबाइल एपले भिडिओ एडिटिङ, स्टोरेज तथा वालेट पेआउटको सुविधा दिनेछ ।

अपडेट गरिएको वेब एप तत्काल उपलब्ध हुनेछ भने मोबाइल एप र अन्य फिचर चरणबद्ध रूपमा सार्वजनिक गरिनेछ । आगामी १५ डिसेम्बरमा पूर्ण रूपमा सार्वजनिक हुने यस प्लेटफर्मले ब्रान्ड, एजेन्सी र क्रिएटरबिचको सहकार्यलाई सरल बनाउने कम्पनीको लक्ष्य छ ।

अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज भएका देशहरूमा क्रिएटरले यो प्लेटफर्म प्रयोग गरी सहजै आम्दानी गर्न सक्ने बताइएको छ । तर, नेपालमा सरल भुक्तानी सुविधा नहुँदा आम्दानीको पाटोमा तत्काल अन्योलता देखिएको छ ।

यसबारे प्रष्ट पार्दै सीईओ ढकालले भने, “हामीसँग यहाँ भुक्तानीको समस्या रहेछ । त्यसैले अहिलेका लागि सबै क्रिएटरले यी फिचरहरू निःशुल्क प्रयोग गर्न पाउँछन्, तर आम्दानीको पाटो भने यहाँ जोडिँदैन । यसलाई नेपाली कन्टेन्ट क्रिएटरसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।”

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ ८:५६