close

आईटीयूको अन्तर्राष्ट्रिय रोबोटिक्स फाइनलमा प्रतिस्पर्धा गर्न नेपाली टोली स्विट्जरल्यान्ड प्रस्थान

टेकपाना टेकपाना

असार २२, २०८३ २२:२८

आईटीयूको अन्तर्राष्ट्रिय रोबोटिक्स फाइनलमा प्रतिस्पर्धा गर्न नेपाली टोली स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौं । नेपालका जुनियर तथा सिनियर राष्ट्रिय रोबोटिक्स टोली संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले आयोजना गर्ने 'AI for Good – Robotics for Good Youth Challenge 2026' को अन्तर्राष्ट्रिय फाइनलमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । 

रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) को नेतृत्वमा सहभागी हुने दुवै टोलीले जुलाई ७ देखि ११ सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वका उत्कृष्ट युवा रोबोटिक्स टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले यस प्रतियोगितामा जुनियर र सिनियर दुवै विधामा सहभागिता जनाउनेछ ।

गत वर्षको संस्करणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्दै जुनियरतर्फ रजत पदक तथा सिनियरतर्फ कास्य पदक जितेको थियो । यसअघि पनि नेपालले FIRST Global Challenge लगायत अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्दै आफ्नो क्षमता प्रमाणित गर्दै आएको छ । 

यस वर्षको राष्ट्रिय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शनका आधारमा टोली चयन गरिएको हो । जुनियर टोलीमा समृद्धि स्कुलका आरोन भट्ट र ऋद्धि मानन्धर, युनाइटेड स्कुलका निर्वाण सिंह रायमाझी र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी शिवाली पराजुली रहेका छन् । सिनियर टोलीमा  युनाइटेड स्कुलका आरव गौतम, अरोमा कलेज, चितवनका सुषान्त गौतम, केएमसी स्कुलका समीप खतिवडा र युनाइटेड स्कुलकी अब्रिया श्रेष्ठ छन् । 

जुनियर टोलीको मेन्टर सन्तोष थापा मगर र सिनियर टोलीको मेन्टर इन्जिनियर सुबास श्रेष्ठ रहेका छन् । टोली व्यवस्थापकको जिम्मेवारी कुनाल साहले सम्हालेका छन् । प्रतियोगिताका लागि टोलीलाई एनसेलले मुख्य प्रायोजन गरेको छ भने एसीए एमआईटी कलेज आईटी शिक्षा साझेदार र युनाइटेड स्कुल शिक्षा साझेदारका रूपमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ २२:५८