अस्पतालका ईएमआर सफ्टवेयरमा समस्या आए आविष्कार केन्द्रले नि:शुल्क समाधान गर्ने
मंसिर २५, २०८२ १४:३३
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा केही समस्या आए नि:शुल्क प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थालाई डिजिटलाइज बनाउन प्रयोग गर्दै आएको ईएमआर प्रणालीमा समस्या आएमा आविष्कार केन्द्रलाई प्रश्नहरू सोधेर तत्काल समाधानका उपाय पाउन सक्ने व्यवस्था सुरु गरिएको हो ।
पोखरास्थित राष्ट्रिय आविष्कार केन्द्रको आईसीटी ल्याबले गत आइतबारदेखि उक्त सेवा सुरु गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ईएमआर प्रणाली प्रयोग गरिरहेका वा गर्न चाहने अस्पतालहरूले टोल फ्री नम्बरमार्फत सम्पर्क गर्न सक्ने जानकारी दिए । डिजिटल स्वास्थ्य सम्बन्धी जानकारी लिन, परामर्श गर्न वा यससम्बन्धी प्राविधिक कुरा सिक्ने इच्छा भएकाहरूका लागि पनि पोखरास्थित आईसीटी ल्याबमा सम्पर्क गर्न सकिने उनले उल्लेख गरे ।
देशभरका स्वास्थ्य संस्थाहरूले टोल फ्री नम्बर १८१०५०००३७५ मा फोन गरेर वा ईमेलमार्फत आफ्ना समस्या टिपाउन सक्नेछन् । यो सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म उपलब्ध हुनेछ । केन्द्रले ‘रिमोटली’ (अनलाइन वा फोनमार्फत) दिने सबै सेवा नि:शुल्क हुने र भौतिक रूपमै उपस्थित भएर मर्मत गर्नुपरेमा आपसी समझदारीमा शुल्क लाग्ने जनाएको छ ।
टोल फ्री नम्बर वा ईमेलमार्फत आउने प्रश्नहरू सकेसम्म रियल टाइममा नै समाधान गर्न जनशक्ति तयार पारिएको केन्द्रका पोखरास्थित टेक्निकल म्यानेजर इन्द्र वलीले बताए । उनका अनुसार केन्द्रले अस्पतालहरूमा ईएमआर प्रणालीको व्यवस्थापन सेवा कोभिड-१९ को महामारीको समयदेखि नै उपलब्ध गराउँदै आएको छ । जसमा गण्डकी प्रदेशका चार ओटा अस्पतालहरू मुख्य ग्राहक छन् । केन्द्रले ओपन सोर्स सफ्टवेयर बाम्नी (Bahmni) को ईएमआर प्रयोग तथा व्यवस्थापन गर्दै आएको छ ।
केन्द्रले विशेष गरी बाम्नी (Bahmni), ओपनएमआरएस, ओपन ईएलआईएस, ओडु लगायतका ओपन सोर्स सफ्टवेयरमा आउने समस्यामा सहयोग गर्नेछ । वलीले भने, “सबै ओपन सोर्स सफ्टवेयरका समस्या र प्रश्न उस्तै हुने भएकाले हामी जुनसुकै ईएमआरको मेन्टेनेन्समा सहयोग गर्छौँ ।”
के हो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम ?
इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) त्यस्तो प्रणाली हो, जसमा अस्पताल वा स्वास्थ्य संस्थाको सम्पूर्ण कागजी कामलाई डिजिटलमा रूपान्तरण गर्न प्रयोग गरिन्छ । यो प्रणालीमार्फत अस्पतालको बिलिङ, बिरामीहरूको जानकारी, ल्याब रिपोर्ट, फलोअप, औषधी लगायतका सम्पूर्ण काम डिजिटल माध्यमबाट गर्न सकिन्छ ।
नेपालमा ईएमआरको प्रयोग गरेर स्वास्थ्य संस्थालाई डिजिटलाइज गर्न प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले नि:शुल्क प्राविधिक सहयोग उपलब्ध गराउन लागेको उनले बताए । यो प्रणालीले बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा रेफर हुँदा डिजिटल माध्यमबाट नै पुराना मेडिकल रेकर्ड ट्रान्सफर गर्न सघाउने उनको भनाइ छ ।
यस्तै हालसम्म ईएमआर प्रणाली सुरु नगरेका अस्पतालहरूलाई पनि यो प्रणाली राख्न परेमा केन्द्रले सघाउने प्राविधिक व्यवस्थापक वलीले बताए । उनले भने, “निजी प्रणाली खरिद गर्नुभन्दा ओपन सोर्स तुलनात्मक रूपमा सस्तो विकल्प हो । ईएमआर सिस्टम सुरु गर्न चाहनेहरू अस्पतालहरूले हाम्रो सहयोग माग्नु भयो भने त्यो पनि उपलब्ध गराउँछौँ ।”
पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १४:३३
