close

टिकटकको लत र विवाहेत्तर सम्बन्धको परिणाम- श्रीमतीको विभत्स हत्या

टेकपाना टेकपाना

असार १९, २०८३ ७:५०

टिकटकको लत र विवाहेत्तर सम्बन्धको परिणाम- श्रीमतीको विभत्स हत्या

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-६ पैयूँटारमा भएको नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको विभत्स हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (नेपाली ब्रो) सहित चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर भएको छ । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा चिनिएका एवम् रेस्लर समेत रहेका कुमार थापा मगरले आफ्नै पत्नीको घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् ।

यस प्रकरणमा कुमारसँगै उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्य, कुमारका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीलाई समेत हत्याको दुरुत्साहन गरेको अभियोगमा प्रतिवादी बनाइएको छ ।

मुख्य प्रतिवादी कुमार थापा मगरले प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानमा हत्याको मुख्य कारण पारिवारिक कलह र आफू विरुद्ध परेका कानुनी मुद्दाहरू रहेको उल्लेख गरेका छन् ।

श्रीमतीको हत्या गरेको स्वीकार गर्दै उनले भनेका छन्, “मैले श्रीमती ईश्वरी भुजेललाई चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिमको सजाय भोग्न मञ्जुर छु ।” उनले बयानमा आफू वैदेशिक रोजगारीबाट फर्किएपछि सामाजिक सञ्जाल टिकटकमा सक्रिय भएको र सोही क्रममा अन्य युवतीहरूसँग खिचेका भिडिओका कारण श्रीमतीसँग खटपट सुरु भएको उल्लेख गरेका छन् । कुमारले भनेका छन्, “मैले टिकटकमा भ्युज बढाउन विभिन्न केटीहरूसँग भिडिओ अपलोड गर्ने गरेको थिएँ, जुन कुरा श्रीमतीलाई मन परेको थिएन र हामीबिच मनमुटाव र पारिवारिक कलह सुरु भयो ।”

हत्याको मुख्य कारण कुमारको विवाहेत्तर सम्बन्ध र श्रीमतीले दायर गरेको कानुनी मुद्दा देखिएको छ । कुमारले बयानमा प्रतीक्षा आचार्यसँग आफ्नो प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर श्रीमती ईश्वरीले आफूविरुद्ध वैवाहिक जबरजस्ती करणीको मुद्दा हालेको र सम्बन्ध विच्छेदको प्रक्रिया समेत अघि बढाएकोमा आफू आक्रोशित भएको बताएका छन् । उनले भनेका छन्, “श्रीमतीले मलाई जबरजस्ती करणीको मुद्दा हालेपछि म थुनामा परेर धरौटीमा छुटेको थिएँ, अदालतमा मुद्दा विचारधीन हुँदाहुँदै उनले मेलमिलाप गर्न मानिनन्, जसले गर्दा म निकै तनावमा थिएँ ।”

हत्या भएको रात २०८३ जेठ २२ गतेको घटनाबारे कुमारले बयानमा विस्तारमा बताएका छन् । उनले भनेका छन्, “अदालतमा मुद्दाको पेशी भएको दिन श्रीमती नआएकाले म तनावमा गाडी चलाएर पैयूँटार जाँदै गर्दा विपरीत दिशाबाट श्रीमती स्कुटरमा आइरहेको देखेपछि मैले गाडी रोकेर उनलाई पछ्याएँ र चक्कुले घाँटी रेटी हत्या गरेर भागेको हुँ ।” प्रविधिको प्रयोग र सीसीटिभी फुटेजले कुमारले श्रीमतीको स्कुटर पछ्याउँदै गरेको र हत्यापछि गाडीमा चढेर भागेको दृश्य स्पष्ट रूपमा कैद गरेको अभियोगपत्रमा उल्लेख छ ।

घटनास्थल नजिकैको निर्माणाधीन घरको सीसीटिभी फुटेजमा कुमारले ईश्वरीको स्कुटरलाई पिछा गरेको, चक्कु प्रहार गरी भागेको र कार चढेर निस्किएको प्रष्ट देखिएको प्रहरीले अनुसन्धानले खुलाएको छ ।

प्रहरीले कुमारलाई बालाजु चमतीबाट पक्राउ गर्दा उनको टिसर्टमा रगतका टाटाहरू फेला पारेको थियो भने वारदातमा प्रयोग गरिएको चक्कु झाडीबाट बरामद गरेको थियो । कुमारले टिकटकमा भ्युज बढाउन अन्य युवतीहरूसँग आपत्तिजनक भिडिओ हाल्ने गरेको र प्रतीक्षालाई ‘डक्टर गर्लफ्रेन्ड’ का रूपमा चिनाउने गरेको समेत खुल्न आएको छ ।

अन्य प्रतिवादीहरूमध्ये प्रतीक्षा आचार्यले कुमारसँग आफ्नो प्रेम सम्बन्ध रहेको र कुमारको घरमा सोही कारण पटक-पटक झगडा हुने गरेको स्वीकार गरेकी छन् । उनले बयानमा भनेकी छन्, “हाम्रो प्रेम सम्बन्धका कारण कुमारको घरमा झगडा हुने गरेको थियो, तर हत्याको योजनामा मेरो संलग्नता छैन ।” यद्यपि, पीडित पक्षले प्रतीक्षाले नै ‘श्रीमतीलाई मारेपछि मात्र म तिम्रो घरमा भित्रिन्छु’ भनी कुमारलाई उक्साएको आरोप लगाएका छन् ।

अर्का प्रतिवादी विक्रम थापा मगरले आफ्नै दाजुले श्रीमती तह लगाउन नसकेको भन्दै उक्साहटपूर्ण कुरा गर्ने गरेको र पुजन थापा क्षेत्रीले कुमारलाई आश्रय दिएर र भिडिओ बनाउन उत्प्रेरित गरेर हत्याको पृष्ठभूमि तयार पारेको अभियोगपत्रमा दाबी गरिएको छ ।

अभियोगपत्रमा टिकटकमा कुमारले दिएका विवादास्पद अन्तर्वार्ता र धम्कीपूर्ण भिडिओहरूलाई पनि प्रमाणका रूपमा पेस गरिएको छ । कुमारले टिकटकमा ‘मैले हिसाबकिताब एक-एक गरेर चुक्ता गर्नेछु’ र ‘म मर्नुभन्दा अघि ५ जनालाई मारेर मर्छु’ भनी बोलेका कुराहरूले उनको अपराधिक मानसिकता पुष्टि गर्ने दाबी गरिएको छ । प्रहरीले घटनास्थलबाट बरामद गरेको चक्कु, रगत लतपतिएको कपडा र मोबाइलको डिजिटल फरेन्सिक ल्याब रिपोर्टलाई पनि प्रमाणका रूपमा अदालतमा पेस गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले कुमार थापा मगरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिमको ‘कर्तव्य ज्यान’ को कसूरमा जन्मकैदको मागदाबी गरेको छ । अन्य तीन प्रतिवादीहरू प्रतीक्षा आचार्य, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई सोही कसुरमा दुरुत्साहन दिएको भन्दै दफा ३५ को उपदफा (१) र (२) बमोजिम मुख्य कसुरदार सरहकै सजायको माग गरिएको छ । साथै, वारदातमा प्रयोग भएको कार जफत गर्न र मृतकका हकवालालाई मनासिब क्षतिपूर्ति भराउन समेत अभियोग पत्रमा मागदाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ ९:३७