अपराध अनुसन्धान र साइबर सुरक्षामा योगदान पुर्याएको भन्दै इसेवालाई प्रहरीले गर्यो सम्मान
पुस १०, २०८२ १६:५९
काठमाडौँ । नेपाल प्रहरीले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माण, अपराध अनुसन्धान तथा साइबर सुरक्षामा पुर्याएको योगदानको कदर गर्दै प्रहरीले इसेवालाई सम्मान गरेको हो ।
७० औँ प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच इसेवालाई कदर-पत्र प्रदान गरियो ।
सम्मान ग्रहण गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा र नियामकीय अनुपालनमा इसेवा निरन्तर प्रतिबद्ध रहेको बताए ।
“नेपाल प्रहरीको यो सम्मानले हाम्रो सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ,” सीईओ खड्काले भने, “अपराधिक क्रियाकलापविरुद्ध इसेवाको शून्य सहनशीलता रहनेछ ।”
उनले आगामी दिनमा इसेवाका सेवाहरूलाई थप ग्राहकमैत्री, सुरक्षित र भरपर्दो बनाउँदै डिजिटल अर्थतन्त्रको निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
इसेवाले हाल नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा विद्युतीय भुक्तानीसम्बन्धी प्रचलित कानुन र मापदण्डहरूको पूर्ण पालना गर्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ । साइबर सुरक्षालाई उच्च प्राथमिकता दिँदै कम्पनीले आधुनिक प्रविधिको प्रयोग, निरन्तर प्रणाली अनुगमन र नियमित सुरक्षा परीक्षण गर्दै आएको छ ।
सम्भावित साइबर जोखिम पहिचान र न्यूनीकरणका लागि आन्तरिक सुरक्षा नीति र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गर्दै प्रयोगकर्तालाई सुरक्षित र द्रुत डिजिटल भुक्तानी सेवा प्रदान गर्न इसेवा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १६:५९
