काठमाडौँकी उपमेयर सुनिता डङ्गोलको नाममा नक्कली ह्वाट्सएप बनाएर ठग्दै स्क्यामर
पुस ११, २०८२ १२:२५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको नाम र तस्बिर दुरुपयोग गरी नक्कली ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग पैसा माग्ने गरिएको पाइएको छ । उपमेयर डङ्गोलले आफ्नो नाममा भइरहेको यो ठगी धन्दाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै सबैलाई सचेत रहन आग्रह गरेकी छिन् ।
उपमेयर डङ्गोलका अनुसार अपरिचित व्यक्तिले उनको तस्बिर र नाम प्रयोग गरी ह्वाट्सएपमार्फत मेसेज पठाएर रकम मागिरहेका छन् । उनले ती नक्कली नम्बरसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेकी छिन् ।
“यस विषयमा मैले कानुनी प्रक्रिया अघि बढाइसकेको छु र नेपाल प्रहरी तथा सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको छु,” उनले भनेकी छिन्, “सबैलाई सजग रहन, सत्यापन नगरी कुनै पनि आर्थिक कारोबार नगर्न र ठगीको सिकार नबन्न हार्दिक अनुरोध गर्दछु ।”
पछिल्लो समय सार्वजनिक व्यक्तित्वको नाम दुरुपयोग गरी सामाजिक सञ्जाल र मेसेजिङ एप (भाइबर/ह्वाट्सएप) मार्फत ठगी गर्ने क्रम बढ्दै गएको छ । यसअघि अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, गायिका तृष्णा गुरुङ र अभिनेता आकाश श्रेष्ठका नाममा पनि नक्कली अकाउन्ट खोलेर पैसा मागिएको घटना सार्वजनिक भएका थिए । कलाकारहरूले पनि यसरी हुने ठगीबाट बच्न सर्वसाधारणलाई पटक-पटक सचेत गराउँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १२:२५
