साइबर सुरक्षा गोष्ठी र टेकस्प्रिन्ट ह्याकाथन २०२६ आयोजना हुँदै, यसरी बन्न सकिनेछ सहभागी
पुस १३, २०८२ १४:३७
काठमाडौँ । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्ठी र टेकस्प्रिन्ट ह्याकाथन २०२६ आयोजना हुने भएको छ । नेपाल इन्जिनियरिङ कलेज र कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाज (कोइस) को संयुक्त आयोजनामा आगामी १६-१९ जनवरी (२ देखि ५ माघ) मा उक्त कार्यक्रमको हुन लागेको हो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत सहयोग रहेको कोइसका अध्यक्ष कोमल अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार १६ जनवरीमा साइबर सुरक्षा गोष्ठी सञ्चालन हुनेछ । उक्त गोष्ठीमा साइबर क्षेत्रमा उदय भएका जोखिम, इथिकल ह्याकिङ, डेटा प्राइभेसी, सुरक्षित सफ्टवेयर विकास तथा साइबर सम्बन्धी नीतिगत ढाँचाका बारेमा छलफल हुनेछ ।
नेपाल प्रहरी, साइबर ब्युरो, साइबर सुरक्षाका क्षेत्रका विज्ञहरू सहित विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले गोष्ठीमा सहभागिता जनाउने छन् । यहाँ क्लिक गरेर तपाईँ पनि उक्त कार्यक्रमका लागि आफ्नो नाम दर्ता गराउन सक्नु हुनेछ ।
गोष्ठी लगत्तै १७ जनवरीदेखि भने ४८ घण्टे ‘टेकस्प्रिन्ट ह्याकाथन’ सुरु हुनेछ । उक्त ह्याकाथनमा फिनटेक, ओपन इनोभेसन, इन्टरनेट अफ थिङ्स, ई-गभर्नेन्स र प्रविधि शिक्षा गरेर पाँच विधा समावेश छन् । जसका लागि एक लाख २० हजार रुपैयाँको प्राइज पुल राखिएको छ ।
४८ घण्टा लामो ह्याकाथन भएपछि १९ जनवरीमा प्रोजेक्ट सब्मिट गर्ने, निर्णायक मण्डल सामु प्रस्तुत गर्ने काम हुनेछ । सोही दिन बिजेता छनोट भएर पुरस्कार वितरण गर्न सकिनेछ ।
ह्याकाथनमा चार जनासम्म सदस्य भएका टोलीहरूले सहभागिता जनाउन सक्नेछन् । ह्याकाथनमा सहभागी हुन टोली नभएमा एक्लैले पनि सहभागिता जनाउन सकिने र आयोजकले टोली बनाउन सघाउने अधिकारीले बताए ।
नेपालभरबाट प्रविधिमा रुचि भएका जुनसुकै उमेर समूहका व्यक्तिहरूले ह्याकाथनमा सहभागिता जनाउन सक्नेछन् । १० जनवरीसम्ममा यहाँ क्लिक गरेर ह्याकाथनमा सहभागिता जनाउन सकिनेछ ।
अधिकारीका अनुसार आवेदन दिनेहरूबाट २० ओटा टोलीहरूलाई ह्याकाथनका लागि छनोट गरिनेछ । छनोट भएका टोलीले भने सहभागी हुन दुई हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने उनले जानकारी दिए । आफ्ना आइडियालाई नयाँ प्रोजेक्ट बनाउन तथा नयाँ सीप सिक्नका लागि उक्त ह्याकाथन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १४:३७
