close

भेनेजुएलाका राष्ट्रपति मदुरोको गिरफ्तारीपछि उनले लगाएको नाइकी ट्र्याकशुट अनलाइनमा आउट अफ स्टक

टेकपाना टेकपाना

पुस २१, २०८२ ११:२५

भेनेजुएलाका राष्ट्रपति मदुरोको गिरफ्तारीपछि उनले लगाएको नाइकी ट्र्याकशुट अनलाइनमा आउट अफ स्टक

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी हिरासतमा पुगेपछि यतिखेर एउटा अनौठो दृश्यले विश्वको ध्यान खिचेको छ । मदुरो पक्राउ परेको केही घण्टाभित्रै उनले लगाएको पोसाक सामाजिक सञ्जालमा चर्चाको विषयवस्तु बन्यो ।

पक्राउ परेपछिको पहिलो तस्बिरमा मदुरो खैरो रङको ‘नाइकी’ ट्रयाकसुट र ‘स्लाइडर’ चप्पलमा देखिएका थिए । विभिन्न देशका सरकारले प्रतिक्रिया दिने र विश्लेषकले यसको भूराजनीतिक असरबारे बहस गरिरहँदा, इन्टरनेट प्रयोगकर्ताको ध्यान भने मदुरोको पहिरनमा मोडियो । नतिजा स्वरूप उनले लगाएको ‘नाइकी टेक फ्लिस’ मोडेलको ट्र्याकसुट अनलाइन बजारमा केही समयमै सोल्ड आउट भएको (विक्री भएर सकिएको) विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

राजनीतिभन्दा फेसनको चर्चा
मदुरो पक्राउ परेको तस्बिर सार्वजनिक हुनासाथ गुगल र अन्य प्लेटफर्ममा उक्त ट्र्याकसुटको खोजी तीव्र भएको थियो । अनलाइन रिटेलरका अनुसार केही बेरमै यसको स्टक रित्तिएको थियो । 

मदुरोलाई शनिबार बिहान सबेरै सुतिरहेको अवस्थामा छापा मारेर पक्राउ गरिएको थियो। सुरुमा उनी रात्रिकालीन पहिरनमा देखिए पनि पछि सार्वजनिक भएको तस्बिरमा उनी सफा खैरो ट्र्याकसुटमा देखिएका थिए । 

यस घटनामा एउटा ठुलो विरोधाभास पनि देखिएको छ । निकोलस मदुरोले आफ्नो राजनीतिक जीवनभर पश्चिमी पुँजीवाद र अमेरिकी साम्राज्यबादको कडा विरोध गर्दै आएका थिए । तर, उनको गिरफ्तारीको ऐतिहासिक क्षणमा उनी विश्वविख्यात अमेरिकी खेलकुद फेशन ब्रान्डकै लुगामा सजिएका देखिए । उनका आलोचकले यसलाई ‘चरम विरोधाभास’ भनेका छन् ।

मदुरोले लगाएको ट्र्याकसुटको प्रचारका लागि नाइकी कम्पनीले कुनै अभियान चलाएको थिएन । तर, सामाजिक सञ्जालमा बनेका ‘मिम’ र जोकका कारण यो ब्रान्ड एकाएक चर्चामा आयो ।

पछिल्लो अध्यावधिक: पुस २१, २०८२ ११:२६