काठमाडौँ । नेपाल टेलिकमले दिँदै आएको ल्यान्डलाइन टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर प्रविधिले समेत भरथेग गर्न नसकेको देखिएको छ । कम्पनीले पुरानो कपर नेटवर्कबाट इन्टरनेट, आईपीटीभी र भ्वाइस एकै फाइबर केबलबाट दिन सकिने एफटीटीएच प्रविधिमा स्तरोन्नति गरिरहेको छ । तर ल्यान्डलाइनको प्रचलन घट्ने क्रम भने यो नयाँ प्रविधिले समेत रोक्न नसकेको पाइएको हो ।
सन् १९१६ मा काठमाडौँमा पहिलो टेलिफोन लाइन स्थापना भएसँगै नेपालमा दूरसञ्चार सेवाको सुरुवात भएको थियो । त्यसयता मोबाइल प्रविधि नआउन्जेल एकछत्र राज गरेको ल्यान्डलाइन टेलिफोन सेवा पछिल्लो समय भने हराउँदै जान थालेको छ ।
उपलब्ध तथ्याङ्क अनुसार टेलिकमसँग २०६० कात्तिकसम्म ल्यान्डलाइन ग्राहक सङ्ख्या तीन लाख ७९ हजार २३५ थियो । यो क्रम बढ्दै गएर विसं २०७४ सालसम्ममा देशभर ल्यान्डलाइन टेलिफोन ग्राहकको सङ्ख्या ६ लाख ८५ हजार बढी पुगिसकेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार ल्यान्डलाइनमा एफटीटीएच भ्वाइस जोडिनु अघि २०७४ चैतमा सर्वाधिक ६ लाख ८९ हजार ३७३ पीएसटीएन ग्राहक थिए ।
प्रविधिमा आएको परिवर्तनसँगै टेलिकमले तामाको तारबाट प्रवाह गर्दै आएको पीएसटीएन सेवालाई फाइबर केबल मार्फत वितरण गर्न सुरु गर्यो । टेलिकमले पीएसटीएन ग्राहकलाई एफटीटीएच तर्फ फोर्स माइग्रेसनमा लगेसँगै पीएसटीएन ग्राहक घट्दै गएका छन् ।
२०७७ पुससम्म पीएसटीएन प्रविधिमा ल्यान्डलाइन चलाउने ग्राहकको सङ्ख्या ६ लाख ६ हजार ८५७ मा सीमित रहन पुग्यो । जबकि त्यसको तीन वर्षअघि मात्रै टेलिकमका पीएसटीएन ग्राहक झन्डै सात लाख नजिक पुगिसकेका थिए । एफटीटीएच प्रविधिको विस्तारसँगै ल्यान्डलाइन फोनको व्यापार बढाउँदै लैजाने रणनीति टेलिकमले तय गर्यो ।
२०७७ माघदेखि मात्रै दूरसञ्चार प्राधिकरणले एफटीटीएच भ्वाइस भनेर ग्राहक सङ्ख्यालाई छुट्याएर राख्न थाल्यो । यसरी २०७७ माघमा पीएसटीएनमा ५ लाख ९८ हजार ६०८ र एफटीटीएचमा ९४ हजार ६४० गरी कूल ल्यान्डलाइन ग्राहक ६ लाख ९३ हजार २४८ थिए ।
२०७७ पुसको तुलनामा सोही वर्षको माघमा पीएसटीएनसहित एफटीटीएच भ्वाइसका ग्राहक जोडिएपछि ल्यान्डलाइनमा १४.२३ प्रतिशतले ग्राहक सङ्ख्या बढेको देखिन्छ । तथ्याङ्कअनुसार यो नै ल्यान्डलाइनमा प्रयोगकर्ताको सर्वाधिक सङ्ख्या हो । तर, २०७७ माघदेखि २०८२ मङ्सिरसम्म करिब पाँच वर्षको अन्तरालमा ल्यान्डलाइन प्रयोगकर्ताको सङ्ख्या ४० प्रतिशतले घटेको छ ।
२०८२ मङ्सिरसम्म टेलिकमसँग ३२ हजार ४१ पीएसटीएन ग्राहक रहँदा एफटीटीएच तर्फ तीन लाख ८२ हजार २७३ गरी कूल ४ लाख १४ हजार ३१४ मात्रै छन् ।
टेलिकमका उपप्रबन्धक तथा सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले कम्पनीको ल्यान्डलाइन ग्राहक सङ्ख्या घटेजस्तो देखिए पनि सेवा विविधीकरणका कारण उल्टै ग्राहक बाँडिन पुगेको तर्क गरे । ल्यान्डलाइन ग्राहक घट्नुमा तीन मुख्य कारण भए पनि ती ग्राहकहरूले कुनै न कुनै रूपमा टेलिकमको सेवा लिइरहेको जिकिर उनको छ ।
“एउटा भनेको मोबाइल सेवा एकदमै लोकप्रिय भयो । ल्यान्डलाइनभन्दा सहज मोबाइल सेवा बन्यो । अर्को भनेको ल्यान्डलाइन जोडेपछि कल गरे पनि नगरे पनि मासिक रेन्टल शुल्क तिर्नुपर्छ । त्यसबाट छुटकारा पाउन ल्यान्डलाइनको साटो मोबाइल फोन मात्रै बोक्ने ग्राहकहरू बढ्नु भयो । यसो हुँदा आवश्यकता अनुसार रिचार्ज गरेर सेवा लिन सकियो । तेस्रो भनेको हामीले पहिले दिने गरेको एडीएसएल इन्टरनेट चलाउन अनिवार्य ल्यान्डलाइन चाहिन्थ्यो । तर, एफटीटीएच प्रविधि आएपछि इन्टरनेट मात्रै चलाउछु भनेर ल्यान्डलाइन नचलाउने विकल्प पाइयो । यी कारणले ल्यान्डलाइन ग्राहक घटेको जस्तो देखियो,” क्षेत्रीले टेकपानासँग भने ।
क्षेत्रीले अहिले पनि ७ लाख ७० हजारभन्दा बढी ग्राहकले टेलिकमको एफटीटीएचबाटै डेटा, भ्वाइस र आईपीटिभीको सेवा लिइरहेको भन्दै ल्यान्डलाइनमा मात्रै सीमित नभएर अहिले सेवा विविधीकरण हुन पुगेकाले सङ्ख्या घटेको जस्तो मात्रै देखिएको बताए ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १८:३३
