close

२० वर्षपछि जिमेलमा अहिलेसम्मकै सबैभन्दा ठुलो परिवर्तन आउँदै, ‘अब सुरु भयो जेमनाई युग’

टेकपाना टेकपाना

पुस २६, २०८२ १२:३१

२० वर्षपछि जिमेलमा अहिलेसम्मकै सबैभन्दा ठुलो परिवर्तन आउँदै, ‘अब सुरु भयो जेमनाई युग’

काठमाडौँ । ईमेल सेवाको रूपमा रहेको जिमेललाई थप स्मार्ट र प्रभावकारी बनाउन गुगलले ‘जेमनाई एरा’ को सुरुवात गरेको छ । प्रयोगकर्तालाई ईमेल बुझ्न, लेख्न र प्राथमिकता निर्धारण गर्न मद्दत पुऱ्याउने उद्देश्यले गुगलले जिमेलमा एआईमा आधारित नयाँ टुलको प्याकेज ल्याएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै गुगलले जिमेलमा ‘एआई ओभरभ्युज’ फिचर थपिएको जानकारी दिएको छ । यस फिचरले लामा र झन्झटिला ईमेल थ्रेडलाई सङ्क्षिप्त सारांशमा बदल्नेछ । सन् २००४ मा सुरु भएको जिमेलले यसअघि स्पाम सुरक्षा र स्मार्ट रिप्लाई जस्ता कामका लागि एआई प्रयोग गर्दै आएको थियो । 

तर, हालको व्यस्त समयमा ईमेलको चाप बढ्दै गएकाले मुख्य निर्णय र छलफलका बुँदाहरू खोज्न प्रयोगकर्तालाई समय लाग्ने चुनौतीलाई ध्यान दिँदै गुगलले यो नयाँ प्रविधि ल्याएको हो । 

के छन् नयाँ फिचर ?

एआई ओभरभ्युज र प्रश्नोत्तर
अब प्रयोगकर्ताले आफ्ना लामा ईमेल संवाद सबै पढिरहनु पर्ने छैन । एआईले स्वतः ती संवादको मुख्य अंश सारांशको रुपमा दिनेछ । यसका साथै, प्रयोगकर्ताले आफ्नो इनबक्सलाई नै सिधै प्रश्न सोध्न सक्नेछन् । 

उदाहरणका लागि “गत वर्ष कुन विषयमा के निर्णय भएको थियो ?” वा “फलानो कोटेसन कसले पठाएको थियो ?” जस्ता प्रश्न सोध्दा जेमनाई एआईले ईमेल स्क्यान गरी सङ्क्षिप्त र सही उत्तर दिनेछ । यो प्रश्नोत्तर सुविधा सुरुवाती समयमा ‘एआई प्रो’ र ‘अल्ट्रा’ ग्राहकका लागि उपलब्ध हुनेछ भने सारांश हेर्ने सुविधा सबै प्रयोगकर्ताले निःशुल्क पाउनेछन् ।

‘हेल्प मी राइट’
ईमेल लेख्न र ड्राफ्ट तयार पार्न गुगलले ‘हेल्प मी राइट’ फिचर ल्याएको छ । यसले प्रयोगकर्ताको लेखन शैली र सन्दर्भ बुझेर उपयुक्त उत्तरहरू सुझाउने छ । साथै, यसमा रहेको नयाँ ‘प्रुफरिड’ फिचरले व्याकरण, लेखन शैली र लवज सुधार्न मद्दत गर्नेछ । 

हेल्प मी राइट र सुझााइएका उत्तर सबैका लागि निःशुल्क हुनेछन् भने प्रुफरिड सुविधा प्रो ग्राहकका लागि मात्र उपलब्ध हुनेछ । आगामी महिनादेखि यो फिचरले गुगलका अन्य एपबाट पनि सन्दर्भ लिएर व्यक्तिगत सुझाव दिने गुगलले जनाएको छ ।

एआई इनबक्स
जिमेलले अब समयको आधारमा मात्र नभई महत्त्वका आधारमा ईमेलहरू देखाउने ‘एआई इनबक्स’ सुरु गरेको छ । यसले कम महत्त्वका ईमेललाई पन्छाएर जरुरी काम, बिल तिर्ने समय वा मिटिङका रिमाइन्डरलाई प्राथमिकतामा राख्नेछ । 

यसले प्रयोगकर्ताको दिनभरको कार्यतालिका र महत्त्वपूर्ण ईमेलको दैनिक सारांश समेत तयार पार्नेछ ।

गुगलले यी सबै काम गर्दा प्रयोगकर्ताको डेटा सुरक्षित रहने र गोपनीयताको पूर्ण पालना गरिने दाबी गरेको छ । हाल ‘एआई इनबक्स’ सुविधा केही सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ र आगामी केही महिनाभित्रै यसलाई सबैका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १०:४३