काठमाडौँ । नागरिक एपबाट सरकारले वितरण गर्दै आएको राष्ट्रिय परिचयपत्र कार्ड हराएको छ । शुक्रबारदेखि एपमा राष्ट्रिय परिचयपत्रको विवरण गायब भएको हो ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएपछि एपमा पनि परिचयपत्र नदेखिने समस्या आएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ ।
विभागका अनुसार प्रणालीमा आएको खराबीका कारण पहिचान गरी मर्मत कार्य भइरहेको र सो कार्य नसकिँदासम्म विभागसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सेवा प्रभावित हुनेछन् । विशेषगरी अनलाइनमार्फत हुने विवरण सङ्कलन, परिचयपत्र वितरण, व्यक्तिगत विवरण सच्याउने र जन्म दर्ताका क्रममा प्रदान गरिने राष्ट्रिय परिचय नम्बर उपलब्ध गराउने सेवा अवरुद्ध भएका छन् ।
यस प्राविधिक अवरोधले गर्दा राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तर-आबद्धता भएका राहदानी विभाग, बैंक तथा वित्तीय संस्था, कम्पनी रजिस्ट्रारको कार्यालयका सेवा समेत प्रभावित भएका छन् ।
साथै, वैदेशिक रोजगार, राष्ट्रिय किताबखाना, स्थायी लेखा नम्बर (प्यान), सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको जैविक विवरण प्रमाणीकरण गर्ने जस्ता सार्वजनिक सेवाहरूमा समेत बाधा पुगेको छ । विभागले प्रणाली मर्मतको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको र यो सम्पन्न हुनासाथ सबै सेवा पुनः सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ ।
अनलाइन सेवा अवरुद्ध भए पनि सर्वसाधारणको सहजताका लागि विभागले सबै सेवा एकाइलाई ‘अफलाइन’ मार्फत विवरण सङ्कलन र कार्ड वितरण जारी राख्न निर्देशन दिएको छ । अफलाइनमार्फत विवरण दर्ता गराएका सेवाग्राहीले प्रणाली पुन: सञ्चालनमा आएपछि मात्र आफ्नो राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ १३:२२
