काठमाडौँ । राइड हेलिङ प्लेटफर्म याङ्गोले नेपाली बजारमा काठमाडौँमा ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत काठमाडौँका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड-हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका लागि ‘कार्गो’ गरी तीन फरक विकल्प उपलब्ध गराएको छ ।
दक्षिण एसियाका लागि याङ्गो डेलिभरीका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले प्रयोगकर्ताको आवश्यकता अनुसार सहज र भरपर्दो डेलिभरी सुविधा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र यसले काठमाडौँको सहरी जीवनशैली र साना व्यवसायको वृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
याङ्गो डेलिभरीले सामान ढुवानीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अत्याधुनिक रुटिङ र ब्याचिङ एल्गोरिदमका साथै ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग गरेको छ । जसले गर्दा ग्राहक र कुरियर दुवैले सामानको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउनेछन् ।
यो सेवाले आफ्नै सवारी साधन वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग डिजिटल सहकार्य गर्ने मोडेल अपनाएको याङ्गोको भनाइ छ ।
सन् २०२५ मे महिनामा राइड-हेलिङ सेवामार्फत याङ्गो नेपाल प्रवेश गरेको थियो ।
पछिल्लो अध्यावधिक: माघ ६, २०८२ ११:३३
