काठमाडौँ । पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो ।
थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन् । सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए । उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ । यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, ई-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवालाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरेको छ ।
सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए ।
“पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ । त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको छ,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १८:१७
