युट्युबमा अब विवादास्पद र संवेदनशील विषयका कन्टेन्टबाट पनि पूरा आम्दानी गर्न सकिने
माघ ७, २०८२ १४:२
काठमाडौँ । युट्युबले आफ्नो विज्ञापन सम्बन्धी नीति परिमार्जन गरेको छ । यससँगै अब आत्महत्या, गर्भपतन, घरेलु हिंसा जस्ता संवेदनशील विषयमा आधारित भिडिओ बनाउने क्रिएटरले पनि विज्ञापनबाट पूर्ण आम्दानी गर्न सक्नेछन् ।
युट्युबले आफ्ना क्रिएटर्सका लागि जारी गरेको पछिल्लो भिडिओ अनुसार नयाँ नीतिले विशेषगरी गम्भीर सामाजिक मुद्दामा आधारित सामग्रीलाई समेटेको छ । यद्यपि यस्ता सामग्री विज्ञापनका लागि योग्य हुन युट्युबले केही अनिवार्य सर्त अघि सारेको छ ।
नयाँ नीतिअनुसार आत्महत्या, आत्महानी, गर्भपतन र घरेलु तथा यौन दुर्व्यवहार जस्ता विषयमा बनाइएका भिडिओलाई नाटकीय रूपमा प्रस्तुत गरिएको हुनुपर्नेछ वा कुनै पनि विभत्स दृश्य नदेखाई सामान्य रूपमा छलफल गरिएको हुनुपर्नेछ । यस्तो अवस्थामा मात्र ती भिडिओले ‘ग्रिन डलर’ अर्थात् पूर्ण विज्ञापनको अनुमति पाउनेछन् ।
यसअघि यस्ता संवेदनशील सामग्रीमा युट्युबले ‘एल्लो डलर’ चिन्ह दिने गर्थ्यो । यसको अर्थ ती भिडिओमा विज्ञापन सीमित हुन्थ्यो र क्रिएटरले निकै कम आम्दानी मात्र पाउँथे । युट्युबका अनुसार पहिले सामग्रीको प्रेजेन्टेसन स्टाइललाई भन्दा विषयवस्तुलाई बढी ध्यान दिइने भएकाले धेरै महत्त्वपूर्ण सामग्री विज्ञापनका लागि अयोग्य ठहरिन्थे ।
गुगलको स्वामित्वमा रहेको युट्युबले क्रिएटरको निरन्तरको गुनासो र प्रतिक्रियापछि यो कदम चालेको स्पष्ट पारेको छ । “हाम्रो नीति निकै कडा हुँदा संवेदनशील तर महत्त्वपूर्ण कथा भन्ने क्रिएटर मारमा परेका थिए,” युट्युबले भनेको छ, “यदि कन्टेन्टमा काल्पनिक परिवेश छ वा कसैले आफ्नो व्यक्तिगत अनुभव सामान्य रूपमा सुनाइरहेको छ भने विज्ञापनदाता त्यस्ता भिडिओमा विज्ञापन बजाउन सहज महसुस गर्छन् ।”
यद्यपि सबै प्रकारका संवेदनशील विषयमा भने यो नियम लागु हुने छैन । युट्युबका अनुसार बाल दुर्व्यवहार, बाल यौन तस्करी र खानपान सम्बन्धी विकारसँग सम्बन्धित सामग्रीमा अझै पनि विज्ञापनको प्रतिबन्ध कायमै रहनेछ । यस्ता विषयमा जतिसुकै सामान्य वा नाटकीय रूपमा प्रस्तुत गरिए पनि तिनले विज्ञापन आम्दानी प्राप्त गर्न सक्ने छैनन् ।
पछिल्लो समय युट्युबले आफ्नो प्लेटफर्ममा सामग्री नियन्त्रण गर्ने नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगेको छ । गत वर्ष पनि कम्पनीले सार्वजनिक हितका लागि आवश्यक देखिएमा कतिपय नियम उल्लङ्घन गर्ने भिडिओलाई पनि नहटाउन आफ्ना मोडरेटरलाई निर्देशन दिएको थियो ।
पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १५:८
