काठमाडौँ । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नु हुन्छ भने तपाईंले आफ्नो फोनको एप लिस्टमा एउटा नाम देख्नु भएको होला- एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स (Android System Intelligence) । धेरैका लागि यो नाम अस्पष्ट र अनौठो लाग्न सक्छ, तर वास्तवमा यो तपाईँको फोनलाई स्मार्ट बनाउने मुख्य मेरुदण्ड हो ।
यो कुनै नयाँ एप नभएर सन् २०१८ मा एन्ड्रोइड ९ सँगै आएको डिभाइस पर्सनलाइजेसन सर्भिसेसको नयाँ नाम हो । यो गुगलको प्राइभेट कम्प्युट कोर (Private Compute Core) भित्र रहने एक प्रणाली हो, जसको मुख्य काम प्रयोगकर्ताको डेटालाई गोप्य राख्दै फोनमा इन्टेलिजेन्स तथा स्मार्ट सुविधाहरू प्रदान गर्नु हो ।
एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सले पर्दा पछाडि बसेर धेरै महत्वपूर्ण सुविधाहरू सञ्चालन गर्छ । जस्तै: भिडिओहरूमा स्वचालित रूपमा सबटाइटल देखाउने र कुराकानीलाई तत्कालै अनुवाद गर्ने, तपाईँले फोन कसरी समात्नु भएको छ वा स्क्रिनमा हेरिरहनु भएको छ कि छैन भन्ने कुराको पहिचान गर्ने, तपाईँको वरपर कुन गीत बजिरहेको छ भन्ने कुरा लक स्क्रिनमै जानकारी दिने, मेसेज वा नोटिफिकेसनमै लोकेसन हेर्ने वा कन्ट्याक्ट सेभ गर्ने जस्ता 'एक्सन बटन' थप्ने आदि ।
एन्ड्रोइड १५ र १६ मा यसले बैङ्कबाट आउने ओटीपी कोडहरू पहिचान गरी असुरक्षित एपहरूलाई त्यस्ता कोडहरू पढ्नबाट रोक्ने र लक स्क्रिनमा संवेदनशील जानकारी लुकाउने काम गर्छ । एन्ड्रोइड सिस्टम इन्टेलिजेन्सका केही सुविधाहरू गुगल पिक्सेल फोनमा मात्र सीमित भए पनि यसले समग्र एन्ड्रोइड अनुभवलाई सहज र सुरक्षित बनाउन ठुलो भूमिका खेलेको छ ।
यो एपले धेरै अनुमतिहरू (Permissions) माग्ने भएकाले प्रयोगकर्ताहरू डराउन सक्छन् । तर, यसको विशेषता के हो भने यससँग इन्टरनेटमा सिधै पहुँच हुँदैन ।
यसले मसिन लर्निङका लागि आवश्यक अपडेटहरू लिन 'प्राइभेट कम्प्युट सर्भिसेस' नामक सुरक्षित पुलको प्रयोग गर्छ । यसले गर्दा तपाईँको व्यक्तिगत डेटा फोनभन्दा बाहिर जाँदैन ।
धेरै प्रयोगकर्ताहरूले स्टोरेज वा ब्याट्री खपत कम गर्न यसलाई हटाउन चाहन्छन् । तर, यसलाई हटाउनु वा डिसेबल गर्नु उचित हुँदैन । यदि तपाईँले यसलाई बन्द गर्नुभयो भने माथि उल्लिखित सबै स्मार्ट सुविधाहरूले काम गर्न छोड्छन् ।
यसलाई सामान्य एप जस्तै अनइन्स्टल गर्न सकिँदैन; यसका लागि रुट वा विशेष कमान्डको आवश्यकता पर्छ । जुन फोनको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ ।
यदि तपाईँ आफ्नो डेटा नियन्त्रण गर्न चाहनुहुन्छ भने, फोनको सेटिङमा गएर Usage & Diagnostics बन्द गर्न सक्नुहुन्छ वा यसले जम्मा गरेको डेटालाई Clear Data मार्फत मेटाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १२:५९
