close

प्रेम प्रस्ताव अस्वीकार गर्ने युवतीलाई टिकटकमा अश्लील कमेन्ट गर्ने युवकविरुद्ध मुद्दा दायर

टेकपाना टेकपाना

माघ १०, २०८२ १६:१८

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक र ह्वाट्सएपमार्फत एक महिलालाई अश्लील मेसेज पठाएको र चरित्रहत्या गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर भएको छ । बिहीबार धादिङका २७ वर्षीय प्रदिप कुमालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरेको हो ।

अभियोग पत्रका अनुसार, कुमालले पीडित महिलाको टिकटक भिडिओमा ‘maila ch**** v*** ho yo’ भन्दै अश्लील कमेन्ट गरेका थिए । महिलाले त्यस्तो कमेन्ट नगर्न आग्रह गर्दा उल्टै ह्वाट्सएप र टिकटकमा अत्यन्तै तल्लो स्तरका गालीगलौज गर्ने, अंगभंग गर्ने धम्की दिने र पीडितको नग्न भिडिओ बनाइदिने भन्दै मानसिक यातना दिएको दाबी गरिएको छ ।

प्रहरीलाई दिएको बयानमा प्रतिवादी प्रदिप कुमालले कसुर स्वीकार गरेका छन् । उनले आफूले ती महिलालाई प्रेम प्रस्ताव राखेको तर महिलाले आफू विवाहित भएको भन्दै प्रस्ताव अस्वीकार गरेपछि रिसको झोँकमा सामाजिक सञ्जालमार्फत दुःख हैरानी दिएको बताएका छन् ।

सरकारी वकिल कार्यालयले कुमाललाई विद्युतीय कारोबार ऐनको दफा ४७ (१) बमोजिम कारबाही गर्न माग गरेको छ । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

यस्तै पीडितलाई पुगेको मानसिक चोटको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा शुल्क जम्मा गराउन समेत मागदाबी गरिएको छ ।

प्रहरीले कुमालको साथबाट बरामद भएको मोबाइल सेटलाई डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा अश्लील मेसेज र गतिविधि पुष्टि भएको प्राविधिक प्रतिवेदनलाई मुख्य प्रमाणका रूपमा पेस गरेको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १६:४३