गायक तथा सङ्गीतकार सुरेश अधिकारी भन्छन्ः एआईले उत्पादन गर्ने शब्द र सङ्गीत फेक होइनन्, कपी हुन्
माघ ११, २०८२ १३:३
टिकटकमा राखिएको एआई सिर्जित भिडिओबाट साभार गरिएको तस्बिर
चालिसको दशकदेखि नै नेपाली चलचित्रका गीतहरू रेकर्डिङका लागि बम्बई लान थालियो । नेपालमा रेकर्डिङ नै नहुने त होइन, तर बम्बईमा छिटो र क्वालिटी रेकर्डिङ हुन्थ्यो । त्यही भएर पनि प्रायः चलचित्रका गीतहरू रेकर्डिङ गर्न उतै गइन्थ्यो । पचासको दशकदेखि म पनि जान थालेँ ।
बम्बईमा मिश्राजी नामका प्रख्यात रेकर्डिस थिए । मिश्राजीको स्टुडियोमा प्रकाश मेहरा, यसराज चोपडा र राज कपुर जस्ता ठुला फिल्म निर्माता तथा निर्देशकहरूका फिल्मका लागि रेकर्डिङ हुन्थ्यो । उनको स्टुडियो निकै ठुलो थियो । त्यति बेलाका अत्याधुनिक र ठुला आकारका रेकर्डिङ कन्सोल र मिक्सिङ मसिनहरू राखिएका हुन्थे ।
ध्वनिलाई एम्प्लिफाई वा इक्वलाइजिङ गर्दा त्यहाँ भएका हजारौँ स्विचहरूलाई चलाउनुपर्ने हुन्थ्यो । एउटा ठुलो हवाईजहाजको क्याप्टेनले जस्तै कुशलतापूर्वक स्विचहरूलाई चलाउने काम मिश्राजीले गर्थे । त्यस समयमा उनको पछाडि काम सिक्ने र सघाउने आठ/दश जना असिस्टेन्ट रेकर्डिस्टहरू हुन्थे ।
लगभग दस वर्षपछि रेकर्डिङको लागि फेरि बम्बई पुग्दा भने माहोल परिवर्तन भएको थियो । रेकर्डिङमा नयाँ डिजिटल प्रविधिहरू भित्रिने क्रम बढिरहेको थियो । मिश्राजीका सबै असिस्टेन्टले आ-आफ्नै स्टुडियो खोलिसकेका थिए । तर, १० वर्ष पहिलेसम्म बम्बई फिल्म उद्योगले ‘उस्ताद’ मानेका मिश्राजी भने आफ्नै असिस्टेन्ट मध्ये कुनै एकको स्टुडियोमा असिस्टेन्ट बनेर काम गरिरहेका थिए ।
कारण एउटा मात्र थियो, मिश्राजीसँग नयाँ डिजिटल प्रविधिको ज्ञान भएन । समयसँगै अपडेट हुन नसक्दा मिश्राजीलाई समयले धेरै पछाडि धकेलिदियो । प्रविधिले मिश्राजीको वर्षौँको अनुभव र साधनालाई निकम्मा बनाइदियो ।
मिश्राजी त उदाहरण मात्र हुन् । नयाँ नयाँ प्रविधिको उदयसँगै साङ्गीतिक क्षेत्रमा केही न केही त असर परिरहेकै छन् । फरक यत्ति हो, कहिले प्रविधिले सकारात्मक असर गरेको छ त कहिले नकारात्मक ।
अब गायकहरूको कुरा गरौँ । पहिला पहिला गायकहरूको आवाजलाई वजनदार र सुरिलो बनाउन निकै साधना गर्नुपर्थ्यो । हामीले गीत गाउन सिक्ने बेलामा अहिले जस्तो माइकहरू हुँदैन थिए । रेकर्ड गरेर कस्तो आवाज छ सुन्न पाउने सुविधा पनि थिएन । पोखरी, पानीको मुहान, झरना र नदी किनारमा गएर ठुलो स्वरले गीत गाउन सिकिन्थ्यो । त्यहाँबाट प्रतिध्वनि भएका आफ्नै आवाज सुनिन्थ्यो । सुर मिलेन जा आवाज सानो आयो भनेर गुरुले कहिले हातमा भएको लोटा त कहिले चिम्टाले हान्नु हुन्थ्यो । मेला लाग्दा माइक बिना नै ठुलो आवाजले पूरै गाउँले सुन्न सक्ने गरि गाउन सकिन्थ्यो ।
पछि माइक आयो, गायकले ठुलो स्वरले गाउनै परेन । सानो स्वरले गाउने मानिसको पनि आवाज ठुलो सुनिन थाल्यो । साधना गर्ने गायकहरू पछाडि पर्न थाले । त्यसपछि त झन् अटोट्युन आयो, सुर र ताललाई पहिले जति धेरै मिलाउनै परेन । न सुरमा गाउने गायकहरूको स्वर साधनाको महत्त्व रह्यो, न सुर छुट्यान सक्ने सङ्गीतकारहरूको श्रवण शक्ति नै काम लाग्यो । खासमा अटोट्युनको विकास नभएको भए अहिलेका कतिपय चर्चित गायक र म्युजिक डाइरेक्टरहरू बेरोजगार हुन सक्थे । प्रविधिको विकासले अवस्था उल्टो गरायो । साधनाले खारिएका सङ्गीतकार र गायकहरूको खासै काम भएन ।
वाद्यवाधनमा पनि प्रविधिले फरक पारेको छ । पहिले हरेक बाजा कुशल वाद्यवादकहरू आफैँले बजाउनु पर्थ्यो । पछि आएर किबोर्डको विकास भयो । अचेल ड्रम, ग्रुप भायोलेन जस्ता धेरै बाजाहरू किबोर्डबाट नै बजाएर राखिन्छ । गीतमा प्रयोग हुने तबला, ढोलक, बाँसुरी, सारङ्गी जस्ता केही बाजाहरू मात्र कलाकार आफैँले बजाउँछन् । सबै बाजा बजाउनका लागि वाद्यवादक नै नचाहिएपछि जीवनभर साधना गरेका वाद्यवादकहरू कतिको रोजगारी गुम्यो होला ?
नेपाली सङ्गीतमा प्रविधिसँगै आएको परिवर्तन
हामी भन्दा अघिल्लो पुस्ताका गायकहरूले गाएका गीतहरू ग्रामोफोनमा सुन्ने चलन थियो । यो जो कोहीले राख्न सक्दैन थिए । त्यसैले रेकर्डेड गीतको आनन्द लिने सुविधा धनाढ्य घरनाहरूमा मात्र सीमित थियो ।
त्यसपछि क्यासेटको आगमन भयो । क्यासेट नेपालमा सङ्गीतको जमानाको स्वर्णिम युग नै मान्छु म । यही बेलामा नै नाति काजी, नारायण गोपाल, गोपाल योन्जनहरूले बजारमा पखेटा फिँजाए । शास्त्रीयदेखि आधुनिक गीतहरूसम्म श्रोताहरू माझ पपुलर भए ।
क्यासेटको जमाना सुरु हुँदाको पनि रमाइलो किस्सा छ । लेबनान जाने लाहुरेले दुई वटा क्यासेट प्लेयर किनेर ल्याउँथे । एउटा आफैँ बोकेर हिन्थे भने अर्को दोब्बर नाफा गरेर बेच्थे । क्यासेटमा गीत भर्दै मेलापात, काम काजमा जाँदा माहोल छुट्टै हुन्थ्यो । मानिसहरू क्यासेटमा आफ्नो आवाज रेकर्ड गरेर सुन्न पाउँदा दङ्ग पर्थे पनि ।
पछि चाइनाले सस्तो मूल्यमा नेपालमा क्यासेट प्लेयर बिक्री गर्न थाल्यो । काठमाडौँको सुन्धारा-रत्नपार्कमा एक दुई हजारमा क्यासेट प्लेयर पाउने भएपछि सर्वसाधारणको पहुँचमा पुग्यो । गाउँ-गाउँमा स्पिकरसहितका क्यासेट प्लेयरको फेसन सुरु भयो ।
क्यासेट प्लेयर गाउँमा पुगेपछि त्यसमा के बजाउने भन्दा ‘कन्टेन्ट’ खोज्न थालियो । अनि त्यही बेला उदाए, सयौँ नयाँ कलाकारहरू पनि । बिस्तारै मसँगै हाम्रो पुस्ताको कलाकारको पनि उदय हुन थाल्यो । चलचित्रका गीतहरू पनि चल्न थाले ।
५० को दशकको अन्त्यतिर नेपालमा १७/१८ हजार त क्यासेट पसल हुन थालेका थिए । व्यापारसँगै, डबिङ, पाइरेसी पनि बढिरहेको थियो । पसल पसलमा ‘फलानो गायकको गीत आएको छ ?’ भनेर खोजी हुन थाल्यो । यसरी हरेक दिन चर्चा हुँदा गायकसँगै सङ्गीतकार सेलिब्रेटी बन्न थाले । आधुनिक, चलचित्रदेखि पप गीतसम्म पपुलर हुने माहोल नेपालमा त्यही बेला भयो । ४७/४८ सालदेखि राजा वीरेन्द्रको सपरिवार सहित दरबार हत्याकाण्ड अघि सम्म यो माहोल धेरै भयो । ०५८ सालको दरबार हत्याकाण्डपछि देश र नेपाली मनोरञ्जन क्षेत्र सँगसँगै अँध्यारोमा धकेलियो । जनयुद्धले पनि सङ्गीत क्षेत्रलाई धेरै असर गर्यो ।
बिस्तारै प्रविधिले क्यासेटबाट सीडीतर्फ फड्को मार्यो । पहिला एक घण्टाको क्यासेटमा १२ ओटासम्म गीत अटाउँथे । सीडीमा वेब फाइलमा २०/३० ओटा र एमपी ३ मा एक सय ओटासम्म गीत अटाउन थाले । कलाकारहरूले पनि पाँच/छ ओटा गीतको एल्बम मात्र निकालेर पुगेन । आफ्ना नयाँ पूराना सबै गीतहरू एकै ठाउँमा राखेर धेरै गीतहरूसहितको सीडी निकाल्न थाले ।
बिस्तारै पेनड्राइभको विकास भयो । यसमा झनै धेरै स्टोरेज हुने भएकाले पाँच सय हजार ओटा गीतहरू एउटै पेनड्राइभका अटाउन थाले । त्यसैले वितरकहरूले धेरै जना कलाकारको गीतहरू एकै ठाउँमा राखेर समेत उपलब्ध गराउन थाले ।
अब त बजारमा गीत सङ्गीतको किनबेचको चलन नै हरायो । मेकानिकल मार्केट सक्किएर डिजिटल मार्केट सुरु भइसकेको छ । युट्युब, टिकटक, फेसबुकमा गीतहरू सर्वसुलभ पाइन्छन्, गीत सुन्नका लागि श्रोताहरूले पैसा तिरि राख्नु पर्दैन ।
सजिलै गीतहरू पाउँदा पहिला जस्तो कलाकारहरू ठुलो सेलिब्रेटी जस्तो व्यवहारको चलन पनि हराउँदै गएको छ । कुनै गीत सिर्जना गरेको वा गाएको कारणले मात्र मानिसहरूले कलाकारलाई चिन्न छाडेका छन् । जो कलाकार मेला, महोत्सवमा बढि सक्रिय छ, जो बढी स्क्यान्डलहरूमा परि रहन्छ, उनीहरू नै अहिलेको समयमा बढी चर्चित छन् ।
अचेल तपाईँ मोबाइलको एल्गोरिदमले जे दिन्छ, त्यही सुन्नु हुन्छ । जसरी बजारमा आँप किनेर खाँदा त्यो आँप फल्ने बोट चिनिरहने आवश्यकता पर्दैन, त्यसरी नै एल्गोरिदमले गीतहरू सजेस्ट गर्ने भएकाले कलाकारलाई चिनिरहनु पर्ने आवश्यकता पनि अचेल छैन । कुन गीत कसले सिर्जना गरेको हो, गाएको हो, नचिनेर पनि गीत सङ्गीतको मजा लिन सकिन्छ ।
एआईको जमाना
मैले सुरुमै भनिसकेँ कि प्रविधिको विकाससँगै सङ्गीत क्षेत्रमा असर परिरहेकै छ । पहिले प्रविधिको विकासले प्राविधिक र सङ्गीतकारहरूलाई असर पुर्याएको थियो । अहिले एआईको प्रयोगले गायकहरूलाई असर पुर्याउन थालेको छ ।
एआई अहिले केही सीमित व्यक्तिको पहुँचमा छैन । जुनसुकै व्यक्तिहरूले पनि एआईमा पहुँच बनाउन सक्छन् । त्यसैले यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण बनाएको छ ।
म सङ्गीतकार र गायक भएको हिसाबले मैले यसको सदुपयोग जति गर्न सक्छु, सङ्गीतमा त्यति जानकार नभएका व्यक्तिले यसको त्यति उपयोग गर्न सक्दैनन् । सिर्जना गर्नका लागि ज्ञान, कमान्डिङ गर्न सक्नु पर्यो । आफूसँग ज्ञान भयो भने आफैँले पनि राम्रो सिर्जना गर्न सकिन्छ, त्यसका लागि प्रविधिलाई पनि राम्रो कमान्डिङ गर्नुपर्छ ।
गीत सङ्गीत सबै एआईबाट बनाउने, गीत एआईबाट सङ्गीत आफ्नो वा सङ्गीत एआईबाट र गीत आफ्नो राख्ने र मानव निर्मित सिर्जनालाई एआईबाट नक्कल गरेर निकाल्ने गरेर अहिले विशेष गरी तीन किसिमले एआईको प्रयोग भइरहेको छ ।
तर एआई कुनै जीवित वा आवाज उत्पादन गर्ने साधन होइन । यसले कुनै एक सर्जकको ‘क’, अर्कोको ‘ल’ र अर्का सर्जकको ‘म’ लिएर कलम बनाउँछ । एआईले उत्पादन गर्ने शब्द र सङ्गीत फेक होइनन्, कपी हुन् ।
१५ सेकेन्डभन्दा कम सङ्गीतहरूलाई न्यायपूर्ण तरिकाले प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता छ । तर १५ सेकेन्डमा सङ्गीतको आत्मा नै कपी हुन थालेपछि यसलाई घटाउनुपर्ने कुरा आएको छ । पाँच सेकेन्डभन्दा कम मात्र प्रयोग गर्न दिनुपर्ने कुराहरू आएका छन् । तर एआईले त लाखौँ गीतहरूबाट मिलि सेकेन्ड कन्टेन्ट चोरिरहेको हुन्छ । त्यसैले अब मिलि सेकेन्डको पनि प्रयोग गर्न पाउने कि नपाउने भन्ने बहस सुरु भएको छ ।
कपीराइटको आधार भनेको बौद्धिक सम्पत्ति (इन्टलेक्चुअर प्रोपर्टी) मात्र हो । मानव मस्तिष्कबाट सिर्जित नवीनतम सिर्जना बौद्धिक सम्पत्ति हो । त्यसमा एआईलाई प्रम्प्ट दिएर त्यहाँबाट सिर्जना भएका सामाग्री पर्दैन ।
बाँसुरीको धुन भएपनि बाँसुरी छैन । किनभने उसले पुराना बाँसुरीका धुनहरूबाट सानो सानो टुक्राहरू चोरेर नयाँ सिर्जना बनाएको छ । कम्प्युटर प्रोगामिङबाट तयार भएका कुराहरू बौद्धिक सम्पत्ति होइनन् भने त्यस्ता सिर्जनाले कपीराइट पनि पाउनु हुँदैन भनेर संसारभरीका कलाकारहरूले माग उठाइरहेका छन् ।
तर कपीराइट नपाएपनि हामीले एआईलाई पूर्ण रूपमा अस्वीकार गर्न सक्दैनौँ । कतिपय ठाउँमा एआईकै सहयोग लिन सकिन्छ । प्रविधिको जति विकास भएपनि मानव मनलाई सदाबहार छुन सक्ने भनेको मानिसले नै बनाएको सङ्गीतले हो । त्यसैले हामीले आफ्नो कलालाई मर्न दिनु हुँदैन ।
(वरिष्ठ सङ्गीतकार तथा गायक सुरेश अधिकारी सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष समेत हुन् । टेकपानाका लागि रञ्जिता उप्रेतीले अधिकारीसँग गरेको कुराकानीको आधारमा यो लेख तयार पारिएको हो ।)
पछिल्लो अध्यावधिक: माघ ११, २०८२ १३:११
