डीजेआई ड्रोनले सगरमाथामा बोक्यो १०,००० किलो फोहोर लगायतको सामान, शिखरमाथि वैज्ञानिक अनुसन्धान
साउन १०, २०८३ १६:४०
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालाई फोहोरमुक्त बनाउन र पर्वतारोहणलाई सुरक्षित एवं प्रविधिमैत्री बनाउन अत्याधुनिक ड्रोन प्रविधिको प्रयोगमा ऐतिहासिक सफलता मिलेको छ । विश्वकै अग्रणी ड्रोन निर्माता कम्पनी डीजेआईले यस वर्षको वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा क्षेत्रमा तीनवटा ठुला र महत्वपूर्ण ड्रोन मिसनहरू सफलतापूर्वक सम्पन्न गरेको हो ।
यसअन्तर्गत भारी वजन बोक्न सक्ने डेलिभरी ड्रोन डीजेआई फ्लाइकार्ट १०० ले आधार शिविर र क्याम्प १ बीच १० हजार केजीभन्दा बढी फोहोर र पर्वतारोहण सामग्री ओसारपसार गरी नयाँ कीर्तिमान कायम गरेको छ । एयरलिफ्टका सीईओ राजविक्रम महर्जनका अनुसार यो तथ्याङ्क हालै १ महिना (अप्रिल-मे) अवधिको मात्रै हो ।
अर्कोतर्फ, सगरमाथाको उत्तरी मोहडाबाट उडेको डीजेआईको पहिलो ईभीटोल ड्रोन डीजेआई ईभी-५० (DJI EV50) ले ८,८६१ मिटरको ऐतिहासिक उचाइमा पुगेर महत्त्वपूर्ण वैज्ञानिक अनुसन्धान सम्पन्न गरेको छ ।
सगरमाथा क्षेत्रमा लामो समयदेखि फोहोरको गम्भीर समस्या रहँदै आएको छ । दशकौंदेखिका आरोहण अभियानहरूका कारण सगरमाथामा फालिएका अक्सिजन सिलिन्डर, पाल, खानेकुराका प्याकेट र प्लास्टिकजन्य फोहोर यति धैरे थुप्रिएका छन् कि यसलाई विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको फोहोरको थुप्रो समेत भन्न थालिएको छ ।
नेसनल जियोग्राफिकका अनुसार सगरमाथा चढ्ने प्रति पर्वतारोहीले सरदर ८ केजी फोहोर उत्पादन गर्छन्, जसको अधिकांश हिस्सा हिमालमै छोड्ने गरिन्छ । हरेक सिजनमा ६०० भन्दा बढी आरोही र उनीहरूका सहयोगी गाइडहरू सगरमाथा पुग्दा यो समस्या झनै भयावह बन्दै गएको छ ।
यही समस्याको दीर्घकालीन र सुरक्षित समाधानका लागि डीजेआईले नेपालको स्थानीय ड्रोन सेवा प्रदायक कम्पनी एयरलिफ्टसँग सहकार्य गर्दै ऐतिहासिक कदम चालेको हो । यस सिजनमा डीजेआई फ्लाइकार्ट १०० ड्रोनले आधार शिविर र क्याम्प १ को बीचमा कूल १०,०७३ केजी सामग्री ओसारपसार गरेको छ । जसमध्ये ७,२१५ केजी पर्वतारोहण सामग्री (जस्तै अक्सिजन सिलिन्डर, डोरी र भर्याङहरू) माथि क्याम्प १ मा पुर्याइएको थियो भने क्याम्प १ मा थुप्रिएको २,८५८ केजी फोहोर सफलतापूर्वक तल आधार शिविरमा झारिएको छ ।

यो प्रविधिको सबैभन्दा ठुलो फाइदा पर्वतारोही र सहयोगी शेर्पाहरूको सुरक्षासँग जोडिएको छ । सामान्यतया, आधार शिविरबाट खुम्बु आइसफल हुँदै क्याम्प १ सम्म सामग्री ओसारपसार गर्न शेर्पाहरूले ६ देखि ८ घण्टासम्मको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने हुन्छ । खुम्बु आइसफल निरन्तर खसिरहने बरफका ढिस्का र गहिरा खोँचहरूका कारण सगरमाथा आरोहणको सबैभन्दा खतरनाक खण्ड मानिन्छ । तर, डीजेआई फ्लाइकार्ट १०० ले सोही दूरी केवल ८ मिनेटमा सुरक्षित रूपमा पार गरेर पर्वतारोही र शेर्पाहरूको ज्यान जोखिममा पर्नबाट जोगाएको छ ।
समुद्री सतहमा १०० केजीसम्म भार वहन गर्न सक्ने यो ड्रोनले ६,३०० मिटरभन्दा बढीको उचाइमा, -१५ डिग्री सेल्सियसदेखि ५ डिग्री सेल्सियससम्मको अत्यधिक चिसो र प्रतिकूल मौसममा ४७ केजीसम्मको वजन सजिलै बोक्न सफल भएको छ । आगामी दिनहरूमा यो ड्रोनले हरेक सिजनमा हाई क्याम्पहरूबाट करिब १०,००० केजी फोहोर संकलन गर्ने लक्ष्य राखेको छ ।
यो अभियान नेपाल पर्वतारोहण सङ्घको शून्य फोहोर अभियान २०२७ (Zero Waste Initiative 2027) सँग प्रत्यक्ष जोडिएको छ । यसका साथै आगामी दिनमा हरेक सिजनमा आधार शिविर र क्याम्प १ बीच ५,००० वटा अक्सिजन सिलिन्डर ओसारपसार गर्ने नेपाली पर्वतारोहण समुदायको लक्ष्यलाई पनि यो ड्रोनले पूर्ण रूपमा सहयोग गर्नेछ ।
यस ऐतिहासिक उपलब्धिको बारेमा बोल्दै डीजेआई की प्रवक्ता क्रिस्टिना झाङले भनेकी छिन्, "हाम्रो टोली सगरमाथालाई विश्वभरका शेर्पा र पर्वतारोहीहरूका लागि सुरक्षित र सफा बनाउन प्रतिबद्ध छ । यो सफलता एक गर्विलो कोशेढुङ्गा हो र वैज्ञानिक समुदायसँगको हाम्रो सहकार्यले ड्रोन प्रविधिलाई अझ अगाडि बढाउँदै जीवन बचाउन र विश्वभरको वातावरण संरक्षणमा योगदान पुग्ने आशा लिएका छौं ।"
खुम्बु आइसफलको नक्साङ्कन
सगरमाथा क्षेत्रमा डीजेआईको यो पहिलो उडान भने होइन । यसअघि सन् २०२२ मा डीजेआई माभिक ३ ले सगरमाथाको ८,८४८.८६ मिटरको शिखरबाट पहिलो पटक भिडिओ खिचेर विश्वलाई चकित पारेको थियो भने २०२४ मा फ्लाइकार्ट ३० मार्फत विश्वमै पहिलो पटक ड्रोन डेलिभरी परीक्षण गरिएको थियो ।

तर, यस वर्ष (२०२६) को मिसन त्योभन्दा धेरै गुणा व्यापक बनेको छ । डेलिभरीका अतिरिक्त डीजेआई म्याट्रस ४-ई (DJI Matrice 4E) ड्रोनले मात्र ३.५ घण्टामा खुम्बु आइसफलको ३ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रको सेन्टिमिटर-स्तरको विस्तृत म्यापिङ (नक्साङ्कन) गरेको छ । यसले पर्वतारोही टोलीहरूलाई रियल-टाइमको वातावरणीय खतरा र मार्ग परिवर्तनको जानकारी दिएर सुरक्षित यात्रा तय गर्न मद्दत गर्नेछ ।
त्यसैगरी, सगरमाथाको उत्तरी मोहडा (तिब्बततर्फ) डीजेआईको पहिलो ईभीटोल डेलिभरी ड्रोन डीजेआई ईभी-५० (DJI EV50) ले ऐतिहासिक वैज्ञानिक अनुसन्धान सम्पन्न गरेको छ । मल्टी-रोटरको ठाडो उडान र अवतरण (भीटोल) को सुगमता तथा स्थिर-पखेटा (Fixed-wing) भएको विमानको जस्तो द्रुत गति र लामो दूरीको उडान क्षमताको समिश्रण रहेको यो हाइब्रिड ड्रोनले ५,२०० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट उडान भरेको थियो ।
वायुमण्डलीय अनुसन्धानका लागि ओजोन मापन गर्ने अत्याधुनिक उपकरणहरू बोकेको डीजेआई ईभी-५० ड्रोनले तीव्र वायु र न्यून वायुमण्डलीय घनत्वको सामना गर्दै ८,८६१ मिटरको उचाइसम्म पुगेर तथ्याङ्क सङ्कलन गरेको थियो । जुन सगरमाथाको शिखरभन्दा पनि बढी उचाइ हो ।
यो वैज्ञानिक अभियान चीनको दोस्रो तिब्बत पठार वैज्ञानिक अनुसन्धान तथा अध्ययन (STEP) कार्यालय र पेकिङ विश्वविद्यालयका प्राज्ञ जु टोङको टोलीसँगको संयुक्त सहकार्यमा सम्पन्न भएको हो । सन् २००१ मा जु टोङले पहिलो पटक सगरमाथा क्षेत्रको हिमनदीको हावाले भुइँ सतहमा अत्यधिक ओजोन ल्याउने कुरा पत्ता लगाएका थिए ।

सन् २०२२ मा पहिलो पटक हेलिकोप्टर प्रयोग गरी विभिन्न उचाइमा ओजोन मापन गरिएकोमा, यस वर्ष डीजेआई ईभी-५० ड्रोनको प्रयोगले वैज्ञानिकहरूलाई सगरमाथाको उच्च वायुमण्डलमा ओजोनको स्थानान्तरण र यसको प्रभावको अझ सूक्ष्म र थ्रिडी (Three-dimensional) तथ्याङ्क सङ्कलन गर्न मद्दत गरेको छ ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिने क्रम बढ्दा सगरमाथामा वर्षौंदेखि पुरिएका पुराना फोहोरहरू सतहमा आउन थालेका छन् । सगरमाथाको भिडभाड र वर्षौंदेखिको फोहोर व्यवस्थापनका चुनौतीहरू अझै बाँकी नै छन् । तर, शेर्पाहरूले ज्यान जोखिममा राखेर गर्ने दिनभरको कठिन कार्यलाई अत्याधुनिक ड्रोन प्रविधिले मात्र केही मिनेटमै सम्पन्न गरिदिएपछि यस क्षेत्रको सरसफाइ र पर्वतारोहणको इतिहासमा एउटा नयाँ र प्रविधिमैत्री युगको सुखद सुरुआत भएको छ ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १७:९
