close

मेटा स्मार्ट ग्लासबाट प्र्याङ्कका नाममा खिचिने दुर्व्यवहारजन्य भिडिओ इन्स्टाग्रामले प्रतिबन्ध लगाउने

टेकपाना टेकपाना

साउन १०, २०८३ १७:३३

मेटा स्मार्ट ग्लासबाट प्र्याङ्कका नाममा खिचिने दुर्व्यवहारजन्य भिडिओ इन्स्टाग्रामले प्रतिबन्ध लगाउने

काठमाडौं । सार्वजनिक स्थानमा अपरिचित व्यक्तिलाई लक्षित गरी ‘मेटा स्मार्ट ग्लास’ बाट खिचिएका दुर्व्यवहारजन्य तथा आपत्तिजनक ‘प्र्याङ्क’ भिडिओमाथि इन्स्टाग्रामले कडाइ गर्न थालेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोजेरीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत अबदेखि यस्ता भिडिओ सामग्री प्लेटफर्ममा प्रतिबन्धित हुने जानकारी दिएका हुन् । 

गत हप्ता प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफमा मोजेरीले इन्स्टाग्रामको नीतिबारे स्पष्ट पार्दै भने, “यदि तपाईं कसैको फाइदा उठाएर वा उसलाई सताएर भिडिओ पोस्ट गर्दै हुनुहुन्छ भने- जस्तै हामीले देख्दै र सुन्दै आएका ‘पिकअप लाइन’ (महिलालाई फकाउन प्रयोग गरिने संवाद) सम्बन्धी भिडिओ - हामी त्यस्ता सामग्री हटाउनेछौँ ।”

मोजेरीले अगाडि थपे, “हाम्रो प्लेटफर्ममा कसैले पनि लुकिछिपी अरूको भिडिओ खिचेर उनीहरूलाई दुःख दिने र त्यसलाई पोस्ट गर्ने कार्य नगरुन् भन्ने हाम्रो चाहना छ । हामी यसलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छौँ ।”

पछिल्लो समय टिकटक र इन्स्टाग्राम रिल्समा मेटा चस्मा लगाएर सेवा क्षेत्रका कर्मचारी (जस्तै: क्यासियर वा फास्टफुड कामदार) लाई जिस्काउने वा प्र्याङ्क गर्ने भिडिओको संख्या बढ्दो छ । यस्ता कतिपय प्र्याङ्क दुर्व्यवहारको सीमासम्म पुग्ने र अभद्र हुने गरेका छन् । उदाहरणका लागि वालमार्ट जस्ता स्टोरमा मैनबत्तीमा दुर्गन्धित स्प्रे छर्केर त्यहाँका कर्मचारीलाई सुँघ्न लगाउने जस्ता गतिविधि यस्ता भिडियोमा देखिने गरेका छन् ।

यसैगरी अर्को आपत्तिजनक शैली ‘पिक-अप आर्टिस्ट’ (महिलालाई आकर्षित गर्न खोज्ने व्यक्ति) को रहेको छ । उनीहरूले मेटा चश्माको प्रयोग गरी जिम वा सडकमा महिलालाई पछ्याउँदै उनीहरूको जानकारी बिना भिडिओ खिच्ने गरेका छन् । यस्ता संवादहरू कतिपय अवस्थामा सामान्य देखिए तापनि सुरुमा आफूहरू भिडिओमा कैद भइरहेको कुरा ती महिलालाई थाहा नहुँदा असहज परिस्थिति सिर्जना हुने गरेको छ ।

नेपालमा भने हाल राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद् रहेकी आशिका तामाङले आफू अभियन्ता हुँदाको समयमा मेटा चस्माबाट खिचेका भिडिओका कारण विवादित थिइन् । खासगरी शनिबारको दिन यात्रा गरिरहेको भेटिने सरकारी सवारी साधन र फोहोर गरेको भेटिने यात्रुको भिडिओ उनी चश्माबाटै खिचेर सामाजिक सञ्जालमा राख्ने गर्थिन् । पशुपति क्षेत्रमा प्रहरीलाई तमाङले दुर्व्यवहार गरेको भिडिओ विवादित भएको थियो । त्यही भिडिओका कारण उनी पक्राउ समेत परेकी थिइन् ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १९:२४