युट्युबबाट बैङ्क कर्मचारीलाई धम्की दिने दुर्गा प्रसाईं निकट सङ्ग्रौला साइबर ब्युरोको अनुसन्धानमा
माघ ११, २०८२ १७:२७
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी विरुद्ध आपत्तिजनक र हिंसा भड्काउने अभिव्यक्ति दिएको अभियोगमा ‘नागरिक बचाउ महा-अभियान’ का एक अभियन्तालाई प्रहरीले सोधपुछ गरी चेतावनी दिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ घर भएका ४४ वर्षीय देवीप्रसाद सङ्ग्रौलाले सामाजिक सञ्जाल र युट्युब च्यानलमार्फत बैङ्कका कर्मचारीलाई कुटपिट गर्ने तथा ‘भण्डारखाल पर्व’ जस्तो हिंसात्मक काण्ड मच्चाउनुपर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । सङ्ग्रौला दुर्गा प्रसाईंले नेतृत्व गरेको महा-अभियान अन्तर्गतको ऋणी एसोसिएसनका केन्द्रीय संयोजक समेत हुन् ।
विभिन्न युट्युब च्यानलबाट सार्वजनिक भएका उनका अभिव्यक्तिले सार्वजनिक नैतिकता र शिष्टाचारको उल्लङ्घन गरेको भन्दै प्रहरीको साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गरेको हो ।
सोधपुछका क्रममा सङ्ग्रौलाले आफ्नो गल्ती स्वीकार गर्दै लिखित रूपमा माफी मागेका छन् । उनले भनेका छन्, “कानुनी राज्यमा कानुनको उल्लङ्घन गरी बैङ्कका विरुद्ध बोल्नु मेरो गल्ती हो । अबका दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्नेछु र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति दिने छैन ।” उनले एक पटकका लागि नेपाल सरकारसँग क्षमा याचना गर्दै लिखित कागजसमेत गरेका छन् ।
ब्युरोका अनुसार सङ्ग्रौलामाथि थप अनुसन्धान जारी छ । साथै, प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा कानुन विपरीतका सामग्री र अभिव्यक्ति दिनेमाथि कडा निगरानी भइरहेको जनाएको छ । साइबर ब्युरोले एक विज्ञप्ति जारी गर्दै कसैले पनि सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने वा हिंसा भड्काउने गतिविधि गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ११, २०८२ १७:२७
