close

फ्याक्टचेक: केपी ओलीले चुरोट तानेको भन्दै भाइरल भइरहेको फोटो ‘एडिटेड’

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ १३, २०८२ २१:५२

फ्याक्टचेक: केपी ओलीले चुरोट तानेको भन्दै भाइरल भइरहेको फोटो ‘एडिटेड’

काठमाडौँ । सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीले चुरोट तानेको जस्तो देखिने फोटो भाइरल भइरहेको छ । पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीसँगै फोटोमा देखिएका ओलीले चुरोट तानिरहेको देखिन्छन् । टेकपानाको तथ्यजाँचबाट भाइरल भइरहेको ओलीले चुरोट तानेको उक्त फोटो एडिटेड (सम्पादित) रहेको पुष्टि भएको छ ।

दाबी 

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले मंगलबार (२७ जनवरी) बिहान १०:५९ मा केपी ओलीले मुखमा चुरोट लिए जस्तो देखिने एक पोस्ट सार्वजनिक गरेका छन् । उक्त पोस्टमा उपाध्यायले लेखेका छन्, “सूर्ति चुरोट गॉजा भॉङ जॉड कहिल्यै नखाने मान्छे !”

उपाध्यायले सार्वजनिक गरेको ओली र स्व. अधिकारी कुर्सीमा बसेको देखिएका छन् । दुवै जनाको हातमा केही कागजात छ, दुवैले चस्मा र ढाका टोपी लगाएका छन् । ओली भने मुख नजिकै हत्केला लगिरहेको र मुखमा चुरोट लिइरहेको देखिन्छन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २४ हजारभन्दा बढी रियाक्सन, दुई हजारभन्दा बढी कमेन्ट र ११ सयभन्दा धेरै पटक शेयर भएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

अनुसन्धान 

‘MEME NEPAL’ नामको फेसबुक पेजले पनि मंगलबार बिहान ११:१३ मा उक्त तस्बिर पोस्ट गरेको छ । पोस्टमा यो सामग्री तयार पार्दासम्म २५ सय बढी लाइक छ भने ९५ कमेन्ट र ९६ शेयर गरिएको छ । मिम नेपालले स्टाटसमा लेखेको छ, “सूर्ति चुरोट गॉजा भॉङ जॉड कहिल्यै नखाने मान्छे !” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

केपी शर्मा ओलीले चुरोट खाएको दाबीसहित सामाजिक सञ्जालमा कयौँ तस्बिरहरू सार्वजनिक भएका छन् । 

‘Dr Govinda KC’ नामको फेसबुक पेजबाट पनि ओलीले चुरोट खाएजस्तो देखिने तस्बिर शेयर भएको छ । मंगलबार दिउँसो ३:३३ मा सार्वजनिक गरेको पोस्टमा लेखिएको छ,  “म चुरोट पिउदिन, सुर्ती खान्न “ : केपी शर्मा ओली” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता ‘🙏 के ! शव श्रेष्ठ™️🇳🇵’ ले पनि मंगरबार (२७ जनवरी) बिहान ११:२७ मा उक्त तस्बिर सहितको पोस्ट सार्वजनिक गरेका छन् । उक्त पोस्टमा लेखिएको छ, “खान्न म त लाम्पाते सुरति लाउँ कि नलाउँ ज्यान जाने पिरती । । । चैट चैट चैट ....🙃🙂” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

केपी ओलिले चुरोट तानेको जस्तो देखिने कयौँ तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएको पाइयो । हेर्नुहोस् एउटै दाबीसहित फेसबुकमा सार्वजिनक गरिएका कयौँ पोस्टहरूको स्क्रिनरेकर्ड । 

एकातर्फ ओलीले चुरोट खाएको जस्तो तस्बिर सार्वजनिक भइरहँदा मनमोहन अधिकारी र केपी ओलीसँगैको अर्को तस्बिर समेत भाइरल भइरहेको छ । उक्त तस्बिरमा भने ओली हातले केही खान लागेको जस्तो देखिएका छन् । तर माथि उल्लेख गरिएका भाइरल पोस्टहरूमा राखिएको फोटोमा जस्तो ओलीको मुखमा चुरोट भने छैन ।

कमेडियन हिमेश पन्तले २७ जनवरी १:३३ मा उक्त फोटो शेयर गरेका छन् । फोटोको स्टाटसमा उनले लेखेका छन्, “यो फोटो पुरानो हो, तर बिचको व्यक्ति हेर्दा लाग्छ : देशको भविष्य होइन, कुन कुन सुर्ती “strong” छ भनेर taste हुँदैछ।” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

 

सामाजिक सञ्जालमा देखिएका यी दुई तस्बिरमा मनमोहन अधिकारी बसेको तरिका समान देखिएको छ । तर केपी शर्मा ओलीको भने फरक देखिएको छ । त्यसपछि हामीले हिमेश पन्तले शेयर गरेको तस्बिरलाई गुगल रिभर्स सर्चमा राखेर खोज्यौँ । 

खोज्ने क्रममा उक्त तस्बिर हिमाल खबरमा प्रकाशित आर्टिकलमा उक्त फोटो समावेश भएको फेला पर्‍यो । यो फोटो एमाले नेता केशव बडालसँग कुराकानी गरेको आधारमा हिमाल खबरले प्रकाशन गरेको ‘गाउँमा विकास पुर्‍याउने प्रधानमन्त्री’ शीर्षकको सामग्रीमा समावेश भएको फेला पर्‍यो । १५ असार २०७८ मा उक्त सामग्री प्रकाशित भएको छ । लेखमा यो फोटो राख्दै क्याप्सनमा लेखिएको छ, “एमाले पार्टी कार्यालय बल्खुमा मनमोहन अधिकारी, साथमा प्रधानमन्त्री केपी शर्मा ओली (बीचमा) र केशव बडाल । तस्वीरः विकास रौनियार” ।‍ पढ्नुहोस् हिमालखबरको समाचार र तल स्क्रिनशट । 

 

त्यसपछि हामीले ओलीले चुरोट खाइरहेको जस्तो देखिने हाल भाइरल भइरहेको तस्बिरलाई हिमाल खबरमा प्रकाशित तस्बिरसँग तुलना गर्‍यौँ । यसक्रममा हाल चुरोट खाएको जस्तो देखिने तस्बिर एडिट गरेर तयार गरिएको जस्तो देखियो ।  

हामीले उक्त फोटोलाई इमेजह्विस्परर राखेर जाँच गर्‍यौँ । जाँच गर्दा फोटोलाई एडिटिङ तथा म्यानिपुलेसन गरेको भेटिएको निष्कर्ष निस्कियो । यो फोटो तयार पार्न अन्य तस्बिरहरू ल्याएर जोडिएको निष्कर्ष इमेजह्विस्पररले निकालेको छ । 


हामीले हिमालखबरको फोटोमा मनमोहन अधिकारी र केपी शर्मा ओलीसँगै देखिएका केशव बडालसँग समेत कुराकानी गर्‍यौँ । एमाले नेता बडालले हाल केपी शर्मा ओलीले चुरोट नखाने दाबी गरे । उनले भने, “उहाँले १५/२० वर्ष पहिला कहिलेकाहीँ तानेको चाहिँ देखेको हो । लत नै चाहिँ कहिल्यै थिएन । अहिले त खाँदै खानु हुन्न ।”

उक्त तस्बिरमा केपी शर्मा ओलीले खैनी खाएको हो वा होइन भन्ने विषयमा भने आफूलाई याद नरहेको उनले टेकपाना तथ्यजाँच डेस्कसँग बताए । “म मनमोहन अधिकारीसँग नजिक थिएँ । उहाँका केही कार्यक्रमहरू पर्‍यो र बोलाइयो भने उपस्थित हुन्थेँ । केपी ओली पनि एमालेकै नेता भएकाले भेट भइरहन्थ्यो । त्यो फोटो कुन सन्दर्भमा खिचिएको थियो पनि याद छैन । त्यो फोटो कम्तीमा पनि २६ वर्ष पुरानो हो,” बडालले भने । 

दाबी 

केपी शर्मा ओलीले चुरोट ताने । 

दाबीकर्ता 

भीम उपाध्याय, फेसबुक पेज ‘MEME NEPAL’, ‘Dr Govinda KC’, एक्स अकाउन्ट ‘के ! शव श्रेष्ठ’ लगायतका कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

केपी शर्मा ओलीले चुरोट खाएको जस्तो देखिने तस्बिर एडिटेड हो । कम्तीमा पनि २६ वर्ष पहिला खिचिएको तस्बिरमा केपी शर्मा ओली केही खाइरहेको जस्तो देखिएका छन् । कतिपयले ओलीले सुर्ती खाइरहेको भनेर व्याख्या गरे पनि के खाएको हो भन्ने स्पष्ट छैन । एमाले पार्टी कार्यालय बल्खुअगाडि मनमोहन अधिकारीसँगै केपी शर्मा ओली र केशव बडालको खिचिएको वास्तविक तस्बिरलाई एडिट गरेर चुरोट खाएजस्तै बनाई भाइरल गरिएको हो ।

निष्कर्ष

सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट तानिरहेको दाबीका साथ भाइरल भइरहेको तस्बिर भ्रामक हो । हिमालखबरमा १५ असार २०७८ मा सार्वजनिक तस्बिरलाई एडिट गरेर ओलीले चुरोट खाएको जस्तो देखिने गरी भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ २२:१९