३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न, यसरी हेर्नुहोस् आफ्नो क्षेत्रको नमुना
माघ २५, २०८२ २१:३९
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार हालसम्म कुल एक करोड नौ लाख ६३ हजार थान मतपत्र छापिएका छन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारी अनुसार मतपत्र छपाइ सकिएका जिल्लाहरूमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर रहेका छन् ।
त्यसैगरी पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पनि छपाइ सकिएको छ । छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू प्याकिङ समेत भइसकेको आयोगले जनाएको छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा २२ पुसदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको थियो । यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । मतदाता शिक्षाका लागि आयोगले पहिलो चरणमा करिब ११ लाख नमुना मतपत्र छपाइ गरी जिल्ला-जिल्लामा पठाइसकेको छ ।
यसरी हेर्नुहोस् आफ्नो क्षेत्रको मतपत्र:
१. निर्वाचन आयोगको आधिकारिक वेबसाइट election.gov.np मा जानुहोस् ।
२. मेनुमा रहेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ मा क्लिक गर्नुहोस् ।
३. त्यहाँ रहेको ‘वास्तविक मतपत्रको नमुना’ विकल्प छनोट गर्नुहोस् ।
४. वा सिधै यो लिङ्कमा गएर आफ्नो जिल्ला र क्षेत्रको मतपत्र उपलब्ध छ भने डाउनलोड गरी हेर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ २२:९
