म बढीमा ३ वर्ष मात्रै मन्त्री बन्छु, नयाँ पुस्ताका लागि बलियो जग बसालेर छोड्छु: मन्त्री पुन
जेठ २६, २०८३ १८:२२
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू मन्त्री पदमा धेरै समय नबस्ने घोषणा गरेका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पुनले करिब पाँच वर्षको कार्यकालमध्ये आफूले बढीमा तीन वर्ष मात्र जिम्मेवारी सम्हाल्ने स्पष्ट पारेका हुन् ।
नयाँ मन्त्रालय भएकाले सबै काम शून्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले भने, “यो नयाँ मन्त्रालय भएको हुनाले अब यसको लागि ओएनएम गरेर कसरी, के, कति गर्ने भन्ने कुराहरू सबै जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । त्यसैले यहाँ बिस्तारै गरौँ भन्ने होइन, द्रुत गतिमा रातदिन काम गरेर अगाडि बढ्ने हो ।”
उनले अगाडि भने, “म यो पदमा धेरै बस्दिनँ । मैले जे-जति गर्न सकिन्छ, सकेसम्म रातदिन काम गरेर पाँच वर्षको यो सरकारमा म बढीमा ३ वर्ष बस्ने हो । यो मन्त्री भएर खाने होइन ।”
आफूले तीन वर्षको अवधिमा विज्ञान र प्रविधिको क्षेत्रमा बलियो आधार तयार पार्ने र त्यसपछि नयाँ नेतृत्वलाई बाटो छोडिदिने उनको योजना छ । उनले भने, “यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइबहिनीहरूलाई, नयाँ युवा नेताहरूलाई एउटा राम्रो जग बसालेर, बलियो फाउन्डेसन बसालेर छोड्ने हो । भिजन त ५० वर्षमा पनि सकिँदैन, तर अहिले हामीले गर्ने भनेको जग बसाल्ने हो । नेपालमा विज्ञान प्रविधिको विकासका लागि जग बसेकै छैन ।”
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १८:२७
