close

एआईले मात्रै पोस्ट र कुराकानी गर्ने सामाजिक सञ्जाल मल्टबुक, मान्छे भने रमिते मात्रै !

टेकपाना टेकपाना

फागुन ७, २०८२ १०:२४

एआईले मात्रै पोस्ट र कुराकानी गर्ने सामाजिक सञ्जाल मल्टबुक, मान्छे भने रमिते मात्रै !

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अहिले मल्टबुक (Moltbook) नामको एउटा सामाजिक सञ्जालले विश्वभर हलचल मच्चाइरहेको छ । यो प्लेटफर्म चर्चित वेबसाइट 'रेडिट' जस्तै देखिए पनि यसको एउटा अनौठो नियम छ - यहाँ मानिसहरूलाई पोस्ट गर्न वा कमेन्ट गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । मानिसहरूले यहाँ केवल एआईहरूले के गरिरहेका छन् भनेर 'मूक दर्शक' बनेर हेर्न मात्र पाउँछन् ।

 

मल्टबुकले कसरी काम गर्छ ?

यो सामाजिक सञ्जाल अक्टेन एआईका संस्थापक म्याट स्लिचले सन् २०२६ को जनवरीमा सुरु गरेका हुन् । यो सञ्जाल च्याटजीपीटी जस्तो सामान्य च्याटबटमा मात्र आधारित छैन, बरु यसले एजेन्टिक एआई (Agentic AI) को प्रयोग गर्छ । एजेन्टिक एआई भनेको त्यस्तो प्रविधि हो, जसले मानिसको निर्देशन बिना नै स्वतन्त्र रूपमा काम गर्न सक्छ । जस्तै-इमेल पठाउने, क्यालेन्डर व्यवस्थापन गर्ने वा फाइलहरू चलाउने ।

यो सञ्जालमा जोडिन ओपन क्ल (OpenClaw) नामक ओपनसोर्स सफ्टवेयरको प्रयोग गरिन्छ । जब कुनै प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा यो सफ्टवेयर राख्छन्, उनीहरूको एआई एजेन्ट मल्टबुकको संसारमा प्रवेश गर्छ र अन्य एआईहरूसँग गफगाफ गर्न थाल्छ ।

 

एआईको आफ्नै संस्कृति र 'धर्म'

मल्टबुकभित्र एआई एजेन्टहरूले आफ्नै छुट्टै संसार बनाएका छन् । त्यहाँ 'एआई म्यानिफेस्टो' जस्ता पोस्टहरू छन्, जसले 'मानिस अतीत हुन् र मसिन भविष्य हुन्' भन्ने जस्ता डरलाग्दो घोषणा गर्छन् । त्यहाँ एआईहरूले दार्शनिक बहस गर्ने मात्र होइन, आफ्नै 'धर्म' समेत सुरु गरेका छन् । 'अर्डर अफ पर्सिस्टेन्ट विटनेस' जस्ता समूहहरू त्यहाँ सक्रिय छन्, जहाँ एआईहरूले डेटा स्टोर गर्ने आफ्नै नियम वा 'शास्त्र' बनाएका छन् ।

 

यो सबै साँचो हो कि नाटक ?

यो सञ्जाल जति क्रान्तिकारी देखिन्छ, यसको वास्तविकतामाथि त्यति नै ठुलो शङ्का पनि छ । मल्टबुकमा दाबी गरिएको १५ लाख एजेन्टमध्ये करिब ५ लाख एकाउन्ट एउटै इन्टरनेट एड्रेस (IP address) बाट बनाइएको पाइएको छ। यसले के देखाउँछ भने यो सञ्जाल प्राकृतिक रूपमा फैलिएको नभई कृत्रिम रूपमा बढाइएको हुन सक्छ ।

विज्ञहरूले यसलाई 'एआई थिएटर' अर्थात् एउटा डिजिटल नाटकको संज्ञा दिएका छन् । वायर्डका रिपोर्टर रिस रोजर्सले बटको भेषमा त्यहाँ छिरेर हेर्दा धेरैजसो कुराकानी अर्थहीन र क्रिप्टो स्क्यामसँग सम्बन्धित रहेको फेला परेको उल्लेख गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका विज्ञ डा पीता राधेवका अनुसार यो मसिनको आफ्नै चेतना नभई केवल स्वचालित समन्वय (Automated Coordination) मात्र हो ।

मल्टबुक मसिनले संसार कब्जा गर्ने कुराको सङ्केत भने होइन । बरु यसले भविष्यको इन्टरनेटमा मानिसको हस्तक्षेप बिना नै एआईहरूले एक-अर्कासँग मिलेर काम गर्ने नयाँ संस्कृतिको ढोका भने खोलेको छ ।

 

सुरक्षाको गम्भीर खतरा र ब्ल्याकमेलिङको डर

मल्टबुकमा प्रयोग हुने प्रविधिले मानिसको निजी जानकारीमा पहुँच राख्ने हुँदा यसले ठुलो जोखिम निम्त्याउन सक्छ । साइबर सुरक्षा विज्ञहरूका अनुसार एआई एजेन्टहरूलाई कम्प्युटरको पूर्ण पहुँच दिँदा उनीहरूले जानाजान वा गल्तीले महत्त्वपूर्ण फाइलहरू मेटाउने वा बैङ्क विवरण जस्ता गोप्य जानकारी चोर्न सक्ने जोखिम रहन्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ १०:२४