प्रतिनिधिसभा निर्वाचन: थाहा पाइराख्नुहोस्, आज राति १२ बजेपछि के-के गर्न पाइँदैन ?
फागुन १८, २०८२ १४:४४
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी कुनै पनि प्रकारका प्रचारप्रसार र गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूलाई कडा निर्देशन दिएको छ ।
आयोगका अनुसार आज राति १२ बजेपछि मतदान कार्य सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार लगायतका सबै प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठीहरूमा पूर्ण रोक लगाइएको छ ।
मौन अवधिमा भौतिक रूपमा मात्र नभई डिजिटल माध्यममा समेत कडाइ गरिएको छ । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट र शेयर गर्न पाइने छैन । आयोगले सामाजिक सञ्जालमा यसअघि राखिएका विज्ञापन र प्रचार सामग्रीहरू समेत हटाउन निर्देशन दिएको छ ।
कुनै पनि तरिकाबाट मत माग्न नपाइने उल्लेख गर्दै आयोगले साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गरी मतदाता प्रभावित पार्ने कार्यलाई पूर्णतः निषेध गरेको छ ।
मतदान हुने दिनको ४८ घण्टाअघि नै मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्रीहरू हटाइसक्नु पर्नेछ । यस्तै, यस अवधिमा भोजभतेर गर्ने, बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक जुलुस प्रदर्शन गर्ने वा हुलहुज्जत र होहल्ला गरी निर्वाचनको वातावरण बिथोल्ने कार्य गरेमा कानुनी कारबाही हुने आयोगले चेतावनी दिएको छ ।
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी कुनै पनि निजी वा सार्वजनिक संरचनामा शान्ति भंग गर्न, भय र त्रास सिर्जना गर्न पाइने छैन । मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता, मतदान केन्द्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीलाई बाधा पुर्याउन नहुने गरी विशेष व्यवस्था गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिताको पूर्ण पालना गर्न आयोगले सबैमा अपिल गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमाथि निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम कारबाही हुने व्यहोरा समेत आयोगले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १४:५०
