ओलीको फेसबुक पेजमा नयाँ रेकर्ड, बालेनलाई दिएको बधाई पोस्टमा अहिलेसम्मकै सर्वाधिक लाइक-कमेन्ट
फागुन २३, २०८२ २१:४६
काठमाडौँ । झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग लज्जास्पद पराजय व्यहोरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा नयाँ रेकर्ड कायम गरेका छन् । बालेनसँग झन्डै ५० हजारको मतान्तरले पराजित भएपछि दिएको बधाई सन्देशमा ओलीको फेसबुक पेजकै इतिहासमा सबैभन्दा बढी ‘इङ्गेजमेन्ट’ देखिएको हो ।
शनिबार साँझ ७:५४ मा ओलीले बालेन शाहलाई "बालेन बाबु" भन्दै सम्बोधन गरेर राखेको पोस्टमा यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजारभन्दा बढी प्रयोगकर्ताले ‘रियाक्ट’ गरेका छन् भने ५४ हजार ७०० भन्दा बढी कमेन्ट र १४ हजारभन्दा बढी शेयर भएको छ । एमाले अध्यक्ष ओलीको फेसबुक पेजमा कुनै पनि पोस्टले यति छोटो समयमा पाएको यो अहिलेसम्मकै धेरै इङ्गेजमेन्ट हो ।
झापा-५ मा बालेन ६८ हजार ३४८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले आफूलाई ४९ हजार ६१४ मतको विशाल अन्तरले पराजित गरेपछि ओलीले फेसबुकमा लेखेका छन्, “बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !”
निर्वाचनअघि बालेनलाई ‘बतासे अन्डा’, ‘लुसिफर’ जस्ता विशेषणले टिप्पणी गर्ने गरेका ओलीको फेरिएको शैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘ब्यालेटको पावर’ का रूपमा टिप्पणी गरेका छन् । रिदम खरेलले लेखेका छन्, “लुसिफरदेखि बाबुसम्मको यात्रा !”। मुना अर्यालले थपेकी छिन्, “शक्ति परिवर्तन नै टोन परिवर्तन हो ।”
ओलीले बालेनलाई तबेला उपहार दिँदै गरेको पुरानो तस्बिर शेयर गरेपछि प्रयोगकर्ता अजय कुशवाहाले लेखेका छन्, “ओली बाले बालेनलाई बजाउन तबेला दिनुभएको थियो, बालेनले त ओलीकै करियर बजाइदिए ।”
यसअघि ओलीका पोस्टमा आलोचनात्मक कमेन्टको बाढी आउने गरे पनि यस पटक प्रयोगकर्ताहरूले बालेनको जितको उत्सव मनाउँदै ओलीलाई विनम्र हुन बाध्य पारेको विश्लेषण गरेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन २३, २०८२ २१:५९
