close

रास्वपा सांसदले होटलमा मदिरा पिए भन्दै नेकपा निकट ‘जेनजी रेड फोर्स नेपाल’की संयोजकले फैलाइन् भ्रम

टेकपाना टेकपाना

चैत ३, २०८२ १८:५१

रास्वपा सांसदले होटलमा मदिरा पिए भन्दै नेकपा निकट ‘जेनजी रेड फोर्स नेपाल’की संयोजकले फैलाइन् भ्रम

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी निकट ‘जेनजी रेड फोर्स नेपाल’की केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदले होटलमा मदिरा पिएको देखिने नक्कली तस्बिर फैलाएकी छन् ।

मङ्गलबार होटल रोयल टुलिपमा पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी रास्वपाका सांसदको तस्बिरलाई तोडमोड गरी उनले अफवाह फैलाएकी हुन् ।

तिमल्सिनाले क्याप्सनमा लेखेकी छिन्, “हामि लाइ मासुभात भन्ने आफूहरू चाहि KFC खाने ।” 

उक्त तस्बिरमा रास्वपाका नवनिर्वाचित सांसद दीपक बोहोरा, समानुपातिक सांसद रीमा विश्वकर्मा लगायत देखिएका छन् भने उनीहरू बसेको टेबलमा मासु र मदिराका बोतलहरू राखिएको देखिन्छ ।

तर, प्राविधिक तथ्य जाँच गर्दा उक्त तस्बिर एआईको प्रयोग गरी बनाइएको नक्कली भएको पुष्टि भएको छ । ‘हाइभ मोडरेसन टुल’ मार्फत परीक्षण गर्दा उक्त तस्बिर ८८.६ प्रतिशत एआईबाट सिर्जना गरिएको देखिएको छ ।

यसैगरी टेकपानाले ओपन सोर्स इन्टेलिजेन्स विधिको प्रयोग गरी अनुसन्धान गर्दा कार्यक्रमको वास्तविक तस्बिर फेला पारेको छ । वास्तविक तस्बिरलाई एआईको सहायताले म्यानुपुलेट गरी मदिरा र मासुका बोतल थपेर तिमल्सिनाले भ्रम फैलाएको खुलेको हो ।

सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताले पनि यो एआई फोटो फैलाइरहेका छन् । फेसबुकमा लेखक राई नामका प्रयोगकर्ताले सोही नक्कली फोटो राख्दै पार्टीले महँगो होटलमा कार्यक्रम राखेको भन्दै आफ्नो धारणा राखेका छन् ।

 

समाचारमा स्मृति तिमल्सिना ‘जेनजी रेड फोर्स नेपाल’की केन्द्रीय संयोजक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १५:४८