close

रकेट प्रक्षेपण गरी सुरक्षित अवतरण गराउने कार्यमा पुल्चोक क्याम्पसका विद्यार्थीलाई सफलता

टेकपाना टेकपाना

चैत ६, २०८२ १३:५२

रकेट प्रक्षेपण गरी सुरक्षित अवतरण गराउने कार्यमा पुल्चोक क्याम्पसका विद्यार्थीलाई सफलता

 

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले ‘भर्टिकल्ली टेकअफ एन्ड भर्टिकल्ली ल्यान्डिङ’ (भीटीभीएल) रकेटको पहिलो चरणको सफल परीक्षण गरेका छन् । ‘प्रोजेक्ट लक्ष्य’ नाम दिइएको यस परियोजनाअन्तर्गत क्याम्पसमा एरोस्पेस इन्जिनियरिङ अध्ययनरत सोलिड रकेट बुस्टर (एसआरबी) टोलीले रकेटलाई सफलतापूर्वक उडाएर सुरक्षित अवतरण गराएको हो ।

नेपाल र अमेरिकामा आधारित स्टार्टअप कम्पनी ‘अङ्क’ (एक्सिलेरेटेड कम्प्युटिङ) को मुख्य वित्तीय सहयोगमा यो परीक्षण सम्पन्न भएको हो । डेढ महिना अघि गरिएको यस परीक्षणमा रकेटले १८३ मिटरको उचाइ प्राप्त गरेको थियो ।

सफलता

यस चरणमा रकेटको ‘पिच कन्ट्रोल’लाई मुख्य प्राथमिकता दिइएको थियो । उडानका क्रममा रकेटको पिच एङ्गललाई १४ डिग्रीबाट नियन्त्रण गर्दै ८ डिग्रीमा झारिएको थियो, जसलाई प्राविधिक दृष्टिकोणले ठुलो उपलब्धि मानिन्छ । रकेट उडेको ७.२ सेकेन्डमा प्यारासुट खुलेको थियो भने २६.२ सेकेन्डमा रकेट सुरक्षित रूपमा जमिनमा ओर्लिएको थियो ।

रकेटलाई निश्चित दिशामा डोर्‍याउन र सन्तुलन कायम राख्न ‘पिच कन्ट्रोल’ अनिवार्य मानिन्छ । यसले भविष्यमा रकेटलाई पुनः प्रयोग गर्न र तोकिएको स्थानमा अवतरण गराउने आधार तयार गर्दछ ।

रकेटको माथिल्लो भागमा सेन्सर र कम्प्युटर जडान गरिएको थियो भने इन्धनमा सोलिड फ्युल र सोलिड फ्युल अक्सिडाइजरको प्रयोग गरिएको थियो ।

के हो भर्टिकल ल्यान्डिङ ?

सामान्यतया रकेटहरू उडेपछि प्यारासुटको सहायताले खस्ने गर्छन् । तर ‘भीटीभीएल’ प्रविधिमा रकेट उडेकै जस्तो अवस्थामा अर्थात् सिधा (ठाडो) भएर जमिनमा ओर्लिन्छ । 

यस प्रविधिको मुख्य फाइदा रकेटलाई पटक-पटक प्रयोग गर्न सकिने सुविधा हो । यसले रकेट प्रक्षेपणहरूलाई कम खर्चिलो बनाउन समेत मद्दत गर्छ ।  

पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभाग (डीएमएई), इन्क्युबेसन सेन्टर (आईआईईसी) र गोडेलब्लकको प्राविधिक सहयोगमा यो परियोजना अघि बढेको हो । सन् २०२० मा स्थापना भएको एसआरबी टोलीमा हाल एरोस्पेस इन्जिनियरिङ अध्ययनरत १७ जना विद्यार्थीहरू सक्रिय छन् । जसमा विशेषगरि एरोस्पेस इन्जिनियरिङको स्नातक तहमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् । 

अङ्कका संस्थापक अमित रेग्मीले नेपालमा रकेट विज्ञानको क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ एसआरबी टोलीसँग मिलेर तीन महिना अघिदेखि ‘प्रोजेक्ट लक्ष्य’ सुरु गरिएको बताए । उनले भने, “हामीले एसआरबी टिमसँग मिलेर यो प्रोजेक्टलाई अङ्ककै एक पाटोका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यसका लागि रकेटलाई वायुमण्डलको माथिल्लो भागसम्म पुर्‍याउन सक्नुपर्ने हुन्छ ।” 

भर्टिकल ल्यान्डिङको पहिलो चरणको सफलतापछि अबको दोस्रो चरणमा ‘ब्यालिस्टिक ट्र्याजेक्टोरी’ (रकेटको उडान र अवतरणको हावामा बन्ने मार्ग) निर्धारण गर्ने र रकेटमा लिक्विड फ्युल (तरल इन्धन) को प्रयोगबारे थप अनुसन्धान गर्ने बताइएको छ । यी चरणहरू पूरा गरेपछि रकेटलाई लामो दुरिसम्म सफलतापूर्वक प्रक्षेपण गर्न सकिनेछ । 

‘प्रोजेक्ट लक्ष्य’ सफलतापूर्वक सम्पन्न भएमा भौगोलिक रूपमा जटिल नेपालका विभिन्न क्षेत्रमा सफलतापूर्वक प्रयोग गर्न सकिने रेग्मीले सुनाए । “नेपालले आफ्नै क्युबस्याट वा नानो स्याटलाइटहरू कम खर्चमा प्रक्षेपण गर्न सक्छ । वायुमण्डलको संरचना र मौसमको अध्ययन गर्न, बनजङ्गलको आगलागी नियन्त्रण लगायतका विपद् व्यवस्थापन, दुर्गम हिमाली र पहाडी क्षेत्रमा आपत्कालीन औषधि, सञ्चार उपकरणहरू तत्कालै पुर्‍याउन र कृत्रिम वर्षा गराउनका लागि पनि यो उपयोगी हुन सक्छ ।” 

हालसम्म गरिएको प्रक्षेपण विभिन्न इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयमा ‘एजुकेसनल रकेटरी किट्स’ का रूपमा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका रूपमा समेत उपलब्ध गराउन सकिने उनले बताए । 

‘प्रोजेक्ट लक्ष्य’ अघि पुल्चोक क्याम्पसको एसआरबी टोलीले वर्ल्डलिङ्कको ‘गो बियोन्ड’ कार्यक्रम अन्तर्गत रकेट प्रक्षेपण गरेको थियो ।  १० हजार फिटको उचाइमा पुर्‍याउने लक्ष्यसहित गरिएको प्रक्षेपणमा रकेट ८ हजार ६०० फिटभन्दा माथिसम्म‌ पुगेको थियो । 

यसअघि उचाइमा सफलता हात पारिसकेको एसआरबी टोलीले प्रोजेक्ट लक्ष्य अन्तर्गत भर्टिकल ल्यान्डिङको ‘पिच कन्ट्रोल’मा थप सुधार गर्ने योजनाका साथ काम अघि बढाएको छ । भर्टिकल ल्यान्डिङ पूर्ण रूपमा सफल भएसँगै उचाइमा पनि थप सफलता हात पार्न सकिने विद्यार्थीहरूको अपेक्षा रहेको छ ।  

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १३:५२