अनर म्याजिक ९ को डिजाइन लिक, अनर ६०० सँगै यो सिरिजका फोनमा समावेश हुनेछन् यी फिचर
चैत ११, २०८२ १२:४५
काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले आफ्ना नयाँ फ्ल्यागशिप स्मार्टफोन म्याजिक ९ सिरिज र मिड-रेन्जको ६०० सिरिज बजारमा ल्याउने तयारी गरिरहेको छ । आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै यी डिभाइसका मुख्य फिचर र डिजाइन सम्बन्धी विवरणहरू लिक भएका छन् ।
आगामी फ्ल्यागशिप लाइनअपमा म्याजिक ९, ९ प्रो, र ९ आरएसआर मोडेलहरू समावेश हुनेछन् । एन्ड्रोइड हेडलाइन्स अनुसार म्याजिक ९ को डिजाइन म्याजिक-८ प्रो एयरसँग मिल्दोजुल्दो हुनेछ । यसमा ६.३६ इन्चको फ्ल्याट डिस्प्ले रहनेछ । क्यामेराको क्षेत्रमा यो फोन निकै शक्तिशाली देखिएको छ । जसमा २०० एमपीको हाई-रिजोलुसन भएको मुख्य क्यामेरा, ६४ एमपीको पेरिस्कोप टेलिफोटो र ५० एमपीको अल्ट्रा-वाइड लेन्स रहनेछ ।
यो फोनको सबैभन्दा प्रभावशाली पक्ष यसमा रहने ८,००० mAh क्षमताको शक्तिशाली ब्याट्री हो। फोनको आकार तुलनात्मक रूपमा सानो भए तापनि यति ठुलो क्षमताको ब्याट्री राख्नुलाई एक ठुलो उपलब्धिका रूपमा हेरिएको छ । एक्समा @RODENT950 ले शेयर गरेको तस्बिर अनुसार म्याजिक ९ मा सुन्तला रङको म्याट फिनिस र एउटा कम्प्याक्ट, गोलो कुना भएको क्यामेरा मोड्युल देखिएको छ । जुन पछाडिको प्यानलसँग निकै आकर्षक ढङ्गले मिलेको छ ।
कम्पनीले मिड-रेन्जलाई लक्षित गर्दै अनर ६०० र ६०० प्रो मोडेलहरू पनि ल्याउँदैछ । जुन यसअघि नै सार्वजनिक भइसकेको ६०० लाइटसँगै थपिनेछन् । यी फोनहरूको पछाडिको प्यानल एप्पलको आईफोन प्रोसँग मिल्दोजुल्दो छ ।
६०० सिरिजका दुवै डिभाइसमा ६.५७ इन्चको ओलेड (OLED) डिस्प्ले हुने बताइएको छ । जसले १२० हर्ज रिफ्रेश रेट र १.५ के रिजोलुसन सपोर्ट गर्नेछ । यी फोनहरू स्न्यापड्रागन ८ सिरिजको शक्तिशाली चिपसेटमा सञ्चालित हुनेछन् । विशेष गरी अनर ६०० प्रोमा ९,००० mAh को पावरफुल ब्याट्री क्षमता रहने जानकारी बाहिरिएको छ ।
डिजाइनको कुरा गर्नुगर्दा यसमा एप्पलबाट प्रेरित भएर पूर्ण-चौडाइको क्यामेरा बार राखिएको छ । जसमा क्यामेरा लेन्स, एलईडी फ्ल्याश र अटोफोकस हुनेछन् । ६०० प्रो मोडेलमा २०० एमपीको मुख्य सेन्सर, अल्ट्रा-वाइड लेन्स र एउटा जुम क्यामेरा हुनेछ भने ६०० को आधारभूत (भ्यानिला) मोडेलमा दुईवटा मात्रै रियर क्यामेरा हुनेछन् । यी स्मार्टफोनहरू कालो, सुनौलो र बोल्ड सुन्तला रङमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।








पछिल्लो अध्यावधिक: चैत ११, २०८२ १२:४५
