गृहमन्त्री सुधन गुरुङको फेसबुकको गुडमर्निङ पोस्ट किन भइरहेको छ यति धेरै भाइरल ?
चैत १७, २०८२ १३:९
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गर्ने पोस्ट यतिबेला चर्चा र कौतुहलको विषय बनेका छन् । विशेषगरी उनले बिहानै राख्ने ‘गुड मर्निङ’ पोस्टले सर्वसाधारणमा उत्साहका साथै राजनीतिक वृत्तमा तरङ्ग पैदा गरिदिएको छ ।
१३ चैतमा गृहमन्त्री पदमा नियुक्त भएका गुरुङले कार्यभार सम्हालेको भोलिपल्टैदेखि निकै आक्रामक सक्रियता देखाउन सुरु गरेका हुन् । त्यसको सुरुवात फेसबुकको एउटा सामान्य देखिने ‘गुड मर्निङ’ पोस्टबाट भएको थियो ।
यसको पृष्ठभूमि २३ र २४ भदौको ‘जेन-जी’ विद्रोह र त्यसक्रममा भएको मानवीय क्षतिकोसँग जोडिएको छ । उक्त विद्रोहका क्रममा राज्य पक्षबाट भएको हत्या र दमनको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारका उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।
सोही प्रतिवेदन कार्यान्वयनको सिलसिलामा गृहमन्त्री गुरुङले चालेको कदमसँगै उनले फेसबुकमा राख्ने पोस्ट जोडिएपछि त्यसले धेरैको ध्यान खिचेको हो । खासगरी जेन-जी विद्रोहपछि राज्यपक्षसँग विभिन्न वार्तामा जेन-जी प्रतिनिधिका रूपमा सहभागी भएका गुरुङले जेन-जी सहिदको न्यायका लागि आफू अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाउँदै आएका थिए ।
त्यही प्रतिबद्धता अनुरूप उनी सक्रिय भएकाले कुनै उच्च पदस्त राजनीतिक नेता वा कर्मचारी पक्राउ पर्दा ‘सुखद खबर’ का रूपमा उनले ‘गुड मर्निङ’ पोस्ट राख्ने गरेको बुझाई बन्न थालेको छ ।

शनिबार बिहान ५:४१ बजे गृहमन्त्री गुरुङले ‘आयो गोर्खाली’ भन्ने छोटो क्याप्सन पोस्ट गरे । त्यतिखेर पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका समाचार सञ्चार माध्यममा आउन थालिसकेका थिए ।
त्यसले सामाजिक सञ्जालसँगै राजनीतिक वृत्तमा ठुलै हलचल मच्चिन सुरु भयो । त्यसको १० मिनेटपछि ५:५१ बजे उनले ‘गुड मर्निङ नेपाल’ लेखे । ठ्याक्कै त्यही समयमा प्रहरी टोली नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा पुगेको भिडिओ सार्वजनिक हुन थाले । बिहान ६ बजेतिर प्रहरीले ओलीलाई नियन्त्रणमा लिएपछि गृहमन्त्रीको त्यो ‘गुड मर्निङ’ पोस्टको अर्थ खुल्यो ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि ६:१८ बजे मन्त्री गुरुङले फेसबुकमा अर्को पोस्ट गर्दै ‘कानुनभन्दा माथि कोही नभएको’ स्पष्ट पारे । उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।
आइतबार बिहान १०ः१५ बजे पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेको जानकारी दिन फेसबुकबाट उनले पक्राउ पुर्जी नै सार्वजनिक गरे । जसअनुसार जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमको अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार उनले फेसबुकमा कुनै पनि पोस्ट राखेनन् । तर मङ्गलबार बिहान ६:३६ बजे गृहमन्त्री गुरुङले पुनः ‘गुड मर्निङ’ पोस्ट गरे । उक्त पोस्ट सार्वजनिक भएपछि अर्को कुनै उच्च पदस्त व्यक्ति पक्राउ परेको लख धेरैले काट्न थाले । नभन्दै त्यसको केही समयमै काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेको समाचार आउन थाले ।

यसरी गृहमन्त्रीले ‘गुड मर्निङ’ लेखेको दिन कुनै न कुनै शक्तिशाली व्यक्ति वा उच्च पदस्थ कर्मचारी पक्राउ पर्न थालेपछि आम नागरिकले यसलाई पक्राउको सङ्केतका रूपमा बुझ्न थालिसकेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले अहिले मन्त्रीको यो शैलीलाई चासोका साथ हेरिरहेको देखिन्छ ।
कसैले यसलाई ‘इतिहासकै खतरनाक गुड मर्निङ’ भनेका छन् भने कसैले भ्रष्ट अधिकारीका लागि यो ‘ब्याड मर्निङ’ भएको टिप्पणी गरेका छन् त कतिले ट्रोल नै बनाएर रमाइलो गरेका छन् । गृहमन्त्रीको फेसबुक वालमा ‘गुड मर्निङ’ देखिने बित्तिकै अब कसको पालो आयो होला भन्ने अनुमान र कौतूहलता सर्वसाधारणमा जाग्ने गरेको देखिन्छ ।

अहिले सामाजिक सञ्जालमा गृहमन्त्रीको पोस्टलाई लिएर विभिन्न व्यङ्ग्य र समर्थनका पोस्ट बाक्लै देखिन थालेका छन् । कतिपयले ‘गृहमन्त्रीको गुड मर्निङ निकै महँगो पर्न थाल्यो’ भन्दै टिप्पणी गरेका छन् भने कतिपयले ‘उठ सानु उज्यालो भइसक्यो, सुदन गुरुङको गुड मर्निङ आइसक्यो’ भन्दै ठट्टा समेत गर्न थालेका छन् ।


पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १३:११
