close

आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु हुँदै, अनलाइनबाटै नाम दर्ता गर्न सकिने

टेकपाना टेकपाना

चैत १८, २०८२ १७:३

आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु हुँदै, अनलाइनबाटै नाम दर्ता गर्न सकिने

काठमाडौँ । आउँदो आइतबार अर्थात् २२ चैत २०८२ देखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सुरु हुने भएको छ । निर्वाचन आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत ६ मङ्सिर २०८२ देखि स्थगन गरिएको मतदता नामावली सङ्कलनसम्बन्धी कार्यलाई पुनः निरन्तरता दिन लागिएको जनाएको हो ।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइनबाटै नाम दर्ता गर्न सक्नेछन् । साथै राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको प्रि-इनरोलमेन्ट (Pre-Enrollment) प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ ।

त्यसपछि आफ्नो फोटो तथा औँठाछापसहितको जैविक (बायोमेट्रिक) विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा आवेदक स्वयम् भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइनबाटै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसमार्फत नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउने आदि त्रुटिहरू पनि सच्याउन सकिने आयोगले जनाएको छ ।

आइतबारदेखि मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक कसरी गराउने भन्ने विषयमा थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नु हुन्छ । 

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १७:३