close

अब जिमेलको एड्रेस तथा युजरनेम परिवर्तन गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

चैत १८, २०८२ १९:५०

अब जिमेलको एड्रेस तथा युजरनेम परिवर्तन गर्न सकिने, यस्तो छ तरिका

 

काठमाडौँ । गुगल अकाउन्टको युजरनेम फेर्न सकिने फिचर सार्वजनिक भएको छ । कम्पनीले मङ्गलबार एक्स पोस्टमार्फत सुरुवाति चरणमा अमेरिकी प्रयोगकर्तालाई युजरनेम फेर्न सकिने फिचर उपलब्ध गराउन थालिएको जनाएको हो । 

गुगलले अकाउन्ट बनाउन सकिने सुविधा दिएपछि उपलब्ध भएको यो २० वर्ष यताकै सबैभन्दा महत्त्वपूर्ण अपडेट हो । “तपाईंले अनुरोध गर्नुभयो, हामीले पुर्‍यायौँ,” कम्पनीले एक्स पोस्टमा भनेको छ, “यदि तपाईं अमेरिकी गुगल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले गुगल, फोटोज, ड्राइभ र अन्यको युजरनेम फेर्न सक्नुहुन्छ । युजरनेम फेर्दा तपाईंका ईमेलहरू, डेटा र अकाउन्ट हिस्ट्री सुरक्षित नै रहनेछन् ।”

गुगलका अनुसार यो फिचर उपलब्ध भइसकेपछि प्रयोगकर्ताले बाँकी रहेका कुनै पनि युजरनेम रोजेर राख्न सक्छन् । तपाईंको पुरानो युजरनेम जस्तै [email protected] छ र नयाँ ईमेल एड्रेस [email protected] राख्नुभयो भने तपाईंको पुरानो युजरनेम यथावत नै रहन्छ । र त्यही युजरनेमको जिमेलमा कुनै ईमेल आए नयाँ युजरनेमकै ईमेल प्राप्त हुन्छ । तपाईंले पुरानो वा नयाँ जुनसुकै युजरनेमबाट लगइन गर्न सक्नुहुन्छ । त्यस्तै यदि नयाँ युजरनेम चित्त बुझेन र पुरानैमा फर्किन्छु भन्नुभयो भने गुगलले त्यसको पनि सुविधा दिएको छ । 

यदि तपाईंले नयाँ युजरनेम छान्नुभयो, तर त्यो पनि परिवर्तन गरेर नयाँ राख्छु भन्नु भयो भने के हुन्छ ? गुगलले यसको पनि समाधान दिएको छ । तर, तपाईंले उक्त युजरनेम वर्षमा एक पटक र जम्मा तीन पटकसम्म मात्रै फेर्न सक्नु हुनेछ । 

कसरी फेर्न सकिन्छ गुगल अकाउन्टको युजरनेम ?

तपाईंले @gmail.com भन्दा अगाडि राख्नुभएको जुन नाम हुन्छ, त्यो नै गुगल अकाउन्टको युजरनेम हो । यो सामग्री तयार पार्दासम्म गुगलले यो फिचर अमेरिकामा मात्र उपलब्ध गराएको छ भने छिट्टै अन्य देशहरूमा पनि उपलब्ध हुने जनाएको छ । गुगल अकाउन्टको युजरनेम फेर्न निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले जिमेल एप खोल्नुहोस् र माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि ‘म्यानेज योर गुगल अकाउन्ट’ (Manage Your Google Account) मा जानुहोस् ।

  • अनि सबैभन्दा माथि रहेको पर्सनल इन्फो (Personal Info) को अप्सनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि स्क्रोल गर्दै तल गएर ‘ईमेल’ (Email) को अप्सनमा ट्याप गर्नुहोस् ।

  • अब गुगल अकाउन्ट ईमेलको अप्सनमा रहेको आफ्नो युजरनेममा ट्याप गर्नुहोस् ।

  • अनि Change Google Account email को अप्सनमा जानुहोस् । 

  • अनि आफूलाई उपयुक्त हुने युजरनेम छान्नुहोस् । यति गरेपछि तपाईंको नयाँ युजरनेम सेट हुन्छ । 

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १९:५१