सामसङ ग्यालेक्सी ए सिरिजका नयाँ स्मार्टफोनको प्रि-अर्डरमा मेेमोरी अपग्रेडको सुविधा
चैत १९, २०८२ १४:०
काठमाडौँ । सामसङले ए सिरिजका नयाँ स्मार्टफोनको प्रि-अर्डरमा मेमोरी अपग्रेडको सुविधा दिने भएको छ । कम्पनीले ग्यालेक्सी ए-५७ र ग्यालेक्सी ए-३७ सिरिजका फोनलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।
'ए' सिरिज अन्तर्गत हालै विश्व बजारमा सार्वजननिक यी दुवै मिडरेन्जका स्मार्टफोन हुन् । जसमा फ्ल्यागशिप स्तरका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर र आकर्षक डिजाइन समावेश गरिएको छ ।
ग्यालेक्सी ए-५७ फाइभजीमा सामसङले डिजाइन र कार्यक्षमतामा विशेष जोड दिएको छ । यो फोन मात्र ६.९ एमएम पातलो रहेको छ, जुन अहिलेसम्मकै सबैभन्दा स्लिम ग्यालेक्सी 'ए' डिभाइस हो । यसमा प्रिमियम आल्मुनियम फ्रेम र सुरक्षाका लागि अगाडि र पछाडि दुवैतर्फ 'गोरिल्ला ग्लास भिक्टस प्लस' प्रयोग गरिएको छ ।
यो फोनमा ६.७ इन्चको FHD+ सुपर एमोलेड प्लस डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेश रेट र १९०० निट्सको पिक ब्राइटनेस सपोर्ट गर्दछ । फोनमा Exynos 1680 प्रोसेसर प्रयोग गरिएको छ, जसले अघिल्लो संस्करणको तुलनामा ३३ प्रतिशत राम्रो एनपीयू पफर्मेन्स दिने दाबी गरिएको छ । तापक्रम व्यवस्थापनका लागि यसमा १३ प्रतिशत ठुलो 'भेपर कुलिङ च्याम्बर' पनि राखिएको छ ।
ग्यालेक्सी ए-३७ फाइभजीमा पनि ६.७ इन्चको सुपर एमोलेड १२० हर्ज डिस्प्ले रहेको छ । यसमा Exynos 1480 चिपसेट प्रयोग गरिएको छ, जसले एआई कार्यहरूलाई तीव्रता दिन्छ । यो फोन ७.४ एमएम पातलो छ र यसमा पनि आईपी ६८ वाटर र डस्ट रेसिस्टेन्स रेटिङ दिइएको छ ।
दुवै स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (f/1.8 aperture र OIS सहित) रहेको छ । ग्यालेक्सी ए-५७ मा १२ मेगापिक्सेलको अल्ट्रा-वाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स छ भने ए-३७ मा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स समावेश छ । सेल्फीका लागि दुवैमा १२ मेगापिक्सेलको एचडीआर फ्रन्ट क्यामेरा दिइएको छ ।
यी फोनहरूमा 'वन यूआई ८.५' (One UI 8.5) र एन्ड्रोइड १६ आधारित 'असम इन्टेलिजेन्स' फिचरहरू उपलब्ध छन् । जस अन्तर्गत भ्वाइस रेकर्डिङलाई तुरुन्तै अक्षरमा उतार्ने र अनुवाद गर्ने Voice Transcription, स्क्रिनमा देखिएका वस्तुहरूलाई गोलो घेरा लगाएर खोज्न सकिने Circle to Search, तस्विरबाट अनावश्यक वस्तुहरू हटाउन सकिने Object Eraser, सजिलै टेक्स्ट निकाल्न वा फोटो सम्पादन गर्न सकिने AI Select जस्ता फिचर रहेका छन् ।
सामसङले दुवै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । कम्पनीका अनुसार यसले मात्र ३० मिनेटमा ६० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ । सुरक्षाका लागि यसमा 'सामसङ नक्स भल्ट' (Knox Vault) प्रविधि समावेश गरिएको छ ।
महत्त्वपूर्ण कुरा के छ भने सामसुङले यी दुवै फोनका लागि ६ वर्षसम्म एन्ड्रोइड ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा ग्यालेक्सी ए-५७ फाइभजी को सुरुवाती मूल्य करिब ५४९ डलर र ग्यालेक्सी ए-३७ फाइभजीको सुरुवाती मूल्य करिब ४४९ डलर तोकिएको छ । भारतमा ए-५७ को मूल्य ५६,९९९ भारु र ए-३७ को मूल्य ४१,९९९ भारुबाट सुरु हुनेछ । यी फोनहरू १० अप्रिल, २०२६ देखि बजारमा बिक्रीका लागि उपलब्ध हुनेछन् ।
सामसङ नेपालका अनुसार १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको ग्यालेक्सी ए-५७ फाइभजीको प्रि-अर्डरमा चार हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड सुविधा पाइनेछ । त्यस्तै ग्यालेक्सी ए-३७ फाइभजीको ८ जीबी तथा २५६ जीबी भेरियन्ट र १२ जीबी तथा २५६ जीबी भेरियन्टमा २५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड उपलब्ध गराइएको छ ।
कम्पनीले यी फोनहरूमा २४ महिनासम्मको ईएमआईमा खरिद गर्न सकिने सुविधा समेत दिएको छ । यसरी फोन खरिद गर्दा प्रति महिना ईएमआई १७६४ रुपैयाँदेखि सुरु हुन्छ ।
यस बाहेक पुरानो फोनसँग नयाँ फोन एक्स्चेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी दुवै फोनको प्रि-अर्डर ५-१० अप्रिलसम्म (अर्डर समाप्त नभएसम्म) सञ्चालन हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत १९, २०८२ १४:२३
