बलात्कारको आरोप लागेपछि चलचित्र ‘पाँच पाण्डव’ बाट सागर लम्साल ‘बले’ निष्कासित
चैत २०, २०८२ १५:३०
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको गम्भीर आरोप लागेपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालिरानी फिल्म्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा लम्साललाई फिल्मबाट हटाउने र उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालले एक वर्षअघि आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोप सार्वजनिक भएलगत्तै निर्माण पक्षले आपत्कालीन बैठक बसी उनलाई फिल्मको हिस्सेदार र कलाकार दुवै भूमिकाबाट हटाउने निर्णय गरेको हो ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चैत २ गतेदेखि झापामा छायाङ्कन भइरहेको यस फिल्ममा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको थियो । यद्यपि , अब उप्रान्त ती दृश्यहरू फिल्ममा समावेश नगर्ने र उनी संलग्न दृश्यहरू पुनः छायाङ्कन गर्ने निर्णय कम्पनीले लिएको छ ।
“चैत २ गतेदेखि झापा आसपासमा छायांकनरत चलचित्र पाँच पाण्डवमा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको भएपनि उनी अब उप्रान्त पाँच पाण्डवको हिस्सेदार रहनेछैनन् भने उनी संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नहुने समस्त नेपाली चलचित्र क्षेत्र परिवार, समाजका प्रबुद्ध वर्ग र आम दर्शकसमक्ष प्रष्ट पार्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ, “पाँच पाण्डव परिवार यस घटनाबाट निकै दुःखी छ। छायांकनकै क्रममा चलचित्रको एक मुख्य कलाकारलाई हटाउनु पर्दा र छायांकन भइसकेका दृश्य पुनः खिच्नु पर्दा निश्चय पनि आर्थिक क्षति हुने नै छ । तर पीडित युवतीको पीडाका अघि हाम्रो यो क्षतिले कुनै मान्यता राख्दैन ।”
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति हाम्रो फिल्मको सदस्य हुन सक्दैनन् । सामाजिक नैतिकता र पीडितको न्यायका लागि हामीले सागर लम्सालसँगको करार आजकै मितिबाट रद्द गरेका छौँ ।”
निर्माण पक्षले यो घटनाको सत्यतथ्य जाँचबुझका लागि माग गर्दै पीडित युवतीले यथाशीघ्र न्याय पाउनुपर्नेमा जोड दिएको छ । लम्साल यसअघि हास्य टेलिसिरियल भद्रगोल र सक्किगोनीबाट चर्चित भएका थिए ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८२ १५:४२
