close

संविधान बोकेर हिन्दी गीतमा टिकटक: एआई भन्दै पन्छिन खोजेकी सांसद आशिका तामाङको दाबी झुटो

टेकपाना टेकपाना

चैत २२, २०८२ १८:४६

संविधान बोकेर हिन्दी गीतमा टिकटक: एआई भन्दै पन्छिन खोजेकी सांसद आशिका तामाङको दाबी झुटो

 

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नो विवादित टिकटक भिडिओलाई ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) भन्दै बचाउ गरे पनि उनको दाबी झुटो देखिएको छ । नेपालको संविधान हातमा लिएर हिन्दी गीतमा अभिनय गरेको भिडिओ भाइरल भएपछि आलोचना खेपिरहेकी तामाङले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त भिडिओ आफूले नभई एआईले बनाएको दाबी गरेकी थिइन् ।

सञ्चारकर्मीले ‘संविधान लिएर हिन्दी गीतमा किन टिकटक बनाउनुभएको… ?’ भनी सोधेको प्रश्नको उत्तर दिँदै उनले बीचमै भनिन्, “त्यो टिकटक एआईले बनाएको हो ।”

केही दिनअघि सार्वजनिक भएको उक्त भिडिओमा सांसद तामाङले ‘नेपालको संविधान’ हातमा लिएकी थिइन् । भिडिओको पृष्ठभूमिमा ‘तुम्हारा साथ मिला है, जरा मेरे दिल को संभालूँ…’ बोलको हिन्दी रोमान्टिक गीत बजिरहेको हुन्छ । उक्त गीतको शब्दसँग मेल खाने गरी उनले हाउभाउ र ‘लिप सिंक’ (ओठ चलाउने काम) पनि गरेकी थिइन् ।

उक्त भिडिओ सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भयो । जिम्मेवार पदमा बसेको व्यक्तिले संविधान जस्तो गरिमामय दस्ताबेजलाई मनोरञ्जन र ‘शो-अप’को साधन बनाएको भन्दै सर्वसाधारणले आपत्ति जनाएका थिए । चर्को विरोधपछि उनले आफ्नो अकाउन्टबाट भिडिओ त हटाइन्, तर त्यतिबेलासम्म यो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा फैलिसकेको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको यो क्रियाकलापलाई ‘पदीय मर्यादा विपरीत’ र ‘संविधानको अपमान’को संज्ञा दिएका छन् । कतिपयले ‘संविधानको कुन अनुसूचीमा हिन्दी गीत छ?’ भन्दै व्यङ्ग्य गरेका छन् भने कतिपयले ‘संसद्‍मा भत्ता र गाजलको मात्र चर्चा हुने हो कि नीति निर्माणको पनि ?’ भनी प्रश्न उठाएका छन् । “जनताले आशा गरेर पठाएका प्रतिनिधिले यस्तो केटाकेटी पारा देखाउनु दुःखद हो,” एक प्रयोगकर्ताले लेखेका छन् ।

सांसद तामाङले एआईको नाम दिएर उम्किन खोजे पनि प्राविधिक विश्लेषणले उनको दाबीलाई गलत साबित गरिदिएको छ । टेकपानाले गरेको प्राविधिक जाँच र ह्युमन भेरिफिकेसनबाट उक्त भिडिओ शतप्रतिशत वास्तविक देखिएको हो ।

एआई भिडिओ पहिचान गर्ने प्लेटफर्म ‘हाइभ मोडरेसन’मा परीक्षण गर्दा उक्त भिडिओ एआईले बनाएको सम्भावना ‘शून्य प्रतिशत’ देखिएको छ । यसको अर्थ यो भिडिओ कुनै सफ्टवेयरले नभई क्यामेराबाटै खिचिएको वास्तविक भिडिओ हो । त्यसैगरी, गुगलको ‘सिन्थ आईडी डिटेक्सन’ले पनि यसमा कुनै एआई टुल प्रयोग नभएको पुष्टि गरेको छ ।

भिडिओमा देखिएका नेपाली अक्षरहरू, सांसद तामाङको प्राकृतिक हाउभाउ र गीतको शब्दसँग मिलेको ओठको चालले यो भिडिओ खिचेरै बनाइएको प्रस्ट पारेको छ । आफ्नै गल्ती स्विकार्नुको साटो प्रविधिलाई दोष दिएर सार्वजनिक रूपमै ‘सफेद झुट’ बोलेको भन्दै अहिले उनको थप आलोचना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १९:३३