आईटी कम्पनी तथा डलरमा आम्दानी गर्नेले अब ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड कार्ड लिन पाउने
चैत २३, २०८२ ११:१२
काठमाडौँ । अब आईटी कम्पनीहरूको नाममा ५,००० अमेरिकी डलरसम्मको प्रिपेड कार्ड लिन मिल्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमय विभागबाट जारी एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै यस किसिमको नयाँ व्यवस्था गरेको हो ।
केन्द्रीय बैङ्कका अनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगले अनलाइन मार्फत सफ्टवेयर लगायतका सूचना प्रविधिसँग सम्बन्धित सेवा खरिद गर्ने प्रयोजनका लागि यस्तो कार्ड लिन सक्नेछन् । यही प्रयोजनका लागि कम्पनीहरूको नाममा बैङ्क तथा वित्तीय संस्थाले वार्षिक अधिकतम ३,००० अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
रकमको सीमा यस्ता उद्योगले सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेमा मुद्रा सटहीको यस्तो वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम समेत थप गरी बढीमा ५००० अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म हुने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले विदेशी मुद्रा आर्जन गर्ने कम्पनी तथा व्यक्तिले राष्ट्र बैङ्कमा सम्पर्क राखेमा प्रिपेड कार्डको सीमा ५,००० अमेरिकी डलरभन्दा माथि समेत हुन सक्ने बताए ।
"यो सुविधा उद्योग तथा कम्पनीहरूका लागि मात्र नभएर फ्रिल्यान्सिङ गर्ने व्यक्तिहरूले समेत पाउन सक्नेछन् । यदि ५०० अमेरिकी डलरको सामान्य सीमा रहेको प्रिपेड कार्डबाटै विदेशी मुद्रा आर्जन गरेको देखिएमा त्यसको सीमा बढाउँदै लैजान सकिन्छ ।" सामान्य प्रयोगकर्ता तथा व्यक्तिले विदेशी मुद्राको भुक्तानीका लागि पाउने प्रिपेड कार्डको सीमा ५०० अमेरिकी डलरलाई नै यथावत् राखिएको छ ।
विदेश भ्रमणमा जाँदा इलेक्ट्रोनिक कार्ड
राष्ट्र बैङ्कले विदेश भ्रमणमा जाने नेपालीहरूलाई लक्षित गर्दै सटही सुविधासहितको इलेक्ट्रोनिक कार्ड लिन सकिने व्यवस्था पनि मिलाएको छ । जसअनुसार कुनै देशले भिसा प्रयोजनका लागि विदेशी मुद्रा धरौटी (फिर्ता हुने) माग गरेमा 'क' वर्गका बैङ्क तथा राष्ट्रिय स्तरका 'ख' वर्गका विकास बैङ्कहरूले उक्त प्रयोजनका लागि इलेक्ट्रोनिक कार्ड जारी गर्न सक्नेछन् ।
यसका लागि आवेदकको सम्बन्धित देशको भिसा प्रदान गर्ने निकाय वा संस्थाले भिसा प्रयोजनका लागि धरौटी माग गरेको पुष्टि हुने प्रमाणित कागजातसहितको निवेदन दिनुपर्नेछ । साथै ५,००० अमेरिकी डलरभन्दा बढीको परिवर्त्य विदेशी मुद्रा माग गर्ने आवेदकको स्थायी लेखा नम्बर-प्यान समेत समावेश गर्नुपर्ने तथा प्यान नभएको अवस्थामा नाता प्रमाणित हुने कागजात सहित निजको एकाघरको परिवारको प्यान भए पनि बुझाउनु पर्नेछ ।
त्यस्तै आवेदकको बैङ्क तथा वित्तीय संस्थामा रहेको नेपाली रुपैयाँको खाताबाट खर्च गरी प्रचलित विनिमयदरले हुन आउने माग बमोजिमको परिवर्त्य विदेशी मुद्रा बराबरको धरौटी बापतको रकम आवेदकको विदेशी मुद्राको खातामा जम्मा गर्ने र उक्त विदेशी मुद्राको खाताबाट धरौटी रकम भुक्तानीको लागि इलेक्ट्रोनिक कार्ड जारी गरिनेछ । धरौटी रकम फिर्ता हुँदा आवेदकको विदेशी मुद्राको खातामै फिर्ता हुनेछ ।
रकम फिर्ता हुनासाथ सो रकम बराबरको प्रचलित विनिमयदरले हुने रकम सम्बन्धित व्यक्तिको नेपाली रुपैयाँको खातामा तत्काल जम्मा हुनेछ । धरौटी रकम भुक्तानी भएमा आवेदकहरूको भिसा प्राप्त भए/नभएको तथा धरौटी रकम फिर्ता भए/नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरिने तथा सोको मासिक विवरण महिना समाप्त भएको १५ दिनभित्र बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कको विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: चैत २३, २०८२ ११:२७
