close

कमेडियन आयुष श्रेष्ठले ल्याए फिल्म मेकिङका लागि उपयोगी एआई टुल स्टोरी बार्डी

टेकपाना टेकपाना

चैत २६, २०८२ ८:२८

तस्बिरः बायाँबाट क्रमशः संस्थापकद्वय अमित तिमल्सिना र आयुष श्रेष्ठ तस्बिरः बायाँबाट क्रमशः संस्थापकद्वय अमित तिमल्सिना र आयुष श्रेष्ठ

 

काठमाडौँ । कमेडियन तथा सफ्टवेयर इन्जिनियर आयुष श्रेष्ठले फिल्म मेकिङको प्रि-प्रोडक्सन प्रक्रियालाई सहज बनाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ टुल ‘स्टोरी बर्डी’ (StoryBirdie) सार्वजनिक गरेका छन् । इन्जिनियर अमित तिमल्सिना र आयुष श्रेष्ठले संयुक्त रूपमा यो प्लेटफर्म निर्माण गरेका हुन् । 

उनीहरूका अनुसार यस प्लेटफर्मले मुख्य रूपमा फिल्मको पटकथा (स्क्रिनप्ले) लाई विश्लेषण गरी स्वचालित रूपमा शट-लिस्ट र स्टोरीबोर्ड तयार पार्ने काम गर्छ । हप्तौँ लाग्ने प्रि-प्रोडक्सनको झन्झटिलो कामलाई यस टुलले केही मिनेटमै सम्पन्न गर्ने उनीहरूको दाबी छ ।

संस्थापक श्रेष्ठका अनुसार स्टोरी बर्डी मुख्यतः फिल्ममेकर, निर्देशक र स्क्रिप्ट राइटरलाई लक्षित गरी बनाइएको एआई प्रोडक्ट हो । यसमा प्रयोगकर्ताले आफ्नो फिल्मको स्क्रिप्ट (पीडीएफ, डक्स वा फाउन्टेन फर्म्याटमा) अपलोड गरेपछि एआईले सबैभन्दा पहिले त्यसको विश्लेषण गर्छ र स्क्रिप्टमा रहेका प्राविधिक समस्या औँल्याउँछ । 

त्यसपछि एआईले नै शुटिङका लागि आवश्यक पर्ने शट-लिस्ट निकाल्छ र ती शटका लागि रेफरेन्स तस्विर अर्थात् स्टोरीबोर्ड तयार गरिदिन्छ । 

यसले गर्दा शुटिङ फ्लोरमा जानुअघि नै निर्माण टोलीले दृश्यको परिकल्पना कसरी गर्ने भन्ने स्पष्ट मार्गचित्र पाउने श्रेष्ठको भनाइ छ ।

पेसाले सफ्टवेयर इन्जिनियर र सोखले स्ट्यान्डअप कमेडियन, लेखक एवं निर्देशक आयुषले फिल्म निर्माणका क्रममा प्रि-प्रोडक्सनमा हुने समय र बजेटको अभावलाई नजिकबाट महसुस गरेका थिए । करिब एक महिनाअघि एक एआई कन्फ्रेन्समा एआई इन्जिनियर अमित तिमल्सिनासँगको भेटपछि उनीहरूबिच यो अवधारणामा काम गर्ने सल्लाह भयो । जिम पार्टनरसमेत रहेका उनीहरूले करिब दुई हप्ताको छोटो समयमै ‘स्टोरी बर्डी’ को प्रारम्भिक स्वरूप तयार पारेका हुन् ।

आफ्नो नयाँ टुलका बारेमा कुराकानी गर्दै संस्थापक आयुष भन्छन्, “म आफैँ इन्जिनियर; तर फिल्म मेकिङमा पनि संलग्न छु, म आफैँ स्क्रिप्ट लेख्छु र निर्देशन पनि गर्छु । सामान्यतया राम्रो फिल्म बनाउन प्रि-प्रोडक्सनमा धेरै मेहेनत चाहिन्छ । तर हामीसँग समय र पैसा दुवै कम हुन्छ । म आफैँलाई परेको यही समस्यालाई समाधान गर्न मैले आफ्नो काममा एआई प्रयोग गर्न थालेको थिएँ । पछि यसलाई एउटा पूर्ण प्रोडक्टकै रूपमा ल्याउने सोच बनाएँ । अहिले हप्तौँ लाग्ने काम यो टुलले आधा घण्टामै गरिदिन्छ ।”

प्राविधिक रूपमा यो प्लेटफर्म ओपन एआई, क्लाउड जस्ता एआई मोडेलको एपीआई प्रयोग गरेर निर्माण गरिएको छ । यसलाई सिनेम्याटिक ल्याङ्ग्वेज र फिल्म मेकिङका नियम बुझाउन विशेष ट्रेनिङ दिइएको आयुष बताउँछन् । टुललाई अझ प्रभावकारी बनाउन हालै यसमा क्यामेरा मुभमेन्टको भिजुअल क्युज (सङ्केत) हरू पनि थपिएका छन् । “हरेक कुरा एआईबाटै गराउनुपर्छ भन्ने छैन, कतिपय कुरा सामान्य नियमबाटै राम्रो हुन्छ भन्ने बुझेपछि हामीले क्यामेरा मुभमेन्टका लागि एरोहरूको प्रयोग गर्‍यौँ, जसलाई प्रयोगकर्ताले निकै रुचाएका छन्,” उनले भने ।

सार्वजनिक भएको महिनादिनमै स्टोरी बर्डीले नेपाल, भारत र अमेरिकाका ग्राहक पाउन सफल भइसकेको श्रेष्ठ सुनाउँछन् । हाल यो टुल एउटा नेपाली फिचर फिल्म, श्रीलङ्काको एउटा ठुलो विज्ञापन परियोजना र नेपालका स्थापित प्रोडक्सन हाउसमा प्रयोग भइरहेको उनको भनाइ छ । 

फिल्म क्षेत्रमा स्टोरीबोर्ड बनाउनु महँगो र समय खर्चिलो मानिने भए पनि यो एआई टुलले त्यसलाई ‘किफायती’ र छिटो बनाएपछि व्यावसायिक फिल्ममेकर पनि यसप्रति आकर्षित भएको श्रेष्ठले सुनाए । व्यावसायिक मोडेलबारे जानकारी दिँदै आयुषले यो टुल ‘फ्रि टु स्टार्ट’ रहेको बताए । नयाँ प्रयोगकर्ताले ५० क्रेडिट निःशुल्क पाउनेछन्, जसमा स्क्रिप्ट एनालाइसिसका लागि १ क्रेडिट, शट-लिस्टका लागि २ र इमेज फ्रेमका लागि ३ क्रेडिट काटिने व्यवस्था छ । थप क्रेडिटका लागि प्रयोगकर्ताले सस्तो दरमा सब्स्क्रिप्सन लिन सक्छन् र ती क्रेडिटको कुनै म्याद सकिने मिति हुँदैन । हाललाई डलर कार्डमार्फत भुक्तानी गर्ने व्यवस्था भए पनि नेपाली प्रयोगकर्ताका लागि व्यक्तिगत सम्पर्क ([email protected]) का आधारमा सेवा उपलब्ध गराइरहेको उनी बताउँछन् ।

नेपाली स्टार्टअप भए पनि यसले विश्व बजारलाई लक्षित गरेको छ । आयुष र अमितले हाल रेडिट, डिस्कोर्ड र लिंक्डइन जस्ता प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा यसको मार्केटिङ गरिरहेका छन् । सशुल्क रूपमा भने मासिक १९ डलरमा स्टार्टर, ४९ डलरमा प्रो र ९९ डलरमा स्टुडिओ सब्स्क्रिप्सन लिन सकिन्छ ।

 

त्यसबाहेक छुट्टै क्रेडिट खरिद गरेर प्रयोग गर्न चाहनेले ५ देखि ५० डलरसम्मको क्रेडिट खरिद गर्न सक्छन् । स्टोरीबार्डी टुल प्रयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ ११:१९